काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम उच्च हुन्छ । वर्षाको समयमा तुलनात्मक रुपमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ ।
पहिरो जान नदिन विभिन्न कार्य गरेर पूर्वतयारी अपनाउन सकिन्छ । पहिरोका पूर्वसंकेतहरु पनि देखिन्छ । समयमै ती कुरामा ध्यान दिए क्षति कम गर्न सकिने भूगर्भविद्हरू बताउँछन् ।
खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटाका अनुसार सधैँ पहिरो जान लागेको पूर्वसंकेत पाइँदैन । तर, कहिले–काहीँ पहिरोका पूर्वसंकेतहरू पाइन्छ ।
जियोलोजिस्ट बास्कोटाले पहिरोका पूर्वसंकेत र पहिरोबाट जोगिन गर्नुपर्ने पूर्वतयारीबारे बताएका छन् ।
पहिरो आउन लागेको कसरी थाहा पाउने ?
१. घर–आँगन, बस्ती वरिपरि चिरा परेको देखिनु ।
२. जमिनबाट कटकट गर्ने आवाजहरू आउनु ।
३. रुख र बिजुलीका पोलहरू ढल्किएको देखिनु ।
४. पानीका मूलहरू अस्वाभाविक रुपमा सुक्नु अथवा मूलहरू बढ्नु, नयाँ ठाउँमा मूलहरू देखापर्नु र भइरहेका मूलबाट धमिलो पानी आउनु ।
५. भिरालो जमिनबाट ढुंगा, माटो खस्नु ।
६. ठाडो खोल्साहरूमा एक्कासि बहाव रोकिनु । माथिपट्टि पहिरो खसेर थुनिएर रोकिएको हुनसक्छ ।
७. घरका झ्याल–ढोका एक्कासि बन्द गर्न र खोल्न अप्ठ्यारो हुनु ।
८. घरका भित्ता र भुइँमा चिराहरू देखिनु ।
९. बस्तीभन्दा तलपट्टि ठूलो खोला अथवा नदी छ र त्यसले सक्रिय रुपमा जमिन कटान गर्न लागेको छ भने अब पहिरो जाँदै छ भनेर बुझ्नुपर्छ । र, तत्काल सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन जरुरी हुन्छ ।
पहिरो जान नदिन पूर्वतयारी कसरी गर्ने ?
१. बर्सातभन्दा अगाडि नै भेल–पानीलाई बस्तीनजिक अथवा कमजोर भू–भागमा एकत्रित नगरेर सुरक्षित ठाउँबाट त्यसलाई निकास दिने ।
२. बर्सातअगाडि घर वरपर साना कान्लाहरूमा चिराहरू देखिएको छ भने चिम्टाइलो माटो लगेर त्यसमा खाँदेर पुर्ने । सम्भव भएसम्म त्यसमा पानी छिर्न नपाओस् भनेर त्रिपाल वा प्लास्टिकले छोप्ने ।
३. पुरानो पहिरो गएको स्थानमा बस्ती नबसाउने ।
४. नदी–नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने । यसमा विभिन्न इन्जिनियरिङ डिजाइनहरू पनि पर्छन् ।
५. जथाभावी डोजर, एक्साभेटर प्रयोग नगर्ने ।
६. भिरालो डाँडा वा पहाडको ठ्याक्कै मुनि बस्ती नबसाल्ने ।