काठमाडौं । एरी बोर्गेसले ह्याट्रिक र अर्को एक गोलको मौका शृंजना गरेपछि फिफा महिला विश्वकपमा पानामाविरुद्ध ४–० को जित निकाल्दै ब्राजिलले सानदार सुरुआत गरेको छ ।
सुरुआतदेखि नै पानामामाथि दबाब बढाएको ब्राजिलले १९औँ मिनेटमा बोर्गेसको हेडर गोलमार्फत अग्रता बनाएको थियो । ३९औँ मिनेटमा बोर्गेसले नै गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर पारिन् । पहिलो हाफमा दुई गोल गरेको ब्राजिलले दोस्रो हाफमा पनि दुई गोल नै थप्यो ।
बेएट्रिज जेनेरिटोले जोआओले ४८औँ मिनेटमा गोल गर्दै ब्राजिलको अग्रतालाई ३–० मा राखिन् । यस्तै, ७०औँ मिनेटमा बोर्गेसले हेडरमार्फत गोल गर्दै ह्याट्रिक गरेपछि ब्राजिलले ४–० को सहज जित निश्चित गर्यो।
जितसहित प्रतियोगिताको सुरुआत गरेको ब्राजिल समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिता सुरु गरेको पानामा पुछारमा छ । यो समूहमा ब्राजिल र पानामासँगै फ्रान्स र जमैका छन् ।
आजै भएको समूह ‘एच’ को खेलमा जर्मनीले पनि मोरोक्कोविरुद्ध ६–० को फराकिलो जित निकालेको छ ।
खेलको अधिकांश समय मोरोक्कोलाई दबाबमा राखेको जर्मनीका लागि एलेक्सान्ड्रा पोपले दुई गोल गर्दा क्लारा बुह्ल र लिए स्कुलरले समान एक गोल गरे । जर्मनीले दुई गोल भने मोरोक्कोका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।
जितसँगै तीन अंक जोडेको जर्मनी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको मोरोक्को तालिकाको पुछारमा छ । यो समूहमा जर्मनी र मोरोक्कोसँगै कोलम्बिया र दक्षिण कोरिया पनि छन् ।