
काठमाडौं । थुनाबाट मुक्त भएपछि सोमबार पहिलो पटक आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सबैभन्दा बढी आक्रोश राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति पोखे ।
उनले राजावादी र राप्रपाकै कारण राजतन्त्र पुनर्स्थापनाको आन्दोलन पछाडि धकेलिएको आरोप समेत लगाए ।
“राप्रपा र ममा धेरै फरक छ । राप्रपाले जनतासँग गएर के गर्यो ?,” पत्रकार सम्मेलनमा अन्य बेलाभन्दा केही संयमित देखिएका प्रसाईँले भने, “त्यसैले हामी अघि बढ्न राप्रपा कुर्नुपर्दैन । म राप्रपा होइन । हामी राप्रपा होइनौं ।”
आफू राप्रपा नभएको दाबी गरिरहँदा उनले आफू हिजो पनि राजावादी नभएको बताए ।
राजतन्त्र पुनर्स्थापना गर्ने उद्देश्यले २०८१ चैत १५ गते आह्वान गरिएको आन्दोलन राजावादीहरुले बिगारेको उनको आक्रोश थियो । “यो चैत १५ गतेको आन्दोलन कसले बिगारेको थाहा छ, राजावादीहरुले । राजावादी, एमाले र माओवादी मिलेर बिगारेको,” प्रसाईँले भने ।
सोमबारको पत्रकार सम्मेलनमा नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका प्रसाईँले राजा पनि राजावादी नभएको बताए । उनले भने, “म राष्ट्रवादी हुँ । म राष्ट्र र नागरिकको माया गर्ने मान्छे हुँ । राजा पनि राजवादी होइनन्, राष्ट्रवादी हुन् ।”
प्रसाईँले राजावादी र राप्रपाले राजालाई ‘ढ्याङ्ग्रो’ को रुपमा प्रयोग गरेको आरोप लगाए । २०७९ फागुन १ गतेसम्म राजालाई राजावादी र राप्रपाले चुनावको बेला ‘ढ्याङ्ग्रो’को रुपमा प्रयोग गरेको उनले बताए ।
“२०७९ फागुन १ गतेसम्म राजालाई कतिखेर प्रयोग गर्थे भने यिनै राजावादीहरुले जतिखेर चुनाव आउँथ्यो । धामिले ढ्याङ्ग्रो निकालेजस्तो ढ्याङ्ग्रो निकाल्ने । एउटा घरमा गएर ड्याङ ड्याङ पार्ने । काम सकिएपछि घरमा ल्याएर थन्क्याउने । त्यसरी राजालाई प्रयोग गरे । धर्मलाई प्रयोग गरे,” प्रसाईँले भने ।
२०७९ साल फागुन १ गतेदेखि राजतन्त्र पुनर्स्थापनाको एजेन्डा आफूले उठाएपछि राजाको चर्चा घरघरमा हुन थालेको दाबी उनले गरे ।
“मैले २०७९ साल फागुन १ गतेदेखि २०८१ चैत १५ गतेसम्म आउँदा सर्वहारा वर्गको घरमा पनि राजा, महलमा पनि राजाको चर्चा बनाइदिएको थिएँ । यो राजावादीहरुले गरेको होइन,” प्रर्साईंको दाबी थियो ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेको आन्दोलन राजावादी र राप्रपाले बिगारेको भनाइ उनको थियो ।
उनले स्पष्ट पार्दै भने, “प्रहरी ३०० मिटर पर बसेको छ । छातीमा राजाको ट्याटु हान्नेहरुले पहिले गएर लडाइँ गर्देको छ । किन गर्नु लडाईँ । सबै आन्दोलन नै बिगारेको राजावादीहरुले हो । राप्रपाले हो । आन्दोलन नै सिध्याउन खोजेको राजावादी र राप्रपाले हो । म राजावादी पनि होइन, राप्रपा पनि होइन ।”
पत्रकार सम्मेलनमा प्रसाईँले पटक–पटक आफू राजावादी र राप्रपा नभएको दोहोर्याएका थिए । चैत १५ गते आन्दोलन आफूले मात्र नगरी सबैले गरेको र त्यही कारण आन्दोलनलाई ‘संयुक्त जनआन्दोलन’ भनिएको भनाइ उनको थियो ।
“त्यो आन्दोलन संयुक्त आन्दोलन थियो । राजसंस्था पुनर्स्थापना गर्ने संयुक्त आन्दोलन भन्ने थियो । तर पछाडि धवल शमशेर र रवीन्द्र मिश्रले सबैभन्दा पहिला, म १२ बजेर ३१ मिनेटमा पुगेको, उनीहरु ११ बजेनै एक घण्टा अगाडि गएर मञ्चमा आसन ग्रहण गरे । अनि खुश्बु ओलीहरु सबै जनाले भाषण गरे । म पुगेकै छैन । म स्टेजमा दुइ मिनेट पुगें, कुरुक्षेत्र भइसकेपछि । अनि आन्दोलन सबै भड्काउने उहाँहरु अनि लास्टमा के भन्नु हुन्छ भने यो आन्दोलनमा त हामी पाहुना गएको रे,” आक्रोशित हुँदै प्रसाईँले भने ।
राप्रपाका नेताहरुको शैलीले आन्दोलन र राजनीति नहुने उनले स्पष्ट पारे ।
आफू थुनिँदा राप्रपाका नेताहरु धवल शमशेर जबरा, रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देन सबैको नुर हेरेको प्रसाईंले बताए । आफू मिलाई मिलाई आन्दोलन गर्ने मान्छे नभएको पनि उनले स्पष्ट पारे ।
“राजावादीसँग अब मलाई भिड्नु छैन । मेरो राजावादी दल हुँदैन, राष्ट्रवादी दल हुन्छ । नेपाल र नेपालीको दल हुन्छ । सर्वहारा र उत्पीडितको दल हुन्छ,” प्रसाईँले आफू को हुँ र आफ्नो दल कस्तो हुने भन्ने प्रष्ट पार्दै भने ।