site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डिजिटलाइज हुँदै कांग्रेस– केन्द्रीय समिति बैठककै प्रत्यक्ष प्रशारण

काठमाडौं । नेपाली कांग्रेसको आइतबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरे । देउवाको प्रस्तावलाई बैठकमा रहेका नेपाली कांग्रेसका अन्य सदस्यले अचम्म माने । समर्थनमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्देम्बेले स्वागत गरे । विपक्षमा महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, नेताहरू कृष्ण सिटौला, प्रकाशमान सिंहलगायत थिए ।

धेरैलाई बैठक लाइभ हुन्छ भन्ने विश्वास थिएन । लाइभ गराउने विषयमा सभापति देउवा 'सिरियस' होलान् भन्ने लागेको थिएन । एक पदाधिकारीले बाह्रखरीसँग देउवाले चाहेकै भए पनि लाइभ हुन नदिने बताएका थिए । पार्टीमा हुने बैठक लाइभ गराएर देउवाले आफू र वर्तमान गठबन्धन सरकारविरुद्ध आउने विरोधका आवाज दबाउने मेसो समातेको उनको बुझाइ थियो ।

तर, एक वर्षपश्चात् सोमबार बसेको पार्टीको बैठक लाइभ भएरै छाड्यो । देउवाले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गराए । लाइभ हुनुहुँदैन भन्ने नेताहरूले त्यसमा प्रतिकार गर्न सकेनन् । कांग्रेसमा सभापति शक्तिशाली र सभापतिकै निर्णय लागु हुने भएकाले पनि पार्टी बैठक लाइभ भयो र सोमबार पहिलो दिनको बैठक सम्पन्न भयो ।

Dabur Nepal
NIC Asia

प्रचार विभाग प्रमुख समेत रहेका पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माले कांग्रेस बोलीमा मात्र होइन, व्यवहारमा पनि डिजिटलाइज भएको परिपक्व प्रमाण नै सोमबारको केन्द्रीय समिति बैठक लाइभ भएको बताए । उनले कांग्रेस व्यवस्था परिवर्तन र जनताको अवस्था परिवर्तन गर्नमात्र होइन, विज्ञान प्रविधिको जमानामा प्रविधिको अधिकतम उपयोग गरेर पार्टी पारदर्शी बनाउने विषयमा पनि पहिलो दल भएको दाबी गरे ।

“कांग्रेस बोलीमात्र होइन, अब साँच्चै डिजिटलाइज भयो । पार्टीको बैठकलाई प्रविधिमैत्री र जनसमक्ष सहज बनाउन खोजेका हौँ । यसले पार्टीभित्र विविध कुरामा र सञ्चार जगतमा पनि एकरूपताका साथ सन्देश जाने भन्ने उद्देश्यले सभापतिले यो थालनी गर्नुभएको हो,” विश्वकर्माले बाह्रखरीसँग भने, “कस्तो हुन्छ अन्योलकैबीच यो अभ्यास सुरू गर्यौँ । हामी यसमा सन्तुष्ट भयौँ र उपलब्धि ठानेका छौँ ।”

सोमबारदेखि सुरू भएको बैठक केही दिन लम्बिने पक्का छ । बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेस भएका छन् । अब केन्द्रीय सदस्यहरूले धारणा राख्दै बैठक अघि बढ्ने बताइएको छ । मंगलबार ११ बजेदेखि बस्ने बैठक लाइभ गर्ने तयारी कांग्रेसको छ ।

आगामी दिनमा हुने प्रत्येक केन्द्रीय समिति बैठक नेतृत्वले आवश्यक ठाने लाइभ हुने विश्वकर्मा बताउँछन् ।

“विधानबमोजिम होइन, सभापति र पार्टीको पदाधिकारीबीच छलफल हुन्छ र पार्टी नेतृत्वले निर्देशन गरेबमोजिम बैठक लाइभ हुन्छ,” उनले भने, “पार्टीको आवश्यकता ठानेपछि बैठक लाइभ हुन्छ । प्रविधिले धोका दियो र आवश्यक छैन है भन्ने भयो भने लाइभ हुँदैन । नभए अब बाटो खुल्यो, बैठक लाइभ हुन्छ ।”

सहमहामन्त्री किशोरसिंह राठोर पनि कांग्रेस प्रविधिमैत्री भएकोमा सन्तुष्ट हुनुपर्ने बताउँछन् । बोलेको कुरा सबैले सुन्न र बुझ्न पाउने भन्दै उनी लाइभ गर्दा पार्टीको आधिकारिक कुरामात्र बाहिर जाने बताउँछन् ।

“प्रत्यक्ष रुपमा बोलेको कुरा सुन्न र बुझ्न पाउने यो अवसर हो । बैठकमा भएका सबै कुरा बाहिर आउने गरेका छन् । त्यसकारण लाइभ गराउने सभापतिको निर्णय राम्रो छ,” राठोरले भने ।

केन्द्रीय सदस्य कुन्दनराज काफ्ले भने जनआकांक्षाअनुसार अघि बढ्ने पार्टी कांग्रेस भएकाले जनचाहनाअनुसार केन्द्रीय समिति बैठक लाइभ गरिएको बताउँछन् ।

“यो कसैको कल्पनाको कुरा थिएन । आज जनताको आवश्यकता भएको कारणले नेपाली कांग्रेसले बैठक लाइभ गरेको हो,” काफ्लेले भने, “भोलिदेखि रोक्नलाई कांग्रेसले बैठक लाइभ गरेको हैन । ढुक्क हुनुहोस्, अब लाइभ रोकिँदैन ।”

कांग्रेसको अन्तिमपटक गएको असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो । एक वर्षपश्चात् साउन २ गते सोमबारदेखि कांग्रेसले बैठक सञ्चालन गरेको छ । विधानलाई खल्तीको सामान बनाएको कांग्रेस नेतृत्वले बैठक लाइभ गरेर आफूलाई पारदर्शी बनाउन खोजेकोमा चाहिँ सर्वत्र चासो देखिएको हो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसी केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण हुनु स्वागतयोग्य रहेको बताउँछन् । उनी महत्वपूर्ण समयमा लाइभ नगर्ने विकल्प पनि रहेको बताउँछन् ।

“राष्ट्रिय रुपमा नीतिगत कुरा गर्दा र दलगत रुपमा काम गर्दा संसद्मा विधेयक आयो भने प्रत्यक्ष प्रशारण नगर्न सकिन्छ । सुरक्षा र राष्ट्रिय महत्वको विषय आउँदा संसदीय समितिमा सीमित व्यक्तिको प्रवेश गराउन सकिन्छ । त्यसै गरी केही गम्भीर विषय आए प्रत्यक्ष प्रशारण रोक्न सकिन्छ,” उनले भने ।

अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले भने लाइभ गराउने विषयमा असन्तुष्टि पोखे । सबै कुरा सार्वजनिक गर्नपर्छ भन्ने नभएको भन्दै उनले सबै कुरा बाहिर ल्याउँदा पार्टीलाई घाटा हुने बताए ।

“पार्टीको आन्तरिक कुराहरु हुन्छ । सबै कुरा सार्वजनिक गर्नुपर्छ भन्ने हुन्न । मलाई त्यति चित्त बुझेको छैन,” गौतमले भने, “राजनीतिक यात्रामा म त्यस्तो स्कुलिङबाट आइनँ, त्यसैले अप्ठ्यारो लागेको हुनसक्छ ।”

के के भयो पहिलो दिनको बैठकमा ?

विधानसम्वत् प्रत्येक दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपश्चात् बसेको बैठकमा विभिन्न विषयहरू प्रवेश भएको छ । विभिन्न प्रतिवेदन प्रस्तुत भएको छ । गएको मंसिरमा भएको निर्वाचन र त्यसको प्रतिवदेन पनि बैठकमा प्रस्तुत भएको छ ।

विधानसम्वत् पार्टी र बैठक नचलेको गुनासो बढीरहँदा केन्द्रीय कार्यसमितिको बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव बैठकमा प्रस्तुत भएको छ । महामन्त्री गगन थापाले अहिलको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव सोमबारको बैठकमा पढेर सुनाएका हुन् ।

थापाले एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै अबका बैठक असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव गरेका छन् । साथै, वर्षमा न्यूनतम दुई बैठक काठमाडौंबाहिर गर्ने प्रस्ताव पनि थापाले गरेका छन् ।

भदौलाई साहित्य महिना, कात्तिकमा अर्थनीति कन्क्लेभ

बैठकमा महामन्त्री थापाले पार्टीको एक वर्षको क्यालेन्डर पेस गरे । थापाले २०८० को साउनदेखि ०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डर प्रस्तावको रुपमा पेस गरेका हुन् ।

थापाले प्रस्तुत गरेको क्यालेन्डरअनुसार हरेक महिना एक विशेष उद्देश्यसहितका कार्यक्रम तोकिएका छन् । क्यालेन्डरअनुसार केन्द्रीय सदस्यहरूले वर्षको एक महिना पार्टीको कामबाट बिदा पाउने छन् । त्यसबाहेक ११ महिना कुनै न कुनै कार्यक्रम र अभियानमा निरन्तर संलग्न हुनुपर्नेछ ।

क्यालेन्डरअनुसार माघमा टोलटोलमा कांग्रेस अभियानअन्तर्गत पार्टीको कुनै पनि पदमा बहाल रहेको प्रत्येक व्यक्ति आफू क्रियाशील रहेको वडामा पुगेर कुनै न कुनै सामाजिक कार्यक्रममा अनिवार्य सरिक हुनुपर्नेछ । यो कार्यक्रम एकै दिन ६ हजार ७४३ वटै वडामा गर्न पनि थापाले प्रस्ताव गरेका छन् ।

महामन्त्री थापाले प्रस्ताव गरेको क्यालेन्डरअनुसार साउनमा हरियाली महिनाको रुपमा वातावरण विशेष कार्यक्रमहरु रुख रोप्ने, युवा र भ्रातृ संस्थाहरुसँग बैठक गर्नेलगायत कार्यक्रम गरिनेछ । त्यस्तै, भदौलाई साहित्यिक महिनाका रुपमा साहित्य विशेष सांगठनिक अभियान सञ्चालन गर्ने र त्यसक्रममा दिवानसिंह राई स्मृति दिवसमा विचार गोष्ठीदेखि मधेसका सबै जिल्लामा प्रदीप गिरी संवाद कार्यक्रम सञ्चालन हुनेछ । कांग्रेसले असोजलाई उत्सवको महिनाका रुपमा उत्सवमय बनाउनेछ ।

कात्तिकलाई संवादको महिनाको रुपमा पार्टीको अर्थनीतिसम्बन्धी दुईदिने कन्क्लेभ गर्ने, मंसिरमा महिला हिंसाविरुद्ध एक महिने मंगलादेवी अभियान सञ्चालन गर्ने, भूसंरक्षण, पहिचान र विविधताका विषयमा कार्यक्रमहरू गर्ने, किसान सप्ताह मनाउने, पुसमा एकता मेलमिलाप विशेष कार्यक्रमहरू गर्ने प्रस्ताव थापाको छ ।

यस्तै, माघमा सम्मान विशेषसहित सप्ताह मनाउने, फागुनमा खेलकुद सप्ताह र सत्याग्रह विशेष कृष्णप्रसाद भट्टराई स्मृति अभियान, चैतमा गिरिजाप्रसाद कोइराला स्मृति शान्ति पदयात्रा र डीबी परियार स्मृति राष्ट्रिय कला सम्मेलन गर्ने प्रस्ताव छ । वैशाखलाई संकल्पको महिनाको रुपमा लोकतन्त्र वृत्तचित्र प्रदर्शनी र जेठ १० मा समता दिवस मनाउने क्यालेन्डर थापाले बैठकमा प्रस्तुत गरेका छन् । बैठक सकिँदा निर्णय भए यो क्यालेन्डर लागु हुनेछ ।

तीन चरणको अभियान, एक वर्षमा सात लाख पार्टी सदस्य थप्ने

पार्टीले तीन चरणको अभियान सञ्चालन गर्ने तयारी गरेको छ । बैठकमा महामन्त्री गगन कुमार थापाले पहिलो अभियान साउन २० गतेदेखि भदौ १ गतेसम्म गरिने उनले बताए । उक्त अवधिमा संगठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइनेछ ।

दोस्रो अभियान भदौ १० गतेदेखि २४ गतेसम्म चलाइने छ । यस अभियानमा समुदायसँग संवाद गरिने उनले बताए । तेस्रो चरणको अभियान मंसिर १५ देखि माघ १५ गतेसम्म चलाइने उनले जनाए । अभियानको पहिलो चरणको उद्देश्य सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विष्लेषण, संगठन सृदृढीकरण र सबलीकरण रहेको उनले स्पष्ट पारे ।

बैठकमा ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव आएको छ । महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमिति बैठकमा संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्नका लागि अभियान चलाउने प्रस्ताव गरे । यो साउनदेखि २०८१ असार ३१ गतेसम्म पाँच/सात लाख सदस्यता बढाउने गरी अभियान चलाउने प्रस्ताव उनको छ ।

२२ विभाग थपिने

२२ नयाँ विभाग थप्ने प्रस्ताव बैठकमा आएको छ । कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पुर्‍याउन लागिएको हो ।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।

गठबन्धनले समानुपातिक मत घट्यो

निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका कारण समानुपातिक मत घटेको निष्कर्षसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले मंगलबारको केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै आगामी निर्वाचनमा विशेष रणनीति अपनाउन सुझाए । उनले गठबन्धनका कारण महिला, जनजातिलाई टिकट दिन पार्टी नेतृत्व अनुदार रहेको बताए । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई कम्तीमा ३३ प्रतिशत दिनुपर्ने उनको सुझाव छ । पुराना नेताहरूलाई टिकट दिन नसक्दा बागी उमेदवार खडा भएको उनले बताए ।

“कतिपय स्थानमा पुराना तथा प्रजातन्त्रका लागि लडेका साथीहरूलाई टिकट दिन नसक्दा असन्तुष्टि बढ्न गई पार्टीविरुद्ध बागी उमेदवार खडा हुनु तथा अन्तर्घातको कारणले पार्टीले पराजयको पीडा भोग्नुपरेको आजको यथार्थ पनि हो,” श्रेष्ठले सुनाए । उनले पार्टीभित्रको गुटबन्दी मिलाए कांग्रेस अरू पार्टीसँग डराउनुपर्ने अवस्थामा नरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro