site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका
प्रतीकात्मक तस्बिर

काठमाडौं । डडेलधुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ । आर्थिक अवस्था कमजोर हुँदा उनीहरु पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा बिबाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् । 

भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको संख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको सङ्ख्या बढी रहेको गाउँपालिकाले जनाएको छ । यसरी पढाइ छोड्नेमा छात्रा बढी छन् । उनीहरुका परिवारले सानो उमरेमा विवाह गरिदिने पाइएको छ । 
  
यो समस्या भागेश्वरको मात्रै होइन । जिल्लाका अन्य पालिकामा पनि रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कक्षा १ देखि १० सम्म विद्यालय छाड्ने बालबालिका बढी छन् ।  कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञानलगायत विषयको पढाइ सुरु भए पनि उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यता छ । 

“आर्थिक अवस्था कमजोर भएका अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन सकिरहेका छैनन्”, अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले भने ।  स्थानीयस्तरमै बालिबालिकाले शिक्षा हासिल गर्ने वातावरण बनाउन आवश्यक भएको उनको भनाइ छ । भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करिब ५.५ प्रतिशत बालबालिकाले बीचमै  पढाइ छाडेको पाइएको छ । ३२ विद्यालय रहेको उक्त गाउँपालिकामा आठ माध्यमिक तथा २४ आधारभूत विद्यालय छन् । 

चालु शैक्षिक सत्रमा तीन हजार पाँच सय ५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । करिब ५.५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि भारत जानेको संख्या अत्यधिक छ । गरिबीका कारण उच्च शिक्षा पढाउन नसक्ने र रोजगारकै लागि अभिभावकले आफूसँगै भारत लैजाने गरेका स्थानीय रमेश लुहारले बताए ।  

“रोजगारीको ग्यारेन्टी छैन, पछि पनि रोजगारका लागि विदेशिनुपर्ने हो भन्दै सानै उमेरमा पढाइ छोड्ने चलन छ”, उनले भने, “छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीको सानैमा विवाह गरिदिने चलन अहिले पनि व्यापक छ ।” रासस–

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro