site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारी सञ्चारमाध्यमबारे सुवालको प्रश्न : खाली सरकार र मन्त्रीको मात्रै आउने, अरु कोही छैन यहाँ ?

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चारमाध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सञ्चारमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यमहरु गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरुको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

Argakhachi Cement Island Ad

सांसद सुवालले खुमलटारस्थित रेडियो नेपालको ५०औं रोपनी जग्गा बिक्री गरेर करोडौँ कमिसन खाने काम भएको जिकिर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

“खाली सरकारी पार्टीको, मन्त्रीहरुको मात्रै आउने, अरु कोही छैन यहाँ ? १३ वटा दल छन् संसद्मा । अरुको केही सुन्नै नपाउने । सञ्चारमन्त्रीज्यूले सबै चिज सरकारको मात्रै प्रचार गर्नु भनेर निर्देशन दिन मिल्छ ?,” उनले भने, “जनताको संस्था हो नि । अर्को, रेडियो नेपालको खुमलटारस्थित ५०औँ रोपनी जग्गा बिक्री गरेर करोडौँ कमिसन खाने को–को हो ? कारबाही हुनु प¥यो ।”

सांसद सुवालले विज्ञापनहरुको प्रकाशन तथा प्रशारण अनिवार्य रुपमा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्