site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बीएन घर्तीको ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ सार्वजनिक 

काठमाडौं । बैंकिङ विषयलाई विश्लेषण गर्दै बैंकिङ विज्ञ बीएन घर्तीले ‘बैंकिङ अनुशासन, दिगो बिकासका लागि’ नामक पुस्तक लेखेका छन् । 

भर्खरै सार्वजनिक पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्दछ, किन अल्पदृष्टिबाट होइन दुरदृष्टिबाट अभिप्रेरित हुनु पर्दछ, किन ग्राहक केन्द्रित हुनु पर्दछ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्दछ, कर्मचारीहरुलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नु हुँदैन, किन पारिश्रमिक दिनेगरी व्यवसायिक संचालक नियुक्त गर्नु पर्दछ लगायतका विषय समावेश गरिएको छ ।

किन एक नं. हुने दौडमा सामेल हुनु हुँदैन, फाइनान्स कम्पनी र विकास बैंक किन चाहिन्छन्, लघुवित्तले बहुबैंकिङ गरिरहेका छन् भन्ने थाहा पाउँदा पाउँदै करिव ५ बर्ष राष्ट्र बैंक किन चुप लागेर बस्यो, उच्च पदस्थ व्यक्ति र प्रतिबन्धित सूचीमा रहेका व्यक्तिहरुलाई पहिचान गर्न के गर्नु उपयुक्त हुन्छ, बैंक तथा वित्तीय संस्था समस्यामा परे पछि सहज अबस्थामा फर्कन किन बर्सौं लाग्छ आदि जस्ता विषयवस्तुको लेखकले विश्लेषण गरेका छन् । 

पुस्तक पढेपछि एनआईसी तथा नबिल बैंकमा समेत गरी १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भइ कार्य गरेका सशिन जोशीले पुस्तकका बारेमा टिप्पणी गर्दै लेखेका छन्, “बीएन घर्तीद्वारा लेखिएको बैंकिङ अनुशासन शीर्षकको पुस्तक नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजाना हो । विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरुका लागिमात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरुका लागि पनि बैंकिङ अनुशासन एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुनेछ भन्ने मलाई लागेको छ ।”
 
बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति, उच्च व्यवस्थापन, विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीले उक्त पुस्तक अध्ययन गरेमा त्यसले अहिले गरिरहेको बैंकिङ अभ्यासमा परिवर्तन ल्याउनका लागि भूमिका खेल्न सक्ने विश्वास लेखकले लिएका छन् । 

नेपाली बैंकिङ इतिहास छोटो छ । तैपनि, १६ वित्तीय संस्था समस्याग्रस्त भए । ४ वित्तीय संस्थाको इजाजतपत्र खारेज भयो । कतिपय बैंकको संचालक समिति र व्यवस्थापन राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिन प¥यो । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाई साधारण अवस्थामा फर्काउन विश्व बैंकसँग ऋण लिन प¥यो । 

त्यसका लागि ७ अर्व ५५ करोड रुपैंयाँ भन्दा बढी खर्च भयो । नेपाली बैंक तथा वित्तीय संस्थामा जति पनि समस्या आए अधिकांश ‘बैंकिङ अनुशासन’ मा नबसेका कारण आएको अध्ययनले देखाउँछ । 

पुस्तकमा यस्ता जल्दाबल्दा विषय पनि समावेश गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्