site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाजवादी मोर्चा : खटपट भएर होइन, यस्तो छ नेताहरूको प्रतिक्रिया
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताएका हुन् । उनले त्यो वैचारिक मोर्चा हुने उल्लेख गरे ।

निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वाभाविक भएको उनले बताए । उनले समाजवादको दिशामा अघि बढ्ने शक्तिहरू मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरूलाई समेट्दै जाने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादको दिशामा जान चाहने सबै शक्तिहरूलाई मिलाएर लानुपर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौँ । त्यसमा सहमत भएका पक्षहरूलाई हामी समेट्दै जानेछौँ । अहिले प्रारम्भिक चरणमा जो जो सहमत हुनुभएको छ, उहाँहरू आउनुहुनेछ । देशभक्तहरू एक ठाउँमा हुनु के वैचारिक मोर्चा हो कि होइन ? लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? वाम शक्तिहरू एक ठाउँमा हुनु, समाजवादी शक्तिहरू एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? अर्थात्, निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध भएर जाने कुरालाई स्वाभाविक ठान्नुपर्दछ । र, खुसी हुनुपर्दछ,” उनले भने, “त्यसैले हामीले समाजवादी शक्तिहरूलाई एक ठाउँमा गोलबद्ध गरिरहेका छौँ । जम्मा गरेका छौँ । पहल लिएका छौँ । सक्रियता देखाएका छौँ । यसबाट चिन्तित हुनुपर्ने, आफ्नोविरुद्धमा कदम चालेको नकारात्मक रूपमा लिनुपर्ने कसैले पनि आवश्यकता छैन ।”

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरूका बीचमा मोर्चा बनाउन पाइने टिप्पणी गरे । उनले यति चाँडै अर्को मोर्चा किन बनाउनुपर्‍यो भनी प्रश्न समेत गरे ।

Global Ime bank

उनले सत्तासाझेदार दलहरूसँग आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने सर्तमा भएको भन्दै त्यो कायमै रहने बताए ।

“उहाँहरूसँग हाम्रो गठबन्धन लोकतन्त्र जोगाउने सर्तमा हो । यदि, लोकतन्त्र नभएको भए अहिले तपाईंले र मैले यति कुरा गर्न सक्थ्यौँ ? लोकतन्त्रको पक्षमा उहाँहरू छउन्जेली हाम्रो सहकार्य हुन्छ,” उनले भने, “मतभेद कैयौँ छ ।  लोकतन्त्र, गणतन्त्र जोगाउने उहाँहरूको जहिलेसम्म नीति रहन्छ, त्यतिखेर हाम्रो सहकार्य चल्छ ।”

एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले देशलाई स्थिर रूपमा अगाडि बढाउनका लागि राजनीतिक दलहरूका बीचमा एकता आवश्यक भएकाले मोर्चा बनाउन लागिएको बताए । उनले कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्ने उद्देश्य रहेको भन्दै मोर्चा त्यसैको पहिलो खुड्किलो भएको जानकारी दिए ।

“मुलुकलाई स्थिर रूपमा अगाडि बढाउनको लागि सकभर जति सकिन्छ, धेरै राजनीतिक दलहरूको बीचमा एकता गर्ने, एकता गर्नका लागि मोर्चा बनाउनुपर्ने आवश्यकता भयो र मोर्चाको तयारी गरिरहेका छौँ । दोस्रो कुरा, मुलुकलाई सैद्धान्तिक, वैचारिक रूपमा अगाडि बढाउनुपर्छ,” उनले भने, “नेपालको कम्युनिस्ट पार्टी, आन्दोलनलाई एकीकृत रूपमा अगाडि बढाउने मनसायका साथ मोर्चा पहिलो खुड्किलोको रूपमा अगाडि बढाएका छौँ । यसलाई हामी पार्टी एकताको प्रक्रियासम्म पुर्‍याउने गरी अगाडि बढेका छौँ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले भने सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउनका लागि मात्र मोर्चा बनाउन लागिएको टिप्पणी गरे । उनले सो मोर्चाले मुलुकको राजनीतिलाई उपयुक्त दिशा दिन भूमिका खेल्न नसक्ने जिकिर गरे ।

सत्ता गठबन्धनभित्र आफ्नो पक्षलाई बलियो बनाउने मात्र समाजवादी मोर्चाको उद्देश्य रहेको उनको भनाइ छ । “म त्यसले आफ्नो औचित्य, राजनीतिक, सैद्धान्तिक रूपमा पुष्टि गर्छ भन्ने त देखिरहेको छैन, तर त्यसले सत्ताको संरचनाभित्र आफ्नो औचित्य पुष्टि गर्न सक्छ । सबै मिल्दाखेरि एउटा स्ट्रेन्थ त बन्छ । सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ,” उनले भने, “त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला, तर त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भूमिका खेल्छ भन्ने सम्भावनाचाहिँ अहिलेसम्म मैले देखेको छैन । आफ्नो पक्षलाई सत्ता गठबन्धनभित्र बलियो बनाउने नै उहाँहरूको तत्कालिक उद्देश्य देखिन्छ ।”

नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता भएका राजनीतिक दलहरूका बीचमा मोर्चा बन्न लागेको बताए । देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक रहेको उनले उल्लेख गरे ।

उनले सत्तासाझेदार दलहरूका बीचमा कुनै खटपट नभएको पनि स्पष्ट पारे । “क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्ने र संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता भएका राजनीतिक दल, विभिन्न पात्र र प्रवृत्तिहरूको बीचमा हामीले समाजवादी मोर्चा बनाउन लागेका छौँ । यो समाजवादी मोर्चा बनाउने प्रश्न राजनीतिक प्रश्न हो । यसको सरकार सञ्चालनसँग, सरकारलाई सहयोग गर्नका लागि एउटा वातावरण त बन्छ, तर अहिले यो तत्काल सत्तासाझेदार दलका बीचमा कुनै समस्या पैदा भएर त्यसपछि समाजवादी मोर्चा बनाउन खोजिएको होइन । यो विशेष गरी विचारधारात्मक राजनीतिक प्रश्न पनि हो,” उनले भने, “विचारधारात्मक हिसाबले, राजनीतिक, कार्यनीतिक हिसाबले हामी एक ठाउँमा उभिन सक्यौँ । मुलुकको विकास, समृद्धिको नेतृत्व गर्ने, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर जनताको इच्छा, आंकाक्षा, राष्ट्रिय आकांक्षा प्राप्त गर्न सक्ने राजनीतिक दल, पात्र र प्रवृत्तिहरूको केन्द्रीकरणको उद्देश्यले समाजवादी मोर्चा निर्माण गर्न लागिएको हो । सरकारमा कुनै समस्या छैन । सत्तासाझेदार दलका बीचमा कहीँ गडबड भएर, खटपट भएर यो मोर्चा बनाउन लागिएको होइन ।”

एमालेका सांसद ठाकुरप्रसाद गैरेले मोर्चालाई नफल्ने खेती भनी टिप्पणी गरे । यो मोर्चाले कुनै लाभ दिन नसक्ने उनले उल्लेख गरे ।

उनले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरू समाजवादी आन्दोलनकै पक्षमा नभएका जिकिर गरे । समाजलाई अगाडि बढाउन कुनै ठोस कार्यक्रम र योजना नहुनेहरूको मोर्चाले केही काम गर्न नसक्ने उनको धारणा छ ।

“समाजवादी मोर्चा भनिँदै छ, यो नफल्ने खेती, बिरुवा नअंकुराउने खेती हो । यसले कुनै लाभ दिन सक्दैन । उहाँहरूले जे आवरणमा, जे ब्यानरमा हामी गर्छौँ भनेर कोसिस गर्दै हुनुहुन्छ, जबकि उहाँहरू समाजवादी आन्दोलनको पक्षमा हुनु हुन्न,” उनले भने, “उहाँहरू कम्युनिस्ट आन्दोलन बलियो बनाउने उहाँहरूको स्पष्ट दृष्टिकोण छैन । उहाँहरूसँग कुनै समाजलाई अगाडि बढाउनको लागि कुनै ठोस कार्यक्रम र योजनाहरू छैनन् ।”

सत्तारूढ दलहरूले समय–समयमा वाम लोकतान्त्रिक गठबन्धन र समाजवादी मोर्चा बनाउँदा आम जनताले ठिक पार्टी एमाले नै रहेछ भन्ने महसुस गर्न अवसर पाउने उनको भनाइ थियो ।

भोलि काठमाडौंमा कार्यक्रम गरेर चार दल सम्मिलित समाजवादी मोर्चाको घोषणा गरिँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC