काठमाडौं । गोलकिपर जेम्स ट्राफोर्डले खेलको अन्तिम समयमा पेनाल्टी जोगाएपछि इंग्ल्यान्डले शनिबार स्पेनविरुद्ध १–० को कठिन जित निकाल्दै यू–२१ युरोपियन च्याम्पियनसिप जितेको छ ।
जर्जियामा सम्पन्न फाइनलमा पहिलो हाफको इन्जुरी समयमा कर्टिस जोनले गरेको गोल इंग्ल्यान्डको जितमा निर्णायक बन्यो ।
खेलको इन्जुरी समयको छैटौँ मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएका थियो । तर, ट्राफोर्डले स्पेनका अबिल रुइचको प्रहार विफल पार्दै इंग्ल्यान्डलाई उपाधितर्फ अघि बढाएका थिए ।
इन्जुरी समयमा नै इंग्ल्यान्डका गिब्स ह्वाइट र स्पेनका एन्टोनियो ब्लान्कोले रातो कार्डको दर्शन गरेपछि दुवै टिमले १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो ।
इंग्ल्यान्डले ३९ वर्षपछि यू–२१ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको हो । इंग्ल्यान्डले यसअघि पछिल्लो पटक सन् १९८४ मा यू–२१ युरोपियन च्याम्पियनसिप जितेको थियो ।