site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा सरकार गठनको कसरत : राप्रपाले विपक्षीलाई समर्थन गर्ने संकेत
भक्ति सिटौला ।

विराटनगर । कोसी प्रदेशमा नयाँ गठबन्धनको सरकार बने सामेल हुने/नहुने विषयमा निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनलाई जिम्मेवारी दिइएको छ ।

शनिबार झापास्थित लिङदेनको निवासमा बसेको प्रदेशसभा सदस्यसहितको पार्टीको बैठकमा कोसी प्रदेशमा सम्भावित मध्यावधि निर्वाचन रोक्न हुन सक्ने प्रयास र नयाँ सरकार गठन प्रक्रियामा राप्रपाको भूमिकाको विषयमा छलफल भएको थियो ।

राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले विपक्षी गठबन्धनका तर्फबाट आफूहरूलाई कसैले पनि छलफलका लागि आह्वान नगरेको बताए ।

“हामीले राजनीतिक चरित्र देखाएर यसअघि एमालेसँग भएको सहमति र सहकार्यअनुसार शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा मतदान गरेका हौँ,” उनले भने ।

सिटौलाले आफूहरू कुनै पनि दलसँग छलफलका लागि खुला भएको बताए ।

यहाँ गएको पुस २४ गते नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुँदा राप्रपा पनि सहभागी भएको थियो । शुक्रबार विश्वासको मत नपाएसँगै उनको सरकार कामचलाउ बनिसकेको छ ।

नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र गठबन्धन दलका नेताहरू काठमाडौं पुगेका छन् । अब कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रीय नेताहरूले नै टुंगो लगाउने कोसी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

थापाले भने, “केन्द्रीय नेताहरूले नेतृत्वको टुंगो लगाउनुहुन्छ, तल प्रदेशमा हामीबीच कुनै किसिमको मतभेद छैन ।”

कोसीमा कार्की नेतृत्वको सरकार ढलेसँगै नयाँ गठन प्रक्रिया सुरु भइनसकेको अवस्थामा राप्रपाले समर्थन गर्ने/नगर्ने भन्ने विभिन्न अड्कलबाजी भइरहेको छ । गठबन्धन दलले सरकारमा दाबी गर्दा सभामुखलाई गणना गर्न नहुने एमाले नेताको भनाइ छ ।

विश्वासको मत लिने क्रममा सदनमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले सभामुख विशेष महत्त्वको पद भएको बताए । उनले भने, “दलविहीन अवस्थामा रहेको बेला प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गर्दा सभामुखलाई जोड्न मिल्दैन ।”

प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरूले सरकार गठनका विषयमा परामर्श सुरु छन् । सरकार गठनको आह्वान आइतबार हुने अनुमान गरिएको छ । संविधानको धारा १६८ को कुन उपधाराअनुसार सरकार गठनको आह्वान गरिन्छ भन्ने स्पष्ट छैन ।

संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले दाबी गर्दै आएको छ । गठनबन्धनले बहुमतसहित सरकार गठनको दाबी गर्दा सभामुखलाई समेत गणना गर्नुपर्ने अवस्था छ । सभामुख बाबुराम गौतम माओवादी केन्द्रबाट सो पदमा चयन भएका थिए ।

विपक्षी दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको जिकिर गरिरहेका छन् । यस विषयमा शुक्रबार दुवै पक्षले छुट्टाछुट्टै समयमा प्रदेश प्रमुख खापुङसँग छलफल गरेका थिए ।

अहिले एमालेलाई साथ दिइरहेको राप्रपा गठबन्धनमा आए सहज बहुमतसाथ सरकार गठन हुनसक्छ । गठबन्धन दलका कांग्रेससँग २९, माओवादीसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग चार र जनता समाजवादी पार्टी (जसपा)सँग एक सांसद छन् । राप्रपाका ६ सांसदले समर्थन गरे ५३ मतसहितको सरकार गठन हुनसक्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro