काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै आइतबारको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । लगातार चौथो दिन अवरोध भएसँगै बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।
बैठकको सुरुआतमै एमाले सांसद भगवती न्यौपानले प्रधानमन्त्री प्रचण्ड संसद्लाई ‘फेस’ गरेर जवाफ दिन लायक व्यक्ति नभएको बताइन् । प्रचण्ड प्रधानमन्त्री प्रचण्डको कुर्सीमा बस्न योग्य व्यक्ति नभएको जिकिर उनले गरिन् ।
उनले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म एमालेले संसद् चल्न नदिने बताइन् । “प्रधानमन्त्रीले बोलेको कुरा सामान्य होइन । संसद्लाई जवाफ दिन आवश्यक छैन, प्रस्ट कुुरा आएको छै,” उनले भनिन्, “प्रधानमन्त्री जवाफ दिन लायक हुनु हुन्न । कुर्सीमा बस्न योग्य हुनु हुन्न । तपाईंको बहिर्गमन अन्तिम विकल्प हो ।”
न्यौपानले बोलेपश्चात् राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेका थिए । उनले शीर्ष नेताहरू संवादमा लाग्ने आफूलाई विश्वास भएको भन्दै बैठक अघि बढाउन दिन आग्रह गरे ।
तर, एमाले सांसदहरूले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमिल्सिनाले बैठक भोलि बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी स्थगन गरिएको जानकारी दिए ।