काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनलेले उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन थालेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयपछि चलाउनेले अनशन थालेका हुन् ।
उपप्राध्यापक चलाउनेले सरकारको मुद्दा फिर्ताको निर्णय नै खारेज हुनुपर्ने, अदालतमाथिको हस्ताक्षेप बन्द गर्नुपर्ने, आफूलाई न्याय दिनुपर्ने र नागरिकलाई अन्यायबाट प्रताडित बनाउन बन्द गर्नुपर्ने माग राखेका छन् ।
मुद्दा फिर्ताको निर्णयविरुद्ध काठमाडौं जिल्ला अदालत परिसरभित्र प्रवेश गरेर नाराबाजी गरेपछि आज उनीसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीबाट छुटेसँगै उनले उपकुलपति कार्यालय पुगेर अनशन थालेका हुन् ।
'सरकारले मुद्दा फिर्ता लिँदा अदालतविरुद्ध किन नाराजाबी गरेको ?' भन्ने प्रश्नमा उनले अदालत पनि यसमा दोषी भएको बताए ।
“मसँग के विकल्प थियो भन्नुस् त । खासमा न्याय अदालतले पनि दिएको थिएन,” चलाउनेले भने, “भोलि पेसी तोकिएको छ, अघिल्लो दिन मुद्दा फिर्ता हुन्छ । म पेसी चढ्छ कि भनेर पनि गएको थिएँ । अदालतले शक्तिको आडमा फिर्ता लिएपछि मैले अन्याय भएको कुरा बाहिर ल्याउनु थियो । त्यसैले अदालत गएर विरोध गरेको हुँ ।”
उनले अदालतले पनि समयमा न्याय नदिएका कारण आफू अन्यायमा परेको बताए ।
यस्तो छ चलाउनेको अपिल
यो देशको मत्स्य न्याय
प्रेम चलाउने
प्रीयजनहरू, म माथिको सङ्गठित अपराध घाम जत्तिकै छर्लङ्ग घटना हो । ब्रड डे लाइटमा उनीहरू पेशेबर अपराधीसहित मलाइ मार्न आएका थिए । न्यायका निम्ति म अदालतको ढोका ढकढकाइ रहेको थिएँ । मेरा आँखा देशको न्यायलयतर्फ थिए । यही असार ५ गते जिल्लामा मेरो अन्तिम सुनुवाइको पेसी थियो ।
मलाइ न्याय दिनुको साटो अदालतलाइ समेत बाइपास गरेर सुनुवाइ हुनुभन्दा दुई दिन अघि सरकारले मुद्दा फिर्ताको निर्णय लियो । क्याबिनेटबाट मुद्दा फिर्ता लिएर सिङ्गो राज्य मेरा विरुद्ध लाग्यो । जे गर्थ्यो अदालतले गर्थ्यो। अदालतमा विचाराधीन हरेक मुद्दा यसरी नै सरकारले फिर्ता लैजाने हो भने अदालत चाहियो किन ? यो सरासर अपराधको राजनीतीकरण र राजनितिको अपराधीकरण हो । दण्डहीनता बढाउने खेल हो । अबदेखि कुनै अपराधिले कुनै अमुक पार्टिको ब्यानरमा कसैको हत्या गरे पनि उस्लाइ केहि नहुने भयो । सिङ्गो राज्य मेरा बिरुद्घ लागेपछि मेरा अघि केहि बिकल्प बाँकि रहेन । सिबाय मर्न । प्रीयजनहरू म आमरण अनसन थाल्दैछु । म गुहार माग्न सडकमा आउँदैछु । म मरेपनि केहि छैन । मात्र मैले भोगेको अन्यायको महाभारतको बारेमा छलफल होस । यो देशको मत्स्य न्यायको बारेमा चियोचर्चो होस ।
शक्ति सन्तुलनको महत्वपूर्ण निकायलाइ कस्तो बनाइदैछ भन्ने बारेमा छलफल होस । मेरो लडाइ हजारौ प्रेम बहादुर चलाउनेको लडाइ हो । आज म जहाँ छु, यो देशमा शिक्षकको ठाउँ यहि रहेछ । बिश्वबिद्यालयमा अपराध बढेको छ । अपराधि गिरोह ले शिक्षक, कर्मचारिको निरिहताको फाइदा उठाएका छन । शिक्षकहरू बोल्न सकेका छैनन । म किन पनि यो लडाइ लडिरहेको छु भने मलाइ भन्नु छ तिमिले ठाने जस्तो शिक्षकहरू कायर हुँदैनन । पर्यो भने आफुले वा देशको कुनै नागरिकले भोगेको अन्यायका बिरुद्घमा ज्यानको बाजि थापेर पनि लड्छन ।
अभियुक्त ७ जनामध्य ३ जना त भागिसकेका छन । सातै जनाले अददालतको तारेख गुजारेर बसेका छन । उनिहरू सबैजना पटक पटक कहिले प्रहरीको कष्टडि त कहिले अदालतको आदेशबाट भागिहिडेका ब्यक्ति हुन । यस्ताको मुद्दा कसरि फिर्ता लिइयो ? बिश्वबिद्यालयमा दण्डहिनता कम भयो भनेर हो ? कुलपति ज्यूले प्राध्यापक मारिनु पर्छ, पिटिनु पर्छ, तिमि सधै भय र त्रासमा बाँच्नु पर्छ भन्न खोज्नु भएको हो ? पूर्बाञ्चल बिश्वबिद्यालयमा भएको अस्ति भर्खरको घटनाको खाटा पनि बस्न पाएको छैन । यस्ता घटनालाइ निरन्तरता दिइराख्नका निम्ति हो ? बालकृष्ण खाँण, कृष्ण सिटौलाले लाख कोशिस गरि मन्त्रि परिषदमा लान नसकेको यो मुद्दा सजिलै मन्त्रिपरिषदबाट फिर्ता लिने दुस्साहस गरियो ।
अहिलेसम्म म धैर्य भएर पर्खेकै थिए । अब मेरा सबैबाट बन्द गरेपछि आज यहिंबाट सत्याग्रह शुरु गर्दैछु । अदालतमा बिचाराधिन मुद्दा शक्तिको आडमा फिर्ता लिने कुरा मलाइ स्विकार्य छैन । हेर्नुस्त, यो देशको बिधिको शासन र लोकतन्त्र । अदालतलाइ, यो बेन्चलाइ अचानो बनाइदैछ । मानवताको हत्या गर्न । सत्य, न्याय, सदाचार, नैतिकता, इमान्दारिताको हत्या गरिदैंछ । मलाइ राज्य संयन्त्रले न्याय दिन सकेन । यो देश गुण्डा, अपराधिको देश रहेछ । मलाइ यो अपराधिको देशमा बाँच्नु छैन । राज्यले मलाइ मलाइ थप अन्याय गर्यो ।