विराटनगर । कोसी प्रदेशकी निवर्तमान स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफ्नो राजीनामाबारे सदनलाई जानकारी गराएकी छन् ।
प्रदेशसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनले आफ्नो पदबाट बुधबार मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएको जानकारी गराएकी हुन् ।
उनले छोटो अवधिसम्म कार्यभार सम्हाल्दै उत्कृष्ट काम गरेको बताइन् । उनले भनिन्, “मैले निमोनिया खोपलाई जनस्तरमा पुर्याउने योजना अघि बढाए । तर, महिला पोषणसम्बन्धी कार्यक्रम प्रस्ट नभएकोले त्यसलाई रोकियो । यसको बजेट पाँच करोड थियो ।”
उनले प्रदेशमा सुकुम्बासीसम्बन्धी समस्या समाधान हुन नसकेकाले सरकारले प्रस्ट रूपमा काम गर्नुपर्ने माग गरिन् । झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको समस्या समाधान हुन नसकेको सुनाइन् ।
उनले पहिचानवादीसँग वार्ता गर्ने सरकारले भनेपनि त्यो स्पष्ट रूपमा नआएको बताउँदै भनिन्, “सरकारले वार्ता गर्ने भनेको छ तर कसले नेतृत्व लिने, कसरी अघि बढ्ने जस्ता विषय प्रस्ट छैनन् ।” उनले कोसी प्रदेश नाम खारेज गर्नुपर्ने माग गरिन् ।