site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफा महिला विश्वकप : विलकिन्सनको निर्णायक गोलमा न्युजिल्यान्डले नर्वेलाई हरायो 

काठमाडौं । उद्घाटन खेलमा नर्वेलाई हराउँदै सहआयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकपमा सुखद सुरुआत गरेको छ । 

बिहीबार न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा सम्पन्न खेलमा हन्नाह विलकिन्सनले गरेको गोल निर्णायक बन्दा घरेलु टिमले नर्वेविरुद्ध १–० को साँघुरो जित निकालेको हो । विलकिन्सनले खेलको ४८औँ मिनेटमा गोल गर्दै न्युजिल्यान्डलाई अग्रतामा राखेकी थिइन् ।

जितसँगै तीन अंक जोडेको न्युजिल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको नर्वे तालिकाको पुछारमा झरेको छ । यो समूहमा न्युजिल्यान्ड र नर्वेसँगै फिलिपिन्स र स्विट्जरल्यान्ड छन् ।

प्रतियोगितामा आजै हुने दोस्रो खेलमा अर्को आयोजक अस्ट्रेलिया र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुने छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रूपमा आयोजना हुने प्रतियोगितामा कुल ३२ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी आठ समूहमा विभाजन गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्