
काठमाडौं । चीनका रक्षामन्त्री ली साङ्फुले बेइजिङले अमेरिकासँगको टकराबमा वार्ता चाहेको बताएका छन् ।
दुई शक्तिशाली राष्ट्रहरूबीचको कुनै पनि द्धन्द्धले विश्वका लागि असहनीय विपत्ति ल्याउने चेतावनी दिँदै उनले यस्तो बताएका हुन् ।
“चीन र अमेरिकाको प्रणाली फरक छ र अन्य धेरै कुराहरू फरक छन्” गत मार्चमा रक्षामन्त्री नियुक्त भएका लीले आफ्नो पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्बोधनका क्रममा यस्तो भनेका हुन् ।
“यद्यपि, यसले दुई पक्षलाई द्विपक्षीय सम्बन्ध र गहिरो सहयोग बढाउन साझा आधार र साझा हित खोज्नबाट रोक्नु हुँदैन,” उनले भने, “यो अस्वीकार गर्न सकिँदैन कि चीन र अमेरिका बीचको गम्भीर द्वन्द्व वा टकराव विश्वको लागि असहनीय प्रकोप हुनेछ।”
वाशिंगटन र बेइजिङ बीचको सम्बन्ध ताइवान, दक्षिण चीन सागरको क्षेत्रीय विवाद र सेमीकन्डक्टर चीप निर्यातमा अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको प्रतिबन्धलगायतका विभिन्न मुद्दामा तनावपूर्ण छ।
दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार्नका लागि गत महिना मेमा अमेरिकाको केन्द्रीय खुफिया एजेन्सी (सीआईए)का निर्देशक विलियम बर्न्सले चिनियाँ समकक्षीसँग भेटवार्ता गरेको विषय समेत बाहिरिएको छ ।
बर्न्सको भ्रमण वाशिंगटनले बेइजिङसँगको तनावलाई शान्त पार्ने प्रयासका रूपमा हेरिएको छ। दुई वैश्विक शक्तिहरूबीचको दुविधा द्वन्द्वमा परिणत नहोस् भनेर सोझो सञ्चारको लाइन पुनर्स्थापित गर्नका लागि पनि भ्रमण भएको बताइएको छ । अल्जजिरा