site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायसँग अर्थ मन्त्रालयमा छलफल

काठमाडौं । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत् परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसँग छलफल भएको छ ।

अर्थ मन्त्रालयले १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फन्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फन्ड, जर्मन, साउदी विकास फन्डलगायतका दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेनको पनि सहभागिता रहेको थियो ।

ओपनिङ र प्राविधिक गरी दुई सेसनमा भएको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए । “हामीले अरूण तेश्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौं । विश्व बैंक पनि लगानी गर्न तयार थियो । तर विविध कारणले अरूण तेस्रोमा लगानी हुन सकेन,” मन्त्री महतले भने, “अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ ।”

मन्त्री महतले जलाशययुक्त दूधकोसी जलविद्युत् परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरे ।

“अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको छ,” महतले भने, “त्यसैले हामीलाई धेरै जलाशययुक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ । हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौँ । त्यसैले जलविद्युत् उत्पादन र निर्यातलाई बढाएर ब्यापार घाटा घटाउने योजनामा हामी छौं ।”

त्यसैगरी छलफलमा उर्जा मन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत् उत्पादन र यसको प्रभावकाबारेमा चर्चा गर्नुभएको थियो ।

छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, जाइका फन्ड, साउदी फन्डका प्रतिनिधिहरुले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जर्मनी सरकारका प्रतिनिधिले भने परियोजनामा हुने प्रगतिका आधारमा ट्रान्समिसन लाइनमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताए ।

अपर जलविद्युत् आयोजनाले गरेको अध्ययनअनुसार परियोजनाको काम सम्पन्न गर्न एक अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ८५ करोड डलर आन्तरिक स्रोतबाट जुटाउने योजना रहेको छ ।

परियोजना निर्माणका लागि गर्नुपर्ने पूर्वतयारीका जग्गा अधिग्रहण, रूख कटानलगायतका धेरैजसो कामहरु सम्पन्न भइसकेका छन् । सन् २०२५ जुलाईबाट परियोजना निर्माणको काम सुरू गर्ने गरी काम अगाडि बढिरहेको छ । अब प्रत्येक इच्छुक दातृपक्षसँग वित्तीय योजना र ऋणका शर्त तथा ब्याजदरका बारेमा आन्तरिक छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro