
काठमाडौं । नेपालका विभिन्न ट्राभल एजेन्सीहरुको सिस्टम ह्याक गरी तेस्रो मुलुकबाट अर्काे देश जाने टिकट काटिएका छन् । पछिल्लो १५ दिनमा मात्रै आफ्नो सिस्टम ह्याक गरी दशौँ लाखका टिकट काटिएको भन्दै तीन कम्पनीले उजुरी दिएका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले एउटै कम्पनीबाट झन्डै ५० लाख बढीका टिकट काटिएको उजुरी आएको बताएका छन् ।
यसअघि, सानातिना यस्ता घटना दर्ता भए पनि यसपटक ठूलो रकमका टिकट काटिएको उनले बताए । सचेतनाका लागि क्षति कम होस् भन्ने हिसाबले यस विषयमा पत्राचारसमेत गराएको उनले बताए ।
यो आक्रमण देशभित्रबाट भएको हो या बाहिरबाट भएको हो भन्न नसकिने स्थिति रहेको उनको भनाइ छ । "अनुसन्धान भर्खर सुरु भएको छ । इन्टरपोलसँग पनि सहकार्य गर्नुपर्छ सबैतर्फबाट प्रमाण जुटिसकेपछि बल्ल के भएको हो भन्ने थाहा हुन्छ," बाह्रखरीसँग उनले भने ।
यो आर्थिक वर्षभरिमा यसरी सिस्टम ह्याक गरी टिकट काटिएको सातवटा उजुरी आएको उनले बताएका छन् ।
"पछिल्लो १५ दिनमा मात्रै तीनवटा उजुरी परेको छ । पहिलाका उजुरीमा क्षति सामान्य थियो अहिले एउटैको क्षति लाखौँमा छ । ठूलो घटना हो," उनले भने ।
यसरी भयो ठगी गर्नका लागि ह्याक
ट्राभल एजेन्सीहरुले टिकट काट्न प्रयोग गर्ने सिस्टम सफ्टवेयरमा ह्याकरले कुनै किसिमले आफ्नो पहुँच बनाएपछि घटना घटेको हो ।
विभिन्न देशका ट्राभल एजेन्सीहरुको अन्तर्राष्ट्रिय संगठन आयटा रहेको छ । यसका सदस्यहरुले एउटै किसिमको सफ्टेवयर प्रयोग गर्ने गरेका छन् । त्यसै सफ्टवेयरमा पहुँच बनाएका ह्याकरले नेपालका ट्राभल एजेन्सीहरुलाई निशाना बनाएको हो ।
आफ्नोबाट ३० भन्दा बढी टिकट काटिएका एक ट्राभल एजेन्सीका कर्मचारीले ह्याकरहरुले आपतकालीन र रातिको समयका टिकट काटेको बताएका छन् । नेपालको एक ट्राभल एजेन्सीले आफूबाट पश्चिम अफ्रिकी मुलुक सेनेगलबाट मेक्सिको जाने यात्रुका टिकट काटिएको बताएको छ ।
"राति २ बजेको टिकट इस्यू भएका छन् । टिकट काट्ने व्यक्ति उडिसकेको छ । हाम्रो सिस्टममा पहुँच बनाएर टिकट इस्यू गर्ने ह्याकरले पैसा उठाइसकेको छ," उक्त एजेन्सीका एक कर्मचारीनले भने, "यसरी भएको आक्रमणको समाधानबारे सबैपक्षसँग मिलेर लागेका छौं ।"
यी सबै टिकट शनिबार काटिएको र आइतबार आफुहरुले सिस्टम चलाउँदा थाहा पाएको एजेन्सीको भनाइ छ ।
विभिन्न देशले प्रयोग गर्ने एउटै विदेशी सिस्टम हुँदा ह्याकरहरुले त्यसमा कमजोरी फेला पार्दै आफ्नो पहुँच पुर्याएको हुनसक्ने देखिन्छ ।
आयटाअन्तर्गतका ट्राभल एजेन्सीहरुलाई यसले सप्ताहिकरुपमा बिल पठाएर भुक्तानी माग्छ । तर, आफूले नकाटेकै टिकटहरुको बिल आएपछि ट्राभल एजेन्सीहरु ठग ह्याकरको निशानामा परेको खुलेको हो ।