
काठमाडौं । एकवर्षभन्दा कम अवधिको ऋणपत्रको ब्याजदर ९ प्रतिशतभन्दा तल झरेको छ । राष्ट्र बैंकले बैंकदरलाई साढे ७ प्रतिशतमा झार्ने निर्णय मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि गरेको थियो ।
बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै गएपछि ऋणपत्रको ब्याजदर घट्दो क्रममा गएको हो । बैंकिङ क्षेत्रमा देखिएको तरलता सहजको पहिलो फाइदा सरकारले उठाएको हो । सर्वसाधारणले लिएको ऋणमा भने सो अनुसारको फाइदा उठ्न बाँकी छ ।
सरकारले चालु आर्थिक वर्षमा नवीकरण अन्तर्गत १४ प्रतिशतसम्म ब्याजदरमा ऋण उठाएको थियो । बैंक तथा वित्तीय संस्थामा तरलता अभावका कारण सरकारले महंगो ब्याजदरमा ऋण उठाउनु परेको थियो । अहिले एकवर्षभन्दा कम समयको ऋणपत्र ट्रेजरी बिलको ब्याजदर ९ प्रतिशतभन्दा तल झरेको छ ।
अहिले २८ दिनको ट्रेजरी बिसको ब्याजदर ७.३६ प्रतिशत छ । यस्तै ९१ दिनको ८.८६ प्रतिशत, १८२ दिनको ८.७२ प्रतिशत र ३६४ दिनको ८.३३ प्रतिशत ब्याजदर रहेको छ । सरकारले चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने जनाएको छ । जसमा ट्रेजरी बिल अन्तर्गत एक खर्ब ५० अर्ब, विकास ऋणपत्र एक खर्ब नागरिक बचतपत्र पाँच अर्ब तथा वैदेशिक रोजगार बचतपत्र एक अर्ब उठाउने लक्ष्य छ ।
चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा ७५ अर्ब ट्रेजरी बिल, ६० अर्ब विकास ऋणपत्र उठाउने लक्ष्य लिएको छ । सरकारले उठाउने ऋणको ब्याजदर घट्दा सरकारलाई समेत फाइदा हुने भएको छ । पछिल्लो समय महंगो ब्याजदरको कारण सरकारले उठाउने ऋणको ब्याज तिर्न बढी खर्च हुने गरेको थियो ।
आगामी वर्षका लागि सरकारले विकास खर्चभन्दा बढी ऋण उठाउने नीति लिएको छ । सरकारले ऋण उठाएर नै ऋण तिर्ने नीति लिएको देखिन्छ ।