site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतका कारण नेपालमा डुबान : नेपाल र निधिको प्रश्न– किन गरिएन छलफल ?
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा डुबानसम्बन्धी समस्या समाधानको विषय प्राथमिकतामा नपरेको भन्दै सत्तारूढ दलका नेताहरूले असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले असन्तुष्टि जनाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भारतले ठूलो बाँध बाँधेका कारण नेपाली भूमिमा डुबानको समस्या भएको उल्लेख गरे । समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गम्भीरताका साथ कुरा नभएको गुनासो उनले गरे ।

उनले डुबानबाट नेपालले ठूलो क्षति व्यहोर्नु परिरहेको बताए । त्यसबारे नेपाल सरकारले भारतसँग गम्भीरतापूर्वक कुरा राख्नुपर्नेमा उनले जोड दिए ।

“यो बाढी, डुबानको समस्या सीमा क्षेत्रमा धेरै ठूलो छ । सीमापारि अग्लो बाँध बनाइएको छ । त्यसो हुनाले तराईका ती भूभागहरू डुबानमा पर्छन् । र, मेरै जिल्ला रौतहट पनि त्यही डुबानको सिकार हुने गरेको छ । त्यस्ता विषयलाई कति गम्भीरताका साथ उठाइएको छ ? पोहोर सालको बाढीको बारेमा मैले चर्चा गर्नुपर्छ,” उनले भने, “बाढी आयो, ठूलै नेपालको भूभाग जलमग्न हुन थालेपछि मान्छेले बाँध काट्न खोजे । पारिबाट सुरक्षाकर्मी आएर ती मान्छेहरूलाई घेरे । तर पानी, आफैँले नै बाँध भत्काइसकेको हुनाले त्यो पानीको निकास भयो । र, एक ढंगले भन्ने हो भने डुबानबाट हुने धेरै क्षति कम भयो । यस्ता विषयहरूमा अलि गम्भीरताका साथ कुरा भएन । यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।”

बैठकमा नेता निधिले पनि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा डुबानको समस्या समाधानको विषयले प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सो समस्या समाधानका लागि दुवै मुलुकबीच भएको सन्धि, सम्झौता र अन्तर्राष्ट्रिय कानुनको ख्याल गर्नुपर्ने आवश्यकता औँल्याए ।

भारतले रोडका नाममा बाँध बनाउने र त्यसको मारमा नेपाल पर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । नेता निधिले त्यसको अन्त्यका लागि सरकारले भारतसँग गम्भीरतापूर्वक छलफल अघि बढाउनुपर्नेमा जोड दिए ।

“डुबानको समस्या समाधानका लागि नेपालले भारतसँग गम्भीर कुरा गर्नैपर्दछ । जहिले पनि हामीले यो कुरा उठाउँछौँ । तर, यसले प्राथमिकता पाइरहेको हुँदैन । सम्बन्ध सुधारका कुराहरूमा ध्यान हुन्छ, अरूतिरै ध्यानै हुँदैन । त्यसकारणले यो डुबानको समस्याको बारेमा भारतले सीमा क्षेत्रमा जुन सन्धिसम्झौता छ, अन्तर्राष्ट्रिय जुन नियमन छ, त्यसको आधारमा सीमा क्षेत्रमा बाँध बनाउँदाखेरि दुवै देशले एकापसमा सहमति र सम्झौता गर्नुपर्दछ भन्ने छ,” उनले भने, “अब भारतमा अरू कुरा नहुँदाखेरि हाई रेन्जमा रोडहरू बनाइदियो । नाम त रोड हो, तर त्यो एक किसिमको बाँध हो । हेडिङचाहिँ रोडको तर त्यो एक किसिमको बाँध हो । त्यो बाँधले गर्दाखेरि हाम्रो वाटरको जुन नेचुरल फ्लो हुन्छ, त्यसको विषयमा दुई देशबीच छलफल भएजस्तो लाग्दैन । मधेस प्रदेशका प्रायः सबै जिल्लाहरू डुबानमा परिरहेको हुन्छ । यसमा ठूलो क्षति हुन्छ । यसबारेमा गम्भीर रूपमा कुराकानी भएको कहिल्यै पनि पाइएन । नेपालमा परराष्ट्र मन्त्रालयले अरू कुराहरू गर्नुहुन्छ, अरू मन्त्रालयहरूले अरू विषयहरूमा उठान गर्छन् । तर, नेपाल सरकारकै तर्फबाट यो विषयमा उठान भएको पाउँदिनँ । यस्ता विषयमा नेपालले गम्भीर ढंगले कुरा उठाइराखेको छैन । किन ?”

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro