काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संसद्मा माफी माग्न तयार भए संसद् चल्न दिने भएको छ ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले आफूले दिएको अभिव्यक्तिप्रति संसद्मा उभिएर माफी मागे संसद् चलाउन सकिने बताएका हुन् ।
तर, अहिलेको अवस्थामा प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको उनको भनाइ छ ।
"प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग यथावत् नै रहन्छ । र, उहाँले जो कुरा बोल्नुभएको छ । त्यसका उहाँले कम्तीमा पनि सदनमा आएर माफी माग्नुभयो भने छलफल गर्ने एउटा वातावरण बन्न सक्छ," गिरीले भने ।
उनले प्रधानमन्त्रीले मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने बताए ।
"आज संसारका लोकतान्त्रिक मुलुकहरू, विकसित मुलुकहरूको प्रमुखले कार्यकारी राष्ट्रपतिले वा कार्यकारी प्रधानमन्त्रीले यस्तो प्रकारको अभिव्यक्ति दिनुहुन्थ्यो भने तत्क्षण सत्ताबाट च्यूत हुन्थ्यो । तत्काल देशका नागरिकहरू स्वाभिमानका झन्डा बोकेर सडकमा आउँथे । संसद्भित्र आगो बल्थ्यो," उनले भने ।