site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेतृत्त्व भुलभुलैयामा मस्त– केन्द्रीय सदस्यले बोल्ने ठाउँ पनि पाउँदैनन् !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसमा संस्थापन समूहका केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समिति बैठक बोलाउन दबाब दिने तयारी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विधानअनुसार बैठक नबोलाएको भन्दै इतर समूहमात्र होइन संस्थापन समूह पनि सन्तुष्ट छैनन् ।पार्टी सभापति शेरबहादुर देउवा निकट एक केन्द्रीय सदस्यले आफूहरू २०–२५ जना केन्द्रीय सदस्यहरू निरन्तर छलफलमा रहेको र केही दिनभित्र सभापति देउवालाई भेटेरै दबाब दिने तयारीमा रहेको जानकारी दिए ।

“हाम्रो त पार्टीमा हैसियत नै देखिएन । १० महिना भइसक्यो बैठकनै बोलाएको छैन । यसरी त भएन । हामी केही भद्र विद्रोह गर्नुपर्छ भनेर लागेका छौँ,” उनले भने ।

ती केन्द्रीय सदस्यका अनुसार भेटेर सभापतिलाई बैठक बोलाउन आग्रह गर्ने नभए विधान संवत् बैठक बोलाउन माग गरिने बताउँछन् ।

Dabur Nepal
NIC Asia

“सक्नुहुन्छ बैठक बोलाउनुहोस् नभए हामी विधानअनुसार अघि बढ्छौँ भनेर हामी भन्न जान्छौँ नै । अब त हामीलाई पनि लाज भइसक्यो,” ती केन्द्रीय सदस्यले थपे ।

बैठक नबसेको भन्दै पार्टी केन्द्रीय सदस्य मधु आचार्यले सोमबार बैठकको माग गर्दै निवेदन दिएका छन् । उनले अघिल्लो वर्ष साउन २ गते पश्चात् केन्द्रीय समितिको बैठक नबोलाइएको भन्दै आपत्ति जनाएका छन् ।

बाह्रखरीसँग कुरा गर्दै आचार्यले आफू पार्टी रुपान्तरणको अभियान लिएर सात प्रदेश र डायसपोरासम्म पुगेको भन्दै जनताको म्यान्डेट पनि बैठक आवश्यक भएको उल्लेख गरे ।

“पार्टीप्रति वितृष्णा छ । जनताले छलफल गर्ने धेरै विषय दिएर पठाएका छन् । त्यसको सम्बोधन गर्न पनि बैठक बसेर छलफल गर्नुपर्ने देखिन्छ,” उनले भने, “सभापतिले बैठक बोलाउन चाहनुभएको छैन । नियमित बैठक बस्नुपर्ने हो तर, सकेन । त्यसैले निवेदन एकल दिए । यसको सम्बोधन नभए बैठक चाहनेहरूले संयुक्त निवेदन दिन्छौँ ।”

कांग्रेस विधानले प्रत्येक दुई महिना केन्द्रीय समिति बैठक बोलाउनुपर्ने भनि विधानमा प्रस्ट लेखेको छ । त्यो बैठक बोलाउने अधिकार पनि सभापतिलाई छ । अर्थात् सभापति देउवाले चाहे बैठक बस्ने र नचाहे बैठक नबस्ने विधानको व्यवस्था हो ।

तर, विधानअनुसार आफूलाई अघि बढाउने दिशामा सभापति देउवा छैनन् । देउवा निकट केन्द्रीय सदस्य गुरू बराल शीर्ष नेतृत्वलाई बैठक टारेर भागिरहेको बताउँछन् ।

“सभापति, वरिष्ठ नेता, महामन्त्री तथा सिङ्गो पदाधिकारी विधानले नचिनेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमै मख्ख हुनुहुन्छ,” बरालले भने, “तर, विधानसम्वत् जनमत प्राप्त गरेर निर्वाचित केन्द्रीय सदस्यले आफ्नो कुरा राख्ने थलो केन्द्रीय समिति भने उहाँलाई भारी भएको छ । उहाँहरूसँग केन्द्रीय समितिलाई थेग्न सक्ने तागत नभएकाले उहाँहरू बैठकबाट भागिरहनुभएको छ । हाम्रो अधिकार खोस्नुभएको छ ।”

हुन पनि कांग्रेसभित्र छलफल गर्नुपर्ने विषय धेरै छन् । प्रदेश र संघ निर्वाचनको समीक्षा समेत पार्टीले गरेको छैन । जबकी निर्वाचन सम्पन्न भएर संसद् सञ्चालन भएको पनि सात महिना पुग्न लागिसक्यो ।

पार्टीभित्र गुम्दै गएको जनविश्वास, खुम्चिएको शक्ति र भएका विकर्षणहरूको बारेमा गहन छलफल गर्न नेतृत्व डराएको छ । भ्रष्टाचार, सुशासन र जनसरोकार विषयमा पार्टी मौन छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै नेता परेर पार्टीको इमेज डामाडोल बन्दैछ । नयाँ पार्टीको उदयले पनि संकट बढ्दो छ । तर, देउवा यो विषयमा चुपचाप छन् ।

“अन्तिम कार्यकाल इन्जोय गरिरहनुभएको छ । उमेर बढेसँगै उहाँलाई पार्टीप्रतिको चिन्ता घट्दो छ । त्यसैले काग कराउँदै गर्छ पिसान सुक्दै गर्छ भनेजस्तै भएको छ अहिले,” देउवा निकट अर्का केन्द्रीय सदस्यको गुनासो छ ।

पार्टीभित्र भ्रातृ संस्थाको विषय पेचिलो छ । अधिवेशन हुन नसकेका र तदर्थ समिति ल्याउन नसकेर भ्रातृ संस्था ‘कोमा’मा छ । विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र कोषाध्यक्ष नियुक्त गरिसक्नुपर्छ त्यो पनि भएको छैन ।

विधानअनुसार बन्नुपर्ने विभागहरूमध्ये प्रचार विभाग बाहेक अरू २६ विभाग बन्न सकेको छैन । सभापति देउवाले केन्द्रीय समितिलाई पनि पूर्णता दिन सकेका छैनन् । कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय छ । तर, सभापति देउवाले अझै २० जनालाई केन्द्रीय सदस्य नियुक्त गर्नुपर्नेछ ।

प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्मा भने यसै महिनाको अन्त्यमा केन्द्रीय समिति बैठक बस्ने बताउँछन् । आफूहरू तयारी गरिरहेको भन्दै उनी बैठक बस्न ढिलाई भएको स्वीर्काछन् ।  

“बैठक बस्न विविध कारणले ढिलाई भएकै हो । साथीहरूले निवेदन दिन थाल्नुभएको छ । यो सकारात्मक विषय पनि हो,” विश्वकर्माले बाह्रखरीसँग भने, “आज पनि म पार्टी अफिसबाट बैठकको तयारी गरेर आएको हो । हामी यो महिनाभित्र बैठक बस्ने तयारी गरिरहेका छौँ । अब ढिला हुँदैन ।”

कांग्रेसको २०७८ मंसिरमा अधिवेशन भएर देउवा दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएपश्चात् हालसम्म पाँच पटक मात्र केन्द्रीय समिति बैठक बसेको छ । विधान संवत् बैठक बस्थ्यो भने हालसम्म ९ पटक केन्द्रीय समिति बैठक बसेको हुनेथियो । तर, सभापति बैठक बसाउनै चाहदैनन् ।

त्यसो त पार्टीको १४औँ महाधिवेशन नेतृत्व मात्रै चयन गरेर सकिएको थियो । नीतिबारे महाधिवेशनमा केही छलफल भएन । नीति महाधिवेशन ६ महिनाभित्र गर्ने भने पनि आजसम्म भएको छैन भने मिति तोक्ने सुरसार पनि छैन ।

पटक–पटक पदाधिकारी बैठक बसेर यसबारेमा छलफल भए पनि केन्द्रीय समिति बैठक नबस्दा मिति तय हुन सकेको छैन । विधानले पदाधिकारीलाई कुनै निर्णय गर्ने अधिकार दिएको छैन । तर, कांग्रेस नेतृत्व भने विधानले नचिन्ने बैठक बसेर निर्णय गर्ने र नेता कार्यकर्ताको आँखामा धुलो छर्किएर विधान विपरीत पार्टी चलाएर कमजोर बनाउने खेलमा लागेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro