केही दिन यता एउटा नयाँ ‘मन्त्र’ गुञ्जिन थालेको छ । एकाएक अमेरिका र युरोपमा नीति निर्माताहरू चीनसँगको सम्बन्धमा ‘जोखिम न्यूनीकरण’ (डिरिस्किङ) शब्द भट्याउन थालेका छन् । यस शब्दले त्यसरी नै एकाएक सबैको मुखमुखमा बस्न पुगेको ‘पारपाचुके’ (डिकपलिङ)को ठाउँ लिएको छ । यसबाट पश्चिम र चीनबीचको सम्बन्ध पूरै तोड्न चाहिँ कोही पनि चाहँदो रहेनछ भन्ने पनि उजागर भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग पारपाचुके नै गर्नु न त वाञ्छनीय हो न सम्भव नै हुन्छ । यसैले सबै नै बढी अस्पष्ट अवधारणामा सहमत भएको हुनुपर्छ ।
‘डिकपलिङ’ को अर्थ स्पष्ट बुझिन्थ्यो भने ‘डिरिस्किङ’को व्याख्या जसरी गरे पनि हुन्छ । सबै आर्थिक गतिविधिमा जोखिम त अन्तर्निहित नै हुन्छ भने बजार अर्थतन्त्रमा जोखिमले अन्वेषण, वृद्धि र थप सम्पन्नतातर्फ लैजान्छ । जोखिमरहित अर्थ व्यवस्था सम्भव हुन्थ्यो भने यसले कुनै प्रतिफल दिने थिएन र वृद्धि अवरुद्ध हुनेथियो ।
विशाल बहुराष्ट्रिय कम्पनीहरूदेखि ससाना पारिवारिक व्यवसायसम्मका सबै आर्थिक पात्रहरू निरन्तर जोखिम र अवसरको लेखाजोखा गरिरहेका हुन्छन् र यी दुईका बीचमा समुचित सन्तुलन कायम राखिरहन चाहन्छन् । हुनत, कुनै कुनै जोखिम टार्नै नसकिने हुन्छ तैपनि त्यसको जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने कोसिस गरिन्छ । यस अर्थमा जोखिम न्यूनीकरण खुला अर्थतन्त्रको स्थिर एवं विवादरहित विशेषता हो र राष्ट्रिय अर्थतन्त्रको जोखिम न्यून गर्न त सबै आर्थिक खेलाडीहरू प्रयत्नरत नै रहन्छन् ।
चीनका सन्दर्भमा अधिकतर पश्चिमी कम्पनीहरूको जोखिम मूल्याङ्कन त्यस मुलुकको बढ्दो राज्य केन्द्रित र सुरक्षामुखी आर्थिक नीतिहरूका प्रतिक्रियामा बदलिन थालिसकेको छ । अहिले चीनको वृद्धिको सम्भावना कमजोर भएको छ भने अर्थतन्त्र पनि कुनै बेलाको जस्तो आकर्षक छैन । लामै समयदेखि बलियो विश्लेषणात्मक दक्षता भएको मानिने बेइजिङको युरोपियन चेम्बर अफ कमर्सको पछिल्लो प्रतिवेदनले जोखिम बढ्दो र अवसर घट्दो रहेको चित्रण गरेको छ । यो निष्कर्ष वासिङटन वा ब्रसेल्सको राजनीतिक आग्रहमा नभएर पूर्णतः चीनकै वास्तविकतामा आधारित छ । चीनले बजार अर्थतन्त्र र खुलापन अपनायो भने युरोपियन च्याम्बरको मूल्याङ्कन पनि परिवर्तन होला ।
हालैका अनुभव हेर्ने हो भने विश्व अर्थतन्त्रको जीवनरेखा मानिने विश्व आपूर्ति शृङखलालाई धक्का र अवरोध सहन सक्षम बनाउन केन्द्रित हुनु बुद्धिमानी हुनेछ । धेरथोर सबै कर्पोरेट बोर्डहरूको एजेन्डामा यो समावेश रहेकै छ । यस अवस्थामा ‘डिरिस्किङ’ पनि एउटा काम नै हो व्यक्तिगत विषय होइन ।
नयाँ राजनीतिक प्रचारवाजीले भने यथार्थभन्दा फरक सन्देश दिएको छ । यसले आन्तरिक कारोबार र लगानीको वातावरण जस्तो भए पनि चीनसँगको व्यापार स्वभावतः जोखिमपूर्ण भएको जनाउँ छ । पश्चिमी नेताहरूमा चीनले व्यापार र अरू आर्थिक सम्पर्कलाई आफूलाई मन नपर्ने देश वा कम्पनीविरुद्ध राजनीतिक दबाब दिन प्रयोग गर्ला भन्ने डर बढ्दै गएको छ । खासै असर नपरे पनि चीनले अस्ट्रेलियाविरुद्ध यस्तो प्रयोग जो गरिसकेको छ ।
भविष्यमा व्यापार गुम्ने डरले विकल्प हुँदाहुँदै पनि अहिले नै व्यापार बन्द गर्नु उपयुक्त हो ? मृत्युको भयले सामान्यतः कसैले पनि आत्महत्या त गर्दैन नि । यस्तै चिनियाँ अधिकारीहरूले पनि तिनका अधिकांश आर्थिक दबाबका प्रयत्न विफल भएको यथार्थ आत्मसात् गर्ने अपेक्षा त अझै गर्न सकिन्छ । चीन सरकारको पुनः राज्य नियन्त्रित अर्थतन्त्रमा फर्कने नीतिका हकमा पनि यही लागु हुन्छ । यो अवधारणाले काम नगर्ने त इतिहासले नै देखाएको छ ।
अर्कातिर पश्चिमी मुलुकहरूले न्यून कार्बन अर्थतन्त्रमा जानका लागि आवश्यक धातु र दुर्लभ खनिजतत्त्व (रियर अर्थ)को आपूर्तिको शृङ्खलामा चीनको नियन्त्रण भएको यथार्थ बिर्सन सक्तैनन् र विश्व बजारमा फोटोभोल्टिक सेल तथा विद्युतीय सवारी साधनको धेरै ठूलो हिस्सा चीनको नियन्त्रणमा छ । तेलजस्तै महत्त्वपूर्ण कच्चा पदार्थ जहाँ पाइए पनि खोज्नुपर्छ । यस्ता ठाउँ सधैँ राजनीतिक दृष्टिबाट उपयुक्त स्थानमै हुन्छ भन्ने त छैन । विविधीकरणका माध्यमबाट आफ्नो आर्थिक कमजोरी र परनिर्भरता कम गर्नु बुद्धिमानी हो तर महत्त्वपूर्ण खनिज पदार्थ प्राकृतिकरूपमा नभएका ठाउँमा खोजेर त पाइँदैन ।
प्रमुख हरित प्रविधिमा मुख्य खेलाडीका रूपमा चीनले खडा गरेको चुनौतीको सामना गर्ने एउटामात्रै उपाय छ त्यो हो युरोपियन र अमेरिकी कम्पनीहरूले चिनियाँ कम्पनीसँग प्।तिस्पर्धा गर्न सक्नुपर्छ । त्यति गर्न नसक्दासम्म सस्तो र राम्रो चिनियाँ उत्पादनलाई उपेक्षा गर्नुको कुनै अर्थ हुँदैन । त्यसो गरिएमा युरोपियन र अमेरिकी कम्पनीलाई चीनलाई भेट्न कठिन हुनेछ र अन्ततः ऊर्जाको परिवर्तनमा ढिलााइ हुनेछ ।
उता चिनियाँ अधिकारीहरूले भने डिरिस्किङ र डिकपलिङमा खासै फरक नदेखेको बताएका छन् । उनीहरूको तर्कमा दम पनि छ । पश्चिमी रणनीतिकारहरूले त्यसको अर्थ के हो र के होइन भन्ने स्पष्ट नपारी नयाँ नयाँ शब्दमात्रै प्रयोग गरिरहने हो भने त्यसबाट लाभभन्दा हानि नै बढी हुनेछ ।
बढ्दो तनावले कसैको पनि हित गर्दैन । सम्बन्ध विच्छेद हुन रोक्नुपर्नेमा सबै सहमतै छन् । अबको काम हाम्रो आर्थिक सम्भावनामा क्षति हुनुभन्दा पहिले जोखिम न्यूनीकरणको अवधारणाको जोखिम कम गर्नु हुनुपर्छ ।
(स्विडेनका पूर्वप्रधानमन्त्री)
Copyright: Project Syndicate, 2023.