1685528693.jpg)
काठमाडौं । डा. रमेश बलायरको 'मनको बिम्ब'बाट नामक कविता संग्रह सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलायरको कृति लोकापर्ण गरिएको हो ।
आख्यानकार एवम् लेखक बुद्धिसागर तथा पूर्वगृहसचिव गोविन्द कुसुमलगायतको उपस्थितिमा पुस्तकको लोकापर्ण गरिएको हो ।
कार्यक्रममा पूर्वगृहसचिव कुसुमले लेखक बलायर संघर्ष, सहनशीलता र इमान्दारीको रोल मोडल भएको बताए ।
लेखक बुद्धिसागरले लेखक बलायरका कविता विशेष रहेको भन्दै कविता भनेको जीवनका स्मृति र यादहरूलाई सम्झिँदै तनावमुक्त हुने माध्यम भएको बताए ।
लामो समयदेखि लेखक डा. बलायरसँगै विभिन्न क्षेत्रमा काम गरेका सुभास सिंहले उनलाई बधाइ दिएका छन् ।
साझा प्रकाशनले प्रकाशन गरेको पुस्तकमा ३७ वटा कविता समावेश गरिएको छ ।
१८८ पृष्ठको यस कविता संग्रहमा लेखक डा. बलायरले आफ्ना जीवनका अनुभूतिलाई दर्शाउन खोजेका छन् ।
उनले कवितामा आफ्नो राष्ट्रप्रतिको चिन्ता, जीवनका भोगाइ, महिला सशक्तीकरणका कुरा र हालको राजनीतिक परिदृश्यलाई व्यंग्यात्मक ढंगबाट प्रस्तुत गरेका छन् ।
उनले कवितामार्फत युवा जनशक्तिलाई सकारात्मक सोच र कामका लागि प्रेरित गर्न खोजिएको बताए ।
बलायर डोटीको विकट गाउँमा जन्मेका हुन् । हाल आईओवा स्टेट युनिर्भर्सिटी अमेरिकाबाट समाजशास्त्रमा विद्यावारिधि गरेका बलायर सोही युनिभर्सिटीका सहायक प्राध्यापक हुन् ।
लेखक डा. बलायरले महिला सशक्तीकरण, साना किसान, खाद्य सुरक्षा र गरिबी निवारणजस्ता क्षेत्रमा अनुसन्धानात्मक कार्य गरेका छन् ।
डा. बलायरले अमेरिकी कांग्रेस, नेपाल सरकार, इजरायली दूतावास, संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध रहेर लामो समय अनुभव बटुलेका छन् ।