site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीमाथि ‘आक्रमण’ गरेपछि गोली प्रहार, ब्राउनसुगर बोकेर आएका थिए काठमाडौं
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अवैध लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन) १०० ग्रामसहित प्रहरीले आइतबार अपराह्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय हेमन्तकुमार भगत छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकबाट नियन्त्रणमा लिएको हो । काठमाडौं महानगरपालिका–९, शम्भुमार्ग क्षेत्रबाट भगतलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।

“ती व्यक्ति लागुऔषध लिएर आउँदै छन् भन्ने सूचना हामीलाई पहिल्यै थियो,” उनले बाह्रखरीसित भने, “त्यसैले हाम्रो टोलीले पिछा गरेको थियो ।”

Argakhachi Cement Island Ad

बेच्ने उद्देश्यले नै उक्त ब्राउनसुगर ल्याएको देखिएको उनले बताए ।

पक्राउ परेका भगतले सुनसरीको धरानस्थित भानुचोकमा तरकारी बेच्दै आएका थिए । उनी ब्राउनसुगर लिएर काठमाडौं आउँदै गरेको सूचना पाएपछि ब्युरोको टोली सतर्क भएको थियो ।

उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउन्ड गोली प्रहार गर्‍यो । एसपी जोशीका अनुसार ब्युरोको टोलीले चेकजाँच गर्न खोज्दा भगतले प्रहरीमाथि हातपात गरेका थिए ।

पिछा गर्दै प्रहरी शम्भुमार्गमा उनी भएनजिक पुगेको थियो । प्रहरीले समातेर आफ्नो परिचय दिनेबित्तिकै भगतले भाग्ने कोसिस गरेको एसपी जोशीले बताए ।

“हाम्रो सईले आफ्नो परिचय दिनेबित्तिक्कै भाग्न खोज्यो । त्यसपछि उसले सईको अन्डकोषमा समात्यो । संवेदनशील अंगमा समातेपछि सईलाई अप्ठ्यारो भयो र लड्नुभयो, ऊ पनि लड्यो,” उनले भने ।

सोही क्रममा भगतले प्रहरीको पेस्तोल खोस्ने प्रयास समेत गरेको उनले बताए । “त्यसैक्रममा उसले पेस्तोल देख्यो र खोस्न खोज्यो, भाग्न खोज्यो,” उनले भने, “त्यसपछि एक राउन्ड गोली प्रहार गरेर समातेका हौँ ।”

भगतलाई घुँडामुनि गोली हानेर नियन्त्रणमा लिइएको थियो । त्यसलगत्तै उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगियो । त्यहाँबाट मनमोहन अस्पतालमा लगेर थप उपचार भइरहेको उनले जानकारी दिए ।

भगतको स्वास्थ्य अवस्था जटिल नरहेको उनको भनाइ छ । “घुँडामुनि गोली हानिएको हो । मनमोहन अस्पतालमा उपचार भइरहेको छ,” उनले भने ।

भगतको साथबाट बरामद गरिएको १०० ग्राम ब्राउनसुगरको अवैध बजार मूल्य करिब ११ लाख रुपैयाँ हुने उनले बताए । उनी यसअघि पनि यस्तो कार्यमा संलग्न भएको हुन सक्ने आफूहरूको अनुमान रहेको एसपी जोशीले बताए ।

भगतको उपचार र थप अनुसन्धान समानान्तर रूपमा अघि बढाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्