काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाँणका पक्षबाट तीन पूर्वमहान्यायाधिवक्तासहित दर्जन बढीले बहस गर्ने भएका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव र हरिहर दाहालले बहस गर्दैछन् । खाँण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।
त्यस्तै, नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाँणको पक्षमा बहस गर्दैछन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रेमबहादुर खड्काले खाँणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधीवक्ता खातीले जानकारी दिए ।
त्यसबाहेक योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाँणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए । अघिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन् ।
खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए । “खाँणको पक्षबाट बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै छ । जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन । काँटछाँट हुन्छ,” खातीले भने ।
बहस गर्न चाहने धेरै रहेकाले काँटछाँट गरेर सूची तय गरिने उनले बताए ।