site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समाज रूपान्तरणकाे बाटाे 
Ghorahi CementGhorahi Cement

ट्याक्सी चलाएर परिवार पाल्दै गरेको बाबु बिरामी परेपछि रानिया ट्याक्सी चलाउन थाल्छे । उसले यो काम सुरु गर्दा सबैभन्दा पहिले आफ्नै घरबाट अवरोध आउँछ । रानिया (सवा कमार)को पुल्पुलिएको भाइ बाबुको ट्याक्सी चलाउन मान्दैन । दिनदिनै घरायसी खर्च समेत चलाउन मुस्किल हुँदै गर्दा बाबुको हृदयाघातको उपचार खर्चले परिवारमा ऋणको भार थपिन्छ ।

घर चलाउने अरू उपाय नदेखेर रानिया ट्याक्सी चलाउन कस्सिन्छे । तर, बिरामी बाबुलगायत आमा र भाइ पनि केटी मान्छेले ट्याक्सी चलाउँदा परिवारकै इज्जत जाने कुरा गर्दै उसलाई रोक्न खोज्छन् । रानिया भने भाइलाई ‘कि तँ चला कि म चलाउँछु’ भन्ने प्रस्ताव राख्छे । पढेको भाइ थोत्रो ट्याक्सी चलाउन मान्दैन ।

सानैमा मगनी भएको हुँदा रानियाको मंगेतर पनि यस कामको विरुद्धमा हुन्छ । उसलाई पनि आफ्नी हुनेवाला पत्नीले ट्याक्सी चलाउने कुरा सह्य हुँदैन । हुनेवाला सासूससुरा झनै विरोधमा हुने नै भए ।

Agni Group

सबैको विरोध हुँदाहुँदै पनि रानिया ट्याक्सी चलाउन सुरु गर्छे । बिहे गर्ने उमेर भइसकेको हुँदा बिरामी बाबुलगायत सबैले विवाह गर्न दबाब दिन्छन् । तर, उसले इन्कार गर्छे । विवाहभन्दा काम र आफ्नै आर्जनलाई प्राथमिकता दिन्छे । बाबुआमाको पालनपोषण आफ्नै जिम्मेवारी सम्झन्छे । जबकि, ऊभन्दा धेरै पढ्न पाएको भाइ पारिवारिक जिम्मेवारीतर्फ कुनै पर्वाह गर्दैन ।

ट्याक्सी चलाउने क्रममा अनेक ग्राहकसँग रानियाको साक्षात्कार हुँदै जान्छ । एक दिन एकजना महिला भरखर जन्मेकी बच्चीसहित उसको ट्याक्सीमा हतारहतार चढ्न आउँछे । ट्याक्सी लिएरै ऊ रुँदै गरेकी बच्चीका लागि दूध किन्न पसल पुग्छे । हतारहतार लुगा, डाइपर, फिडर आदि किन्छे ।

Global Ime bank

कहिले ट्याक्सी चलाइरहेकी रानियालाई नै बच्ची लिन लगाएर अर्को सामान किन्न दगुर्छे । ती महिलाको हाउभाउ देखेर ट्याक्सी चालक उसले कसैकी बच्ची चोरेर ल्याएकी पो हो कि भन्ने शंका गर्छे र भन्छे पनि, “कसको बच्ची हो यो ? उसैलाई फिर्ता देऊ ।”

बच्ची ल्याउने महिला भन्छे, “यो बच्चीलाई अस्पतालमा छोडेर गएकी हो, उसकी आमाले । त्यसैले मैले पाल्ने निधो गरेर यसलाई लिएर आएकी हुँ । म डाक्टर हुँ, डा. मन्जुम । मेरा बच्चा छैनन् । म यसैलाई आफ्नी छोरी बनाउँछु ।”

“किन अर्काकी बच्चीलाई छोरी बनाउनुपर्यो त ?” यस प्रश्नको उत्तरमा ऊ आफूले घरैमा व्यहोरेको हिंसा र मानसिक तनावको लामो शृंखला बताउँछे । वास्तवमा डाक्टर मन्जुम बच्चा जन्माउन नसक्ने होइन, बरु उनको लोग्नेका कारण बच्चा भएका थिएनन् । तर, उनकी सासूले बुहारीलाई ‘बच्चा जन्माउन नसक्ने बाँझी’ भन्दै सधँै मानसिक तनाव दिने र अर्को विवाह गर्ने धम्की दिइरहन्छिन् । यसैकारण डाक्टर मन्जुमले बच्चीलाई आफ्नी छोरी बनाउने सुरले अस्पतालबाट आधिकारिक कागजातसहित वैध तरिकाले नै ल्याएकी हुन्छे ।

तर, घरमा सासूले अरूको बच्ची राख्ने कुरा स्वीकार गर्दिनन् । सासूको बानी थाहा पाएकी डाक्टरलाई यो सम्भावित परिस्थिति थाहा थियो । तर, स्वयं बच्चा जन्माउन नसक्ने श्रीमान्ले समेत आमाले झैँ अरूको सन्तानलाई आफ्नो बनाउन इन्कार गर्छ ।

आमाछोराले डाक्टर मन्जुमलाई घरबाट निकालिदिन्छन् । आफूले ल्याएकी बच्ची हुर्काउनकै लागि डाक्टर मन्जुम आफ्नो वैवाहिक घर छोडेर माइत पुग्छे ।

अस्पतालमा कसले बच्ची छोड्यो, डाक्टर मन्जुमले किन बच्चीलाई आफ्नी छोरी बनाउन चाहिन्, अनि कसरी बच्चीलाई जन्माउने बाबुआमाकहाँ पुर्याइन्छ, ती प्रसंग बुझ्न ड्रामा नै हेर्नुपर्ने हुन्छ ।

अर्को दिन दुईजना उस्तै उमेरका केटाकेटी हतारहतार ट्याक्सी चढ्छन् । ट्याक्सीभित्र बुर्का खोलेपछि ट्याक्सीचालक रायिनाले सोसल मिडियामा देखिइरहने रामिनीलाई चिन्छे ।

“तिमी रामिनी हो ?” ट्याक्सीचालकको प्रश्न सुनेर ऊ चकित हुन्छे । रानियाले उनका धेरै भिडियोहरू आफूले हेर्ने गरेको बताउँछे । आत्तिइरहेकी रामिनी आफूलाई चिन्ने महिला देखेर राहत अनुभूति गर्छे, किनकि ऊ र ऊसँग आएको केटा घरबाट भागेका हुन्छन् ।

भाग्नुपर्ने कारण थियो, रामिनीको एक भाइरल बनेको भिडियो । रामिनी नाच्न सिपालु थिई । दुई महिनापहिले आफ्नी साथीको बिहेमा नाचेको भिडियोको दुरुपयोग गरी उसको बेइज्जत गर्ने मनसायले कसैले सामाजिक सञ्जालमा त्यो राखिदिएको थियो ।

भागेर आएका यी दुईको विवाह गर्ने निर्णय (मगनी) पहिले नै भएको भए पनि रामिनी नाचेको भिडियो देखेर केटाको बाबुले बिहे नकारेको थियो । यस्ता नर्तकीसँग छोराको बिहे गराउँदा आफ्नो खानदानको इज्जत जान्छ भन्ने उसको भनाइ सुनेर छोरीको बाबु पनि रुष्ट हुन्छ ।

दुवैथरी एक अर्काप्रति रोष प्रकट गर्छन् । तर, केटाकेटी दुवैका आमाहरूले भागेरै भए पनि विवाह गर्ने सल्लाह दिन्छन् । त्यसैले रामिनी र सोजाब त्यही दिन साथीहरू जम्मा गरेर बिहे गर्ने सुरमा भागेका हुन्छन् ।

रामिनी रानियालाई ‘मेरो बिहेमा आउँछ्यौ ?’ भनेर सोध्छे । 
रानिया छक्क पर्दै भन्छे, “कैले ?”
“आजै, अहिले ।”

रामिनीको उक्त बिहेमामा रानिया सरिक हुन्छे । रानिया रामिनीकी दिदी बनेर उनीहरूको बिहे विधिपूर्वक सम्पन्न गराउँछे ।

रामिनी फेसन सो, मोडलिङका क्षेत्रमा काम गर्दै जान्छे । अनेक प्रकारका भिडियो बनाउँदै जान्छे । उसको रुचिअनुसार प्रशस्त अवसर मिल्छ पनि । कमाइ पनि बढ्दै जान्छ ।

पछिपछि भने कानुन व्यवसायीबाट उसले महिलाका कानुनी हक, अधिकारका विभिन्न पाटा थाहा पाउँदै जान्छे । जब विवाहित छोरीको पनि बाबुआमाको सम्पतिमा हक लाग्छ भन्ने थाहा पाउँछे, तब उसको चाख फेसन र मोडलिङबाट महिला अधिकारतिर बदलिँदै जान्छ । विस्तारै ऊ सामान्य र अनभिज्ञ महिलालाई कानुनी अधिकारबारे बुझाउने खालका भिडियो बनाउनतर्फ लाग्छे ।

केहीपछि ऊ स्वयं घरमा बाबुआमालाई भेट्न जान्छे र आफ्नो अंशको अधिकारको कुरा उठाउँछे । उसको दाजु ‘इज्जत फालेर जानेलाई यस घरको ढोका सबै बन्द छ’ भन्छ ।

दाजुको भनाइ सुनेर रामिनी भन्छे, “त्यही बन्द ढोका खोल्न त आएकी हुँ म ।” रामिनी प्रतिवाद गर्छे । आफ्नो हक स्थापित गरिछाड्छे ।

अर्को दिन मरियम विक्षिप्त हुँदै रानियाको गाडीमा आइपुग्छे । उसलाई अफिस पुग्न हतार भइरहेको छ । मरियमको रुखो बोली र आनीबानी देखेर आफ्नो ट्याक्सीमा लैजान इन्कार गर्छे र अर्को गाडीमा जान भन्छे । मरियम आफूलाई हतार भएको र बढ्तै पैसा लिएर पनि आफूलाई पुर्याइदिन जिद्दी गर्छे ।

गाडी चल्न थालेपछि ऊ आनन्दको सास फेर्दै सुरक्षित रूपमा अफिस पुग्ने कुरामा ढुक्क हुन्छे । अफिस जाँदै गर्दा दुईजनाबीच कुरा हुन्छ ।

“किन ट्याक्सी चलाएकी ?”

“के गर्नु, धेरै पढेकी छैन...।”

“पाकिस्तानको यस सहरमा तिमी एक्लै यो ट्याक्सी चलाउँछ्यौ ? त्यसमा पनि यस्तो खटारा ! किन ट्याक्सी चलाउने काम गर्छ्यौ ? अरू काम गर्न हुँदैन ?”

“जस्तो होस्, आफ्नै काम हो । आफ्नै खुट्टामा उभिन चाहन्छु ।”

मरियम रानियाले ट्याक्सी चलाउने साहस गरेको देखेर खुसी हुँदै उसको प्रशंसा गर्छे । पुरुष ड्राइभरले चलाएका ट्याक्सीमा बेलाबेलामा हुने गरेका अनेक हिंसा र हर्कतका अनेक अनुभव बताउँछे मरियम, रानियालाई ।

एक दिन ट्याक्सीचालकले आफ्नो हात समात्न आएको जस्तो घिनलाग्दो व्यवहार देखाउन थालेपछि ऊ उम्केर भागेकी थिई । त्यसपछि पनि उक्त ड्राइभरले आफ्नो फोन नम्बर अनेक आवारा, लफंगालाई दिएछ । कैयौँ दिन उनीहरूले फोनबाट उसलाई हैरान गरेको कथा सुनाई उसले ।

दुईजना बसेर कुरा गर्दैगर्दा एक पसलेले केटी ग्राहकलाई जिस्क्याउँदै गरेको देख्छन् । रानिया भन्छे, “यस्ता हिंसा हरेक दिन हरेक गल्लीगल्लीमा हुन्छ, कस–कसको पछि लाग्नु ? कति लाग्नु ?”

सक्षम देखिने मरियमको अफिस त निकै सुरक्षित छ होलाझैँ लाग्छ रानियालाई । “तिम्रो अफिस त सुरक्षित होला, हैन ?,” रानिया जिज्ञासा राख्छे ।

“होइन होइन, महिला कहीँ सुरक्षित छैनन् । यी ठूला भनाउँदा कर्पोरेट अफिसमा पनि अनेक किसिमका हिंसाजन्य हर्कत भइरहेका हुन्छन् ।” कर्पोरेट अफिसमा आफूले भोग्दै गरेका अपमान र हिंसाका अनेक अनुभूति सुनाउँछे, मरियम ।

पहिलो त हरेक अफिसमा महिला भएकै कारण उसको काममा प्रश्न गरिन्छ, पुरुषले जस्तो काम गर्न सक्छे भन्ने कसैले सोचेकै हुन्नन् । दोस्रो, निकै कोसिस गरेर पुरुषको भन्दा राम्रो काम गरे पनि महिला भएका कारण हाकिमले विशेष सहुलियत दिन्छन् भन्ने आरोप पनि लगाउँछन् आफ्नै कलिगहरू, बेलाबेला ।

मरियमको अफिसमा त्यस्तै हुन्छ । कोही उसलाई सहुलियत दिइयो भन्छन्, कोही पेसाइतरका कुरा गरेर नाजायज फाइदा लिन खोज्छन् । पेसागत प्रतिस्पर्धामा उत्रिनु त एकातिर छँदै छ, पुरुषका मिसोगाइनिस्ट (स्त्री दोषी) अनेक हर्कतबाट हैरानी व्यहोरिरहेकी हुन्छे उसले ।

अर्को दिन एक किशोर अस्पताल जाने हतारमा ट्याक्सीमा चढ्छ । ऊ रुँदै छ । आफ्नो बाबु मरणासन्न अवस्थामा रहेकाले विह्वल छ । ऊ भन्छ, “मेरो बाबाबाहेक यस दुनियाँमा मलाई माया गर्ने कोही छैन । बाबा मरे भने म एक्लै हुन्छु ।”

ट्याक्सीलाई पैसा दिने बेला ऊसँग मसिनो पैसा हुँदैन ।

‘चेन्ज गरेर ल्याइदेऊ, म जाँदै गर्छु’ भनेर ऊ अस्पतालभित्र छिर्छ । ट्याक्सी भाडा कटाएर बाँकी पैसा फिर्ता गर्ने सुरमा रानिया पनि अस्पतलभित्र पुग्छे । एकै ठाउँमा बसेका यी दुईलाई देखेर डाक्टरले रानिया र सारङलाई दिदीभाइका रूपमा चिन्छ । सारङ तेस्रोलिंगी केटा हुन्छ ।

आफ्नी आमाको मृत्युपछि बिहे भएकी अर्की आमा र पछि जन्मेको भाइले उसलाई तेस्रोलिंगी भएका कारण तिरस्कार गर्ने गरेका हुन्छन् । सारङ (मुनिम बट)लाई बाबुले भने अति माया गरेर पढाएको हुन्छ । तेस्रोलिंगीलाई आवश्यक पर्ने अतिरिक्त माया, अतिरिक्त हेरचाह उसले बाबुबाहेक कसैबाट पाएको हुँदैन ।

बाबुबाहेक घर, स्कुल अनि अन्यत्र कतै पनि उसले प्रेम र सम्मान पाएको हुँदैन । जताततै घृणा, जताततै विभेद र तिरस्कार भोगेको सारङ बाबु मरे एक्लै हुन्छु भनेर ऊ निकै पिरिएको हुन्छ ।

उसको पीडामा रानियाले साथ दिन सुरु गर्छे । नभन्दै उसको बाबु बित्छ । रानियाले उसको पीडा सुन्छे, ऊसँग बातचित गर्छे । अरूबाट तिरस्कृत सारङले रानियाको आनीबानीबाट एक किसिमको आत्मीयता प्राप्त गर्छ । अनि, हरेक काममा रानियाको सल्लाह खोज्छ ।

पढाइ सकेर स्कुल छोड्ने दिन बिदाइ समारोहमा उसले केही बोल्नुपर्ने हुन्छ । ऊ रानियासँग के बोल्ने होला भन्ने सल्लाह लिन्छ । रानियाले ‘तिमी जे बोल्छौ, आफ्नो आत्माको अनुभूति बोल’ भन्ने सल्लाह दिन्छे । त्यसैअनुसार तेस्रोलिंगीले भोगेका र सामाजिक तिरस्कारका कुरामा केन्द्रित उसको सम्बोधन प्रभावकारी देखिन्छ ।

उसले सबैबाट वाह ! वाह पाउँछ । कामको लागि निवेदन दिएको सारङले लाहोरमा काम पाउँछ । स्कुलको राम्रो नतिजा र काम पाएपछि अर्की आमा र भाइको आफूप्रतिको दृष्टिकोण बदलिएको कुरा सारङ रानियालाई बताउँछ । लाहोर जाने बेला आत्मीयता दर्शाउँदै ऊ रानियालाई लाहोर आउन अनुरोध गर्छ ।

ट्याक्सी ड्राइभर बाबुलाई हर्टट्याक भएपछि एउटी छोरीको ट्याक्सी चलाउने अठोटबाट सुरु गरिएको यो ड्रामा सिरियलले समाजमा व्याप्त अनेकौँ प्रकारका हिंसा र लैंगिक विभेदका पाटाहरूको उजागर गरेको मात्रै छैन, पितृसत्ताका अनेक रूप देखाउन सफल पनि बनेको छ ।

परम्परागत पाकिस्तानी समाजमा महिलाले बाहिर काम गर्नुलाई राम्रो मानिँदैन । रानिया फराजसँग विवाह गर्ने निर्णयपछि ६ वर्ष काम नगरी बसेकी थिई । ट्याक्सी चलाउनेजस्तो वर्जित काम थालेर रानियाले एक नयाँ सन्देश दिएकी छे । बाबु, आमा, भाइ, मंगेतर, हुनेवाला सासू सबै एकातिर विरोध गरिरहेका छन्, ऊ एक्लै एकातिर हुँदा पनि हरेस खाएकी छैन ।

ट्याक्सी चलाउने काम छोड्नका लागि मंगेतर कहिले हप्काउँछ, कहिले फकाउँछ । तर, ऊ दृढ छे । विवाहभन्दा कामलाई प्राथमिकता दिए मात्र आफ्नो उन्नति सम्भव छ भन्ने यथार्थ अनुभूत गर्दै छे ऊ ।

रानियाले ट्याक्सी चलाउन सुरु गर्नु, रामिनीले कानुनी रूपमा स्थापित अधिकार – आफ्नो अंशको दाबी गर्नुजस्ता जुनसुकै संघर्ष पनि घरबाट नै सुरु गर्न सकिन्छ र गर्न आवश्यक छ भन्ने कुरा पनि प्रस्ट पारेको छ, ‘सारे राह पर’ नामक यस धारावाहिक टेलिशृंखलाले ।

तेस्रो लिंगीप्रतिको सामाजिक सोच बदल्नुपर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ, यस टीभी सिरियलमा । कार्यस्थलमा हुने गरेका हिंसाका अनेक रूप र प्रतिकार गर्नेजस्ता कुरामा तत्क्षण नै लिइएका निर्णय चित्तबुझ्दा छन् । विशेष गरी महिलाले आफैँ आयआर्जन गर्न आवश्यक छ भन्ने कुरामा जोड दिन्छ, यस सिरियलले ।

हिंसाको विरोधमा सबै सजग हुन जति आवश्यक छ, त्यति नै एक्लै पनि प्रतिकारमा डट्नुपर्छ भन्ने सन्देश दिन पनि पछि परेको छैन । त्यसैगरी, तेस्रोलिंगीप्रतिको असहिष्णु सामाजिक धारणा बदल्ने प्रयास पनि उत्तिकै सशक्त लाग्छ ।

रानियाले ड्राइभिङ सेन्टर खोलेपछि उनको मंगेतर फूलको बुके लिएर बधाई दिन आइपुग्छ, ‘माम्य’ भनेर सम्बोधन गर्दै इज्जत दिन्छ । आफ्नै मंगेतरलाई उसले पहिले जसरी आफ्नो अधिनस्त वस्तु सम्झन्थ्यो, अहिले स्वतन्त्र अस्तित्ववाला व्यक्तिका रूपमा सम्मान दिएको देख्दा मन गर्वले फुल्छ ।

“मलाई पनि ड्राइभिङ सिकाइदेऊ है !,” भन्छ ऊ ।

रानिया बडो आत्मगौरवका साथ भन्छे, “पहिले तिमी आफ्नो ‘मेल इगो’ फालेर आऊ ।”

आफ्नो कमाइ र दक्षताले महिलालाई प्राप्त हुने ढाडस र आत्मविश्वासको अनुपम नमुना हो, यो धारावाहिक टेलिशृंखला । अचेलका धेरै पाकिस्तानी ड्रामा सिरियलहरू समाज रूपान्तरणका उद्देश्यले बनाइएका छन् । भर्खरै बनेका मध्ये महिला सशक्तिकरणको विशेष नमुनाका रूपमा प्रंशसा पाएको छ यो ड्रामाले ।

जम्मा सात इपिसोडमा सकिएको यस ड्रामाका हरेक इपिसोडले दिने सन्देश गजबकै लाग्छन् । स्क्रिप्ट लेखनदेखि अभिनय र निर्देशन यति सबल छन् कि दर्शकको अन्दाजभन्दा बढ्ता सन्तुष्टि दिन सफल छन् भन्दा अतिशयोक्ति नहोला ।

हामीकहाँ पनि समाजका धरातलीय यथार्थलाई उजागर गर्ने सामाजिक मुद्दाकेन्द्रित यस्ता सिरियलहरू निर्माण भई प्रदर्शनमा आउनु आवश्यक छ, जसले सकारात्मक तरिकाले सामान्यजनमा परिवर्तनका लागि सही दिशा निर्देशन गर्न सफल बनून् ।

रानियाको भूमिकामा सवा कमारको अभिनय बेजोडको लाग्छ । उनका अलाबा हरिम फारुख, सुनीता मार्सल, सबुर अलि र मुनिम बटको अभिनय पनि सशक्त छ । एकपटक हेरी त हेर्नुस्, दोहोर्याउन मन लाग्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC