
काठमाडौं । पूर्वमन्त्री तथा महिला आन्दोलनकी अगुवा नेतृ मीना पाण्डेको निधन भएको छ ।
लामो समयदेखि क्यासरबाट पीडित रहेकी पाण्डेको आज बिहान ७ बजे काठमाडौंमा निधन भएको हो ।
०४८ सालकी सांसद पाण्डे ०५१ मा पुनः निर्वाचित भएपछि महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् । ०६४ को पहिलो संविधानसभामा सदस्य रहेकी पाण्डे ०७४ मा समानुपातिकतर्फबाट सांसद थिइन् ।
सर्लाहीकी पाण्डे नेपालमा महिला अधिकारका लागि आवाज उठाउनेमध्येकी एक हुन् । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको सभापति भएर काम गरेकी उनी पटक–पटक कांग्रेस केन्द्रीय सदस्य बनेकी थिइन् । उनी पद्मकन्या क्याम्पसको पहिलो स्ववियु सभापति थिइन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पाण्डेको निधनमा शोक प्रकट गरेका छन् । उनको आजै बेलुका ५ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । कांग्रेसले पार्टीका तर्फबाट अन्तिम श्रद्धाञ्जलीसहित झन्डा ओढाउन सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई जिम्मेवारी तोकेको जनाइएको छ ।
पाण्डेसँग कांग्रेस सभापति देउवाले तिहारमा टीका लगाउने गरेका थिए ।