site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साथी हो, आज परोर पाकेको छ !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुर रामानन्द चोकभित्रको एउटा वैष्णव मठमा हजुरआमाको बैकुण्ठी हुँदै थियो । त्यस दिन अपराह्नको भोजन त्यहीँ भयो । सात्त्विक भोजनको त्यो स्वाद आजपर्यन्त जिब्रोमा अल्झिएको छ ।

स्वादिलो खान्कीखुराकीमा परोरको सुक्खा तरकारी पनि थियो । परोर मिठो नमान्ने मेरी छोरीले पनि त्यस दिन तरकारी स्वाद मानेर खाई । वास्तवमै मिठो थियो, सबै तरकारीतिहुन ।

छोरीलाई आलु तारेको मन पर्छ । तर, परबरसँगै तारेको आलु उसको मुखबाट जाँदैन । परोरसँगको संगत नै मन नपर्ने । परोर मानौँ करेला हो ! परोर नखाने यिनले बरेला र चट्टेलतिर हेर्लान् त !

KFC Island Ad
Dabur Nepal
NIC Asia

परोरलाई लिएर एउटा आहान नै छ हाम्रो गाउँघरतिर, ‘बापके नाम सागपात, आ बेटाके नाम परोर !’

यसैले प्रस्ट्याउँछ, परोरको इज्जत कति छ, अरूको तुलनामा परोरले कति ठूलो अर्थ राख्छ ।

Royal Enfield Island Ad

यही परोरको सब्जीका लागि कुनै समय हामीले भागाभाग गरेका थियौँ । त्यो दृश्य आज पनि मेरो आँखैअघिल्तिर दौडिरहेको हुन्छ ।
०००
जलेश्वरस्थित लचमु हाई स्कुलमा सात कक्षामा भर्ना भएपछि मेरो बसाइ स्कुलकै होस्टेलमा भयो । खानपान मेसमा ।

त्यसअघि, भलुवाहीको स्कुलमा पढिरहेको थिएँ । सात कक्षाको अन्तिम परीक्षा आउन केही महिना मात्रै बाँकी रहँदा म जलेश्वर आएको थिएँ । मावल गाउँमा निमाविसम्मको मात्रै स्कुल भएकोले बुवाले मलाई जलेश्वर ल्याउनुभएको थियो ।

जलेश्वरमा घरै थियो । हजुरआमा र ठूलोआमा हुनुहुन्थ्यो । दुई काका र दिदीहरू थिए । घरै बसेर पढ्दा पनि हुन्थ्यो । तर, बुवाले होस्टेलकै जिम्मा लगाउनुभयो ।

होस्टलमा मलाई शिक्षकको कोठासँगैको आठखाटे रुममा एउटा खाट दिइयो । ओछ्यानबिछ्यान, सरसामल र किताब राख्न बाकस, किताबहरू, केही दिनलाई खाजामा चिउरा र चिनीको व्यवस्था गरेर बुवा काठमाडौं फर्किनुभयो ।

अब मेरा स्थानीय अभिभावक थिए, हेडसर सभापति लाल दास र होस्टेल सुपरिटेन्डेन्ट कविराज उपाध्याय ।

कोठामा आठ विद्यार्थी सुत्ने गरी आठैवटा खाट राखिएको थियो । खाट सबै भरियो, म आएपछि । होस्टेलका अरू कोठा पनि त्यसैगरी आठ÷आठ विद्यार्थीले भरिएका थिए ।

बिहान नित्यकर्मउप्रान्त सरस्वती मन्दिरअगाडि वन्दना गर्न लाम लागिन्थ्यो । त्यहाँ हाजिरी जनाएपछि मात्रै आफ्नो ओछ्यानमा पलेँटी कसेर पढ्न बसिन्थ्यो । होस्टेलमा बस्ने सबैको दिनचर्या एउटै थियो ।

बिजुली बत्ती थिएन । लालटिनको उज्यालोमा काम चलाइन्थ्यो । पंखा थिएन । हावाका लागि झ्याल खोल्यो, ओछ्यानमा झुल बाँध्यो । गर्मी–जाडो सधैँको प्रक्रिया थियो यो ।

गर्मी भए पनि म दुईतीन दिनमा एकफेर नुहाउँथे । नुहाउन सधैँको अल्छे म । पसिनाले नुहाइहालिन्छ, किन नुहाउनुपर्यो सधैँ ! सायद यही सोच्थेँ हूँला ।

मैला लुगा धुन भने कहिलेकाहीँ खेहरुको चाकडी गर्थेँ । उनले कपडा धोएर ल्याइदिन्थे ।

शिक्षकहरूको कोठासँगै जोडिएकोले हाम्रोे रुममा कविराज सरलगायत अरूको पनि आगमन भइरहन्थ्यो । कृष्ण सर, सूर्य सर, एमएससी सर, शुक्ला सर बेलाबखत कोठामा कर्केनजर दिन्थे । तिनको आगमन अस्वाभाविक थिएन । अरू कोठाहरूको तुलनामा यहाँ अलि बढी नै खोजीनिती हुन्थ्यो, विद्यार्थीहरूको ।

अर्थात्, पढनदासका लागि त्यो कोठा अतिउत्तम थियो । मजस्तो सामान्य विद्यार्थीका लागि भने त्यसलाई ‘तनाव कक्ष’ भनिदिँदा गलत नहोला । एक त होस्टेल, त्यत्तिकै नियममा बाँधिनुपर्ने । त्यसमाथि मास्टरसाहबको कोठा जोडिएको । ‘उसै त करैला त्यसमाथि निम चढाइएको’ भनिन्छ नि, त्यस्तै भएन र !

सिरहाको श्री चन्द्र माध्यमिक विद्यालयको होस्टेलमा पनि मेरो केही महिना बित्यो । यस्तै तीन महिना । त्यहाँ पनि सातआठजना थियौँ, एउटा कोठामा । कोही सारस्वरका, कोही माडरका, कोही कताका ।

त्यहाँ होस्टेलको बसाइ भन्दा पनि मेसको खानाले मलाई तान्न सकेन । पातलो दाल अनि घिउरा, भन्टा, सैजमन, रामतोरियाको कहिले एक्लो त कहिले जोगी तरकारी अर्थात् मिक्स भेज !

होस्टेलको हरखुराकी फिक्स हुन्थ्यो, सायद । त्यसैले हरदिन जोगी जात्रा उदरस्थ गरिन्थ्यो । मेसमा थप खुराकी भनेको आलुको स्पेसल भुजिया हुन्थ्यो । रातो खुर्सानी फुर्याएको त्यो आलु भुजियाले मलाई ताण्डव गराउँथ्यो ।

त्यसैले एकदुई साता नबित्दै सिरहाबाट महिसोथाको बाटो हुँदै एक्ले गाछी भएर भलुवाहीतिर टाप कस्थेँ । स्थानीय अभिभावक कुमार दाजु (ठूलो मामाका छोरा) हुनुहुन्थ्योे । बेलाबखत होस्टेलमा आएर खोजखबर लिनुहुन्थ्यो मेरो ।

एकपटक मैले भलुवाहीतिर रेड्हा लगाएको साँझ पनि दाजु होस्टेल पुग्नुभएछ । होस्टलमा नदेखेपछि घर पुगेर भाउजूलाई मेरो चर्तिकला सुनाउँदै साइकल लिएर भलुवाही हानिनुभएछ ।

साइकलबाट ओर्लिंदै कुमार दाजुले कनैठी मार्दै मेरो दारी नै नआएको गालामा झन्नाटेदार थप्पड कस्नुभयो । बाबा र हजुरआमाले केही बोल्नु भएन । बोल्ने कुरै त थिएन । मेरो गल्तीलाई नजरअन्दाज गर्ने कुरो पनि गर्नु भएन । मैले पनि दाजुलाई भनेर हिँड्नुपर्थ्यो । दाजुले जान दिनु हुन्न भन्ने लागेरै म नसोधी भागेको थिएँ, गाउँतिर ।

आज पनि भेट हुँदा शान्ता भाउजू सम्झिनुहुन्छ, दाजुले मलाई हानेको झापड प्रसंग । दाजुलाई रिस उठ्नु जायज थियो । म भाग्नु जायज हुने कुनै भएन !

खासमा मलाई सिरहामा मन लागिरहेको थिएन । यो कुरो दाजुलाई नै सुनाएँ । त्यसपछिको केही महिना भलुवाहीमै पढेँ । सिरहा स्कुलमा भर्ना मात्रै भएँ, खासै पढिनँ भन्दा हुन्छ ।

भलुवाहीको मिडिल स्कुलमा सातउप्रान्त पढाइ नहुने हुँदा त्यहाँबाट सात पास गरेकाहरू जनकपुर, सिरहा, माडर, बस्तीपुर, खजुरी गएर पढ्थे । त्यसका लागि नै मलाई सिरहामा राख्न खोजिएको थियो होला ।

गाउँ छोड्नैपर्ने भएकाले सिरहा राखिएको थियो होला मलाई । खै किन हो, सिरहा बस्ने मनै भएन । न होस्टेलमा न अन्त कतै । फलतः यात्रा जन्मथलो जलेश्वरतिर मोडियो ।

बुवाले आफैँ आएर जलेश्वर ल.च.मु.व्या.मा.वि. (लक्ष्मीनारायण चण्डीप्रसाद मुरारका व्यावसायिक माध्यमिक विद्यालय)मा भर्ना गरिदिनुभयो । र, यहाँ पनि होस्टेलमा बसेर मेसको खान्कीमै रमाउनुपर्ने मेरो नियति रह्यो ।

यहाँ स्कुल फरक भयो । कक्षाकोठा फरक भयो । हेडसरदेखि सारा मास्टरहरू फरक । होस्टेलको कोठा फरक । कोठामा रहेका रुममेट फरक । यो फरक माहोलले आनीबानी सबैमा फरकपना महसुस हुन थाल्यो ।

साँझ कहिलेकाहीँ बजारमा रहेको घरतिर जान्थेँ । घरकाहरूसँग कुराकानी गर्दै समय बित्थ्यो । फर्किंदा होस्टेल सुनसान हुन्थ्यो । सबै पढाइमा मग्न । आफू पनि चुपचाप कोठामा छिर्थेँ र किताब लिएर बस्थेँ ।

म कोठामा छिर्दा साथीहरू भन्थे, ‘छौँडा, तोरा कविराज सर खोजैत रहलै । हम कही देली घरे गेल है कहिक । भेट ले एकबेर ।’

बुवाका मित्र कविराज सरलाई लाग्दो हो, राजेश कता हरायो भन्ने ।

यी यावत्बीच एउटै समानता थियो, लचमुको मेस । मेसको खान्कीखुराकीमा जेजस्तो मैले सिरहा स्कुलमा भोगेको थिएँ, जलेश्वरमा पनि त्यही दोहोरिएको थियो ।

तिनताक घिउरा, लौका, फर्सी, रामतोरिया, भन्टा रुपए पसेरी पाइन्थ्यो, सायद । परोर तुलनात्मक रूपमा महँगो । त्यसैले पनि भनिएको होला– बापके नाम सागपात, बेटाके नाम परोर !

महँगा तरकारी मेसमा पाक्दैन थियो । त्यसैले मेसमा परबर वर्जितझैँ थियो । त्यतिखेर परोर आठआने किलो थियो कि !

शनिबार भने मेसमा विशेष पकवान हुन्थ्यो । विशेष भनेको माछामासु होइन । शनिबार कि आलुको भुजिया हुन्थ्यो कि त आलुको चोखा । त्यो पनि सुकेको रातो खुर्सानी, नुन र काँचो करु तेलले साँधेको । अचार हुन्थ्यो, तारेर नुनमा डुबाएको हरियो खुर्सानी ।

नमिठो लागे पनि सबैले खाएको देखेपछि मिठै मानेर खानुपर्यो । कति दिन नखाने ? उसै त सन्ठी ज्यान, त्यसमाथि खानै बन्द गर्ने हो भने त हालत के होला !

मेसमा पण्डितजीले भात थालमा राखिदिएपछि दाल राख्न भातको बीचमा राजमार्ग बनाउँथेँ । अरू पनि त्यसै गर्थे । सिकेको तिनैसँग हो । दाल राजमार्गमा सरर्र बग्थ्यो ।

भातको ढिस्कोमाथि तरकारीको थुप्रो बस्थ्यो । नोनगर खुर्सानी एकतिर ढल्थ्यो । त्यसपछि सपासप सपासप दाबिन्थ्यो ।

लचमुको मेसमा खाँदाको एउटा प्रसंग सम्झना आउँछ, आज पनि । एमएससी सर स्कुलमा विज्ञान विषय पढाउँथे । म्याथ पनि पढाउँथे कि ! लोहारपट्टीका उनी होस्टेलमै बस्थे । सधैँ खाना खाने बेला उनी सिसीमै नभए हातमा भए पनि घरबाट ल्याएको घिउ बोकेर मेस पस्थे ।

कहिलेकाहीँ सरको आजुबाजु रहेर खाना खाने मौका मिल्थ्यो । त्यो बेला उनले भातमा मुछेको घिउको बास्ना वरिपरि फैलिन्थ्यो । हामी पनि त्यही बास्नामा लट्ठिँदै आफ्नो थालको भात मिठो मानीमानी खान्थ्यौँ ।

मैले पनि दुईचारचोटि एमएससी सरको बगलमै बस्ने मौका पाएको थिएँ । त्यतिखेर भात थपेको थपेकै गरिन्थ्यो ।

खाने उमेर थियो । सुरुमा मिठो नलागे पनि पछि थपेर खान लाज लाग्न छोड्यो । झन् एमएससी सरको निकट बस्न पाएपछि अरू के नै चाहियो र !

आज घिउले आफूतिर तान्दैन । घिउ नमिठो भएको हो कि ज्यान ननिको !

मेसमा पाक्ने घिउरा र रामतोरियाको तरकारीले मलाई निकै पछिसम्म लखेट्यो । सैजमन र रामतोरिया थोरथोरै खान्थेँ । होस्टेल छाडेपछि मैले घिउराको तरकारी १०÷१२ वर्षसम्मै खाइनँ । अहिले पनि घिउरामा त्यति नजर जाँदैन । घिवाहा सजमन अचेल पाइँदै पाइँदैन । मधेसमै पनि भेटिन्न घिवाहा लौका ।

सधैँको एउटै तरकारीले तेह्र त्रिभुवन देखाएको थियो । पहिले त पेट भर्नै गाह्रो । पछि बानी नपारी भएन, ‘मरता क्या नही करता’ भनेझैँ ।

एक दिन मेसमा परोरको तरकारी पाक्ने भयो । यो खबर होस्टेलका कोठाकोठामा जंगलको आगोसरि फैलियो ।

‘पार्टनर, मेसमे आई परोर पाकल है !’

‘आई त धसाके देबौ भात ।’

‘घिउरा खाइत खाइत मन ओकता गेलै ।’

हरेक कोठामा यस्ता संवाद चलिरहेका थिए । सिंगो होस्टेलमा चर्चाको विषय परोर नै थियो । कतिखेर खानाको घण्टी लाग्ला र मेसतिर दौडूँला भन्नेमा थिए सबै । यसबाट म पनि अछुतो थिइनँ ।

त्यस रात दोस्रो लटमा परोरको तरकारी पुग्दैन कि ! भन्ने चिन्ता धेरैलाई थियो । कुन बेला घण्टी लाग्ला र कुलेलम ठोकौँला भन्नेमा थिएँ । सैजमन, घिउरा, भन्टा, भिन्डीभन्दा परोर नै मिठो लाग्ने भएकोले म पनि स्टीलको गिलासका साथ पहिलो लटको दौडमा भाग लिन तैयार थिएँ ।

हतार थियो, तथापि कोठाबाहिर निस्किने हिम्मत भइरहेको थिएन । सरले देखे जवाफ दिनुपर्थ्यो ।

घण्टी लगाउने जिम्मेवारी होस्टेल प्रिफेक्टको थियो । तर, घण्टी बजिरहेको थिएन । घण्टी बज्न किन ढिलो भइरहेको छ ? यो सवाल पनि उठिरहेको थियो, हामीबीच ।

अन्ततः घण्टी बजेरै छाड्यो । भागाभाग सुरु भयो । मानौँ, धावकहरू फिल्डमा छन् र दौडिरहेका छन् ट्र्याकमा ।

एक त घिउरा, भन्टा, रामतोरियाभन्दा महँगो तरकारी, त्यसमाथि परोरको लदरबदर । धैग तोड्नुबाहेक अरू कामै पो के थियो र !

मलाई सम्झना भएसम्म त्यस दिन परोरको तरकारी कृष्ण सरका कारण जुरेको थियो । सर एमए पास भएका थिए । सोही अवसरमा मेसले सरबाट परोर पाएको थियो । अनि, हाम्रो भागमा परेको थियो मिठो भोजन ।

त्यस दिनको परोरको सब्जी आज पनि मेरो सम्झनामा छ । अरूले सम्झिएका छन् कि नाइँ !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro