काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचार नियन्त्रणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गरी काम भइरहेको बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सव कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गरिने बताए । उनले निर्दोष नफस्ने र दोषी नछुट्ने गरी केही ऐन र नियमावलीमा सुधार गर्ने पनि बताए ।
उनले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको जिकिर गरे ।
उनले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्नेमा जोड दिए ।