केदारभक्त माथेमा नेपाली कांग्रेसका नेता वा कार्यकर्ता हैनन् । सैद्धान्तिक दृष्टिले उदार लोकतन्त्रवादी भन्न मिल्ने माथेमा नेपाली कांग्रेसको सरकार भएका बेला एकपटक त्रिभुवन विश्वविद्यालयको उपकुलपति र एकपटक जापानको राजदूत भएका थिए । लोकतन्त्रवादी भएकाले उनको झुकाव, संगत वा समर्थनसमेत कांग्रेसलाई हुनसक्छ । यसैका आधारमा उनलाई कांग्रेस समर्थक भन्नु पनि न्यायोचित हुँदैन ।
विद्रोह र मानवीय उदात्तता वामपन्थी चरित्र हो भने विचार र व्यवहारका दृष्टिले यी विद्रोही स्वभावका विद्वान् सक्कली वामपन्थी हुन् । संसारभरको उदाहरण हेर्ने हो भने वामपन्थी त डा. गोविन्द केसी हुन् जो स्वास्थ्य शिक्षाको मूल दायित्व राज्यको हो भन्ने सिद्ध गर्न ज्यानको बाजी थापेर लागेका छन् । डा. केसी वामपन्थी हुन् भने शिक्षाको कालोबजार गर्न नदिने विधेयक पारित हुन नदिनेहरू कसरी वामपन्थी हुनसक्छन् ?
यद्यपि, राजनीतिमा वामपन्थ वा दक्षिणपन्थ भ्रममात्रै हो । राजनीतिक सिद्धान्त कि उदार हुन्छ कि अनुदार । व्यक्ति सबैको केन्द्रमा हुन्छ भन्ने सिद्धान्त उदारवादी हो र व्यक्तिइतर राष्ट्र, समाज, पुँजी वा अरू केहीमा केन्द्रित सिद्धान्त अनुदारवादी हो । यसैले अहिले कम्युनिस्टहरू अनुदारवादी हुन् । नेपाली कांग्रेस पनि उदारवादी देखिएको छैन । पुँजीवाद यी सबैको साझा भएको छ ।
फ्रान्समा लोकतन्त्रको विकासमा क्रममा देखापरेको दाहिने र देब्रे विभाजनले बिस्तारै संद्धान्तिकरूप लियो । तर, राजनीति गर्नेहरूले शब्दको चरम दुरुपयोग गर्दा अर्थ र अनर्थ दुवैको विकास भयो । बर्मामा सैनिक विद्रोह गरेर लोकतन्त्र समाप्त गरी सत्ता हत्याउने जर्नेलहरूले हुर्काएको पार्टीको नाम सोसलिस्ट थियो यसले आफूलाई वामपन्थी भन्थ्यो । तीन पुस्ताले सर्वसत्तावादी शासन चलाएको उत्तर कोरियाको नामै ’डेमोक्रेटिक पिपल्स रिपब्लिक’ । धेरै चरम दक्षिणपन्थी स्वभावका शासकहरूले वामपन्थी ध्वनित हुने नाम राखेका छन् ।
अमेरिकामा वामपन्थी भन्दा जे बुझिन्छ युरोपमा त्यही बुझिँदैन । अमेरिकामा डेमोक्रेटिक पार्टी उदारवादी र वामपन्थी दुवै मानिन्छ । बेलायतको सामाजिक कल्याणका सबै कामको थालनी ’लिबरल’हरूले गरेका हुन् । हालको लिबरल डेमोक्रेटिक पार्टी सोसलिस्ट र लिवरल मिलेर बनेको हो । यसका नीतिहरू समाजवादी भनिने लेबर पार्टीको भन्दा धेरै वामपन्थी छन् । युरोपमा बिस्तारै प्रभाव बढाउँदै गएका ग्रिनहरू पनि वामपन्थीकै खेमामा पर्छन् । यसैले वामपन्थी भन्ने शब्दको प्रयोगमा निकै सजग हुनुपर्छ । भारतको राष्ट्रिय कांग्रेस पनि वामपन्थी पार्टी हुनेगथ्र्यो । जयप्रकाश नारायणका चेलाहरूको पार्टी पनि वामपन्थी खेमाकै हो । कम्युनिस्टहरूलाई त झन् वामपन्थी भनिने रहरै छ ।
शिक्षा वा स्वास्थ्यलाई व्यापार बनाएर माफियाको चंगुलमा राख्न सिंगो पार्टी संयन्त्र प्रयोग गरेर षड्यन्त्र गर्नेहरूको गठबन्धनलाई ’वामपन्थी’ भन्दा यस शब्दको अर्थोपकर्ष हुन्छ । अर्थात् अर्थ खुम्चन्छ ।
कम्युनिस्ट दीक्षामा हुर्केका दुई कम्युनिस्ट पार्टी एक हुृँदा पनि त्यसलाई ’वामपन्थी एकता’ भन्दैछन् । ’समाजवादी क्रान्ति’ गर्न ’कम्युनिस्ट केन्द्र’ निर्माण गर्ने तिनको घोषित उद्देश्य नै हो । यसैले यिनीहरू वामपन्थी वा लोकतान्त्रिक भनेर भ्रममा नपरौँ, भ्रम नछरौँ ।
कुन दल वा उमेदवारलाई मत लिने हो त्यसको छनोट जनताले गर्ने हो । उनीहरूले स्वतन्त्रतापूर्वक छनोट गर्न पाउनुपर्छ । कम्युनिस्टहरूलाई मत दिने हो भने जनताले कम्युनिस्टै भनेर दिऊन् न । नेपालको संविधानमा कम्युनिस्ट वा कांग्रेसलाई मत दिनुपर्छ वा दिनु हुँदैन भन्ने त कतै लेखिएको छ छैन नि ! यसैले भ्रममा नपरी ’कम्युनिस्ट’ र ’गैरकम्युनिस्ट’ गठबन्धन लेख्नु शब्दको अर्थ र सन्दर्भ दुवै दृष्टिले सही हुन्छ ।
कम्तीमा सञ्चार माध्यमबाट त जनतालाई भ्रममा पार्ने काम नगरौँ !