काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहविरुद्धको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय वा अरू कुनै आदेश हुन सक्छ ।
गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा बालेनविरुद्ध रिट निवेदन दायर गरेकी थिइन् ।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । तर, मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।
बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबीसहित अधिवक्ता झा सर्वोच्च पुगेकी थिइन् ।
आज प्रारम्भिक सुनुवाइपछि श्रेष्ठको इजलासबाट कारण देखाऊ आदेश जारी भएको हो ।