
विराटनगर । रोक्का गरिएको कोसी प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता सञ्चालन गर्न माग गर्दै खेलकुदकर्मीले सामाजिक विकास मन्त्रालययमा धर्ना दिएका छन् ।
झापाबाट आएका नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलासहितको प्रतिनिधि मण्डल विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा धर्नामा बसेका हुन् ।
पछिल्लो समय प्रदेश खेलकुद बोर्डले खेलकुदका गतिविधि बढाएको अवस्थामा मन्त्रालयले खाता रोक्का गर्नु दुभार्ग्य भएको सिटौलाको भनाइ छ ।
“खाता रोक्का गर्नुु आफैमा विडम्बना हो । खेलकुदमा विनियोजित भएको बजेट मन्त्रालयका कारण कार्यान्वयनमा नल्याउँदा खेलका गतिविधि नै ठप्प भए,” उनले भने ।
बोर्ड र मन्त्रालयको आपसी मतान्तरका कारण खेलकुद क्षेत्र थप कष्टकर अवस्थामा पुगेको सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष विक्रम थापाले बताए । उनले भने, “बजेट नहुदाँ इटहरीमा मन्त्रालय र बोर्डले राखेको मुख्यमन्त्री कप राष्टिय महिला भलिबल कपको तयारीबीचमै छाड्नुपरेको छ ।”
त्यहाँ कोर्ट निर्माण गर्ने र खेलाडीलाई निमन्त्रणा दिइसकेको अवस्थामा प्रतियोगिता रोक्नुपरेको उनले बताए ।
इटहरीमा वैशाख २१ देखि २४ सम्म प्रतियोगिता तय भएपनि स्थगन भएको छ । जेठभरिमा प्रतियोगिता सञ्चालन गर्ने भनिएपनि टुंगो नलागेको थापाले सुनाए ।
सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डरीसमक्ष ध्यानाकर्षण गराउन पुगेका खेलकर्मी मन्त्री नै नभेटी फर्किएका थिए । मन्त्रालयका सचिव बासुदेव दाहालको कक्षमा पुगे पनि भेटेनन् ।
खेलकुद बोर्डका सदस्य सचिव हंषराज वाग्लेलाई जेठ ३ गते कोसी प्रदेश मन्त्रिपरिषद्ले पदमुक्त गरेको थियो ।