site stats
बाह्रखरी :: Baahrakhari
विचार
हतप्रभ कांग्रेसजनको रूपान्तरण अभियान ! 

हतप्रभ देखिन्छन् कांग्रेसजन । निर्वाचनमा सबैभन्दा ठूलो दल भएर पनि, गुमिसकेको सत्ता फर्काउन सफल हुँदा पनि नेपाली कांग्रेसका नेता कार्यकर्ता ‘मणि हराएको सर्प’जस्ता निस्तेज, निष्प्राण देखिएका छन् । उनीहरूमा कतै कुनै उत्साह देखिँदैन ।

पार्टी प्रतिबन्धित हुँदा आफूलाई कांग्रेस भनेबापत पनि जेल जानुपर्थ्यो । कांग्रेससँग सम्बन्ध भएको पोल कसैले लगाइदियो भने ज्यानै जानसक्थ्यो । घरमा कांग्रेसका पर्चा वा ‘तरुण’ पत्रिका भेटिँदा यातना सहने त असङ्ख्यै होलान् । गोरखा आँपपिपलका होमनाथ ढकालको त ज्यानै गएको थियो । त्यस्तो बेलामा पनि सगर्व शिर ढाडो पारेर आफूलाई कांग्रेस घोषणा गर्न नहिचकिचाउनेहरू अहिले आफूलाई कांग्रेस भन्न सम्म पनि रुचाउँदैनन् ।

अवसादको मनोरोग

अवसादको मनोरोगीको जस्तो छ कांग्रेसजनको अवस्था । विजिगीषा देखिँदैन । उत्साह छैन । आत्मविश्वास र स्वाभिमान पनि देखिँदैन । अधिकांश नेता कार्यकर्ताले नखाएको विष लागेको ठान्दैछन् । उनीहरूमा न नेताहरूको ‘नालायकी’लाई अस्वीकार गरेर विद्रोहको बिगुल बजाउने आँट छ न त्यसलाई आत्मसात गरेर स्वीकार गर्ने नै हिम्मत छ ।

नेकपा (एमाले)का नेताहरूको अवस्था र छवि पनि जनताका आँखामा  खासै उज्यालो छैन । भ्रष्टाचारकै मामिलामा पनि कांग्रेस र एमालेमा रौँ बराबरको अन्तर देखिँदैन । तैपनि, उनीहरूले हिम्मत चाहिँ हारेको देखिँदैन । उनीहरू तर्क होइन विश्वासका साथ पार्टी र नेताको प्रतिरक्षामा अगाडि सर्छन् । अन्तर्मनले जेसुकै भनोस्  मुखले नेताका पक्षमा दृढता देखाउँछन् । यद्यपि, पछिल्लो निर्वाचनको सङ्केत हेर्ने हो भने मतदाताले अस्वीकार गरिदिएको पनि स्पष्टै देखिन्छ ।

Global Ime bank

सैद्धान्तिकरूपमा कांग्रेसहरू कम्युनिस्टहरूजस्तो प्रतिरक्षात्मक अवस्थामा छैनन् । नेपालको इतिहासमा भएका ठूला प्रगतिशील परिवर्तनको नेतृत्व कांग्रेसका नेताले नै गरेका छ । तै पनि अहिले किन यस्तो अवसादको अवस्थामा पुगे त नेपाली कांग्रेसका नेता कार्यकर्ता ?

अवसानको ओरालो यात्रा

धेरै पहिलेदेखि नै नेपाली कांग्रेसका नेताहरूका कारण पार्टी ओरालो लाग्न थालेको थियो । मूलतः नेताहरूले व्यवहारका नाममा सिद्धान्तनिष्ठा र आचरणको उपेक्षा गर्न थालेदेखि नै अवसानको ओरालो यात्रा सुरु भएको हो । पुरानो तेज र गतिले धानेकाले मात्र अहिलेसम्म चलिरहेको छ यो पार्टी ।

पछिल्ला वर्षहरूमा अधोपतनको गति निकै तीव्र भयो । सत्ताका लागि जोसँग र जस्तोसुकै सम्झौता गर्न नहिचकिचाउने प्रवृत्ति बढ्दै गएपछि कांग्रेसका इमानदार कार्यकर्तामा अवसाद व्याप्त भयो ।

अवसादग्रस्त कार्यकर्ताले जनतासँग आँखा जुधाउन पनि सक्दैनन् । अहिले सामान्य कांग्रेसजनको मनःस्थिति समान अपराध गर्दा फरक सजाय पाएको दन्त्यकथाको पहिलो चोरको जस्तो भएको छ ।

दन्त्यकथाका चार चोर 

कथाअनुसार चार जना चोरलाई प्रहरीले समातेर राजाको सभामा उपस्थित गरायो । राजाले उनीहरूमध्ये पहिलोलाई ‘तिमीजस्तो मानिसले पनि चोरी गरेको? जाऊ अब यसो नगर !’ भनेर छोडेछन् । दोस्रोलाई ‘धत्! बदमास । चोरी पनि गर्ने हो ?’ भन्दै हप्कीदप्की गरेर पठाएछन् । तेस्रोलाई दस कोर्रा लगाउने र चौथोलाई मोसो दलेर गधामा राखी सहर घुमाउने सजाय दिएछन् ।

एउटै अपराधमा यस्तो फरक सजाय दिइनुको कारण भारदारहरूले सोध्दा राजाले ‘ती चोरहरू अहिले के गर्दैछन् हेर्न जाओ’ भनेछन् । पहिलो चोरले घर पुग्नेबित्तिकै आत्महत्या गरेछ । दोस्रो चोर परिवार सबै लिएर देशै छाडेर जाने तरखरमा रहेछ । तेस्रो चोर चुपचाप घर गएर रोजको काममा लागेको रहेछ । चौथोको गधायात्रा घर नजिकै पुगेपछि उसले आफ्नी पत्नीलाई बोलाउँदै नुहाउने पानी ठिक्क पारिराख्न अह्राएछ ।

सायद कांग्रेसजन जनताले अझै पनि नेपाली कांग्रेसलाई संसद्को सबैभन्दा ठूलो दल हुनेगरी मत दिएकोमा ग्लानिको अनुभव गर्दैछन् । यही कारणले उनीहरू हतप्रभ र अन्यमनस्क देखिका हुनुपर्छ । अवसादमा पुगेको व्यक्तिमा जिजीविषा हुँदैन । बाँच्ने चाहना नै समाप्त भएपछि केही गर्ने र विजयी हुने चाहना अर्थात् विजिगीषा त यसै हुने भएन । कार्यकर्तामा विजिगीषा  नै नभएपछि राजनीतिक दलको जीवन्तता पनि समाप्त हुन्छ । जीवनविना प्रगति त छाडौँ गति पनि सम्भव हुँदैन ।

देउवाका मतियार 

सभापतिमा शेरबहादुर देउवा चुनिएकै दिनदेखि नेपाली कांग्रेसको अवसानको ओरालो यात्रा तीव्र भएको हो । यो देख्दादेख्दै देउवालाई फेरि सभापति त कांग्रेसकै कार्यकर्ताले चुनेका न हुन् । यसैले पनि कांग्रेस मक्किएर सक्किन लागेको पुष्टि गर्दैन ? प्रलोभनमा परेर उनलाई फेरि सभापति जिताउनेहरू पनि देउवाजत्तिकै दोषी देखिन्छन् पार्टीको अवसानका लागि ।

तिनमा पनि पार्टी बनाउने बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूले नै डुबाउने देउवालाई काँध थापे । तिनलाई बाबुले बनाएको पार्टीको माया त लाग्नुपर्ने हो । अब पनि उनीहरू देउवाकै साथमा डुब्न बरु तयार होलान् पार्टी सक्किनबाट जोगाउन तयार देखिँदैनन् । यसै पनि ६० माथिका तिनको हातबाट अब खासै केही हुने होइन । तिनले पार्टीको माया भए माया छ भने बाटो छाडे बरू सहयोग पुग्छ ।

उनीहरू सधैँ नै त्यागको नाम लिन्छन् । तिनले त्याग गरेको त भन्न मिल्दैन । हो, कहर भने काटेकै हुन् । कति रहरले र कति करले भन्ने बेग्लै हो । परन्तु, सङ्घर्ष कठिन हुन्छ भन्ने थाहा पाएरै पनि त्यहीबाटो रोजेका हुन् । यसका लागि तिनलाई धन्यवाद दिए हुन्छ । यद्यपि, तिनले काटेको कहरको पनि साबाँब्याज भुक्तानी धेरै पहिले भइसकेको छ । 

तिनमा नेता हुने गुण पनि देखिँदैन । ती त ‘जो वैद्यका कुलमहाँ भई लठ्ठुराम । त्यो लिन्छ केही नपढे पनि वैद्य काम ।’ भनेजस्तै नेता लाग्छन् । जात्रामा भिडले धकेलेर हिँड्दै नहिँडे पनि अगाडि पुर््याइदिएजस्तै । आफैँप्रति पनि इमानदार छैनन् देखिइएनन् ।  एउटै उदाहरण काफी होला । महाधिवेशनपूर्व देउवाको विरोध गरेर प्रतिनिधि बने तर महाधिवेशनमा देउवालाई नै मत दिए ।

डुब्न लागेको डुङ्गा खियाउने आँट

कांग्रेसको डुङ्गा डुब्दैछ भन्ने कार्यकर्तालाई पक्कै थाहा छ । तर, उनीहरू मुसाले जसरी डुब्न लागेको डुङ्गाबाट भागेका छैनन् । डुब्ने थाहा पाउँदापाउँदै पनि डुंगामै बसिरहेका छन् । अझ केही त ‘पार्टी रुपान्तरण अभियान’ मा लागेका छन् । बिचराहरूले पुरानो हिन्दी सिनेमा ‘अमर प्रेम’को एउटा गीतका यी पङ्क्तिहरू सायद सुनेका छैनन् - ‘मझधार में नैया डोले,  तो माझी पार लगाये माझी जो नाव डुबोये,  उसे कौन बचाये’ । सभापतिदेखि निर्णायक नेताहरू सबैले डुबाउन लागेको दललाई यी तेस्रो, चौथो पुस्ताका नेताले कसरी बचाउलान् र ? रूप बाँकी भए पो रूपान्तरण ! विद्रुप भइसकेपछि केको रूपान्तरण ?

कांग्रेसको मूल कमजोरी माटोसँग नाता टुट्नु हो । भारतीय राष्ट्रिय कांग्रेसजस्तै जनसाधारणसँग सम्बन्ध टुटेको र कार्यकर्ताको घेरामा बाँचेको अवगुण नेपाली कांग्रेसमा पनि देखिएको छ । अहिले पनि ‘रूपान्तरण’ होइन नेपाली कांग्रेसको ‘विनिर्माण’को खाँचो छ भन्ने यिनले स्वीकार गरेका छैनन् । सैन निको बनाउन शल्यक्रिया नै गर्नुपर्छ पट्टी बदलेर हुँदैन । जनतासँग टुटेको संवाद नजोडी कार्यकर्ताको भेटघाटले कांग्रेस बौरिँदैन । व्यर्थको प्रयासमा ऊर्जा फाल्दा आत्मतुष्टि त होला तर फलदायी हुँदैन ।

शैलजा आचार्य, गणेशमान सिंहले सुरु गर्दा त भएन कांग्रेसको रूपान्तरण भने अब के होला र? तैपनि शल्यलाई सेनापति बनाएर महाभारत युद्ध जित्ने दुर्योधनको जस्तै वलवती आशा कांग्रेसजनले पालेका छन् !

आँट गरे ठूलो कुरा त्यही हो । यिनले दुबो जोगाउन सके भने माटो पाएपछि मौलाउन सक्छ । हतप्रभ कांग्रेसजनमा अवसाद निको बनाएर जिजीविषा र विजिगीषा जगाउन सजिलो होइन सम्भव पनि होला नहोला !

र अन्त्यमा 

सूर्यप्रसाद उपाध्यायले कुनै प्रसङ्गमा भनेका थिए - कांग्रेसको समस्या केही गरौँ भन्ने हुटहुटी हुनेहरू प्रायः हतारमा गलत निर्णय गर्ने र असल निर्णय गर्नसक्नेहरू अगाडि नै नसरी पन्छेर बस्ने हो । उतिबेला भारतबाट विफल सिद्ध भइसकेको सशस्त्र आन्दोलनमा होमिएका र देशभित्र लगभग निस्क्रिय नेता कार्यकर्ता बारे उनले गरेको टिप्पणी थियो त्यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu