site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सनेस’को सुगन्ध 

बाह्रखरी कथा प्रतियोगितामा तृतीय स्थान प्राप्त कथा ‘मुडुली’ पढेपछि म रेणुकाजी (जिसी)सँग परिचित भएकी हुँ । कथाले निकै दिनसम्म रनाहा छुटायो । ‘मुडुली’ पढ्दै जिसीको कथा लेखनशैलीबाट म कायल भइसकेकी थिएँ । त्यसैले बजारमा ‘सनेस’ आउनासाथ किनिहालेँ ।

‘सनेस’ (कोसेली) घरमा भित्रिएको झन्डै दुई महिना भइसकेको थियो । सनेस अर्थात् उपहार, कोसेली, सौगात पाउँदा मन निकै आनन्दित पनि थियो । त्यसैले पढ्नलाई मन हतारियो । तर, अनेक कामले गर्दा पढ्ने दिन पर धकेलिँदै गयो ।

जब पढेँ, यस्तो लाग्यो– नेपाली साहित्यको उर्वर भूमिमा सम्पूर्ण साहित्यानुरागीहरूमाझ जिसीले सनेस ल्याएर थपक्क राखिदिएकी हुन् । उक्त कोसेली चाख्न थालेपछि महसुस गरेँ– कृतिको पाना पल्टाउन ढिलो गर्नु पक्कै नहुने रहेछ ।

तराई र पहाडको सुगन्ध बोकेको सनेसभित्र १२ कथा छन् । विविधताले भरिपूर्ण, रोचक, घोचक र मनमोहक कथाहरू पढ्दै जाँदा अझ पढूँपढूँ लाग्छ । तराई र पहाडको भाषा र संस्कृतिले सनेस सुसाएको छ ।

सनेसका कथाहरूमा प्रायः नारी हृदयका आवाज गुन्जिन्छ । पहाड र तराईको भूमिमा उब्जिएका समान किसिममा सामाजिक, पारिवारिक, लैंगिक,  भावनात्मक र मनोवैज्ञानिक समस्याहरू साहित्यको आँगनमा प्रतिविम्बित छन् ।

शीर्ष कथा ‘सनेस’मा सन्तोषी पात्रको जटिल पारिवारिक, वैवाहिक र मनोवैज्ञानिक विषयवस्तुको प्रस्तुतिले पाठकलाई सोचमग्न बनाउँछ । हरेक कथाहरूको बुनोट, प्रस्तुति र रोमाञ्चकताले पाठकलाई कथाको अन्त्यसम्म बाँधेर राख्न सक्छ । तराई र पहाडको वास्तविक चित्रलाई कथाकारको कलमले न्याय गरेको छ ।

बालविवाहको चपेटामा परेकी एक होनहार चेलीको पढाइप्रतिको लगाव, संघर्ष र सफलताको कथा पढ्दा मुटुमा भक्कानो छुट्छ । विवाह भएर पनि कुमारी नै रहेकी नारीमाथि मातृत्वको प्रश्न उठाएको कथाले व्याकुल बनाउँछ । प्रेमलाई पाप ठान्ने समाजले प्वाक्क मुख खोल्दा अनाहकमा केटाकेटीले आत्महत्या गर्नु परेको प्रसंगले व्याकुल पार्छ ।

कतै अन्धविश्वासको डरलाग्दो परिवेशमा सिर्जित बालमनोविज्ञानले नराम्रोसँग चिमोट्छ भने कतै सानो उमेरमा गरिएको विवाह, विवाहले निम्त्याएको जटिल परिस्थितिभित्र पनि एक असल मार्गदर्शक हुँदा गुम्न लागेको आत्मविश्वास पुनः जागृत भएको प्रसंग पढ्दा हृदय गदगद हुन्छ ।

सनेसभित्रका कथाहरूले महिलाका भोगाइमार्फत सिंगो समाज, व्यवस्था र शैक्षिक प्रणालीको ऐना देखाउने कोसिस गरेका छन् । कथाकार स्वयं शिक्षिका भएकाले शिक्षासँग सम्बन्धित कथाहरू अब्बल बनेका छन् । जिसीले समाजलाई नजिकबाट छामेको यथार्थ कथाहरू पढ्दा छर्लंग देखिन्छ ।

वास्तवमा शिक्षकशिक्षिकाले कक्षाकोठामा सीमित भएर पाठ्यपुस्तक मात्र घोकाउने होइन रहेछ, शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालयमा टिकाइ राख्न गर्नुपर्ने मिहिनेत पनि अनुकरणीय हुन आउँछ । अभिभावकलाई शिक्षाको आवश्यकता र महत्त्वका बारेमा बुझाउन सक्नु असल शिक्षकको जिम्मेवारी पनि रहेछ ।

विद्यालय छुटेका बालबालिकाको आर्थिक अवस्थाको पहिचान गरेर सहकार्य गर्दै, शिक्षक–विद्यार्थीको सहजकर्ता हुँदा आउने चुनौतीहरू जिसीका कथाहरूमा अटाएका छन् ।

छात्राको दक्षता, क्षमता, धैर्य र लगनशीलताले उनीहरूलाई सफलताको बाटोमा पुर्याएको प्रसंगले जोकोहीलाई परिस्थितिसँग जुध्न उत्प्रेरित गर्ने निश्चित छ ।

पुरुषप्रधान समाजमा कसरी महिलालाई सामान्य प्रश्न गर्दा पनि गालामा थप्पड हानिन्छ, छोरीले गर्ने प्रश्नलाई कति फरक तवरले बुझिन्छ, सामान्य कुरा पनि यदि महिलाले गरेकी छन् भने तिललाई पहाड बनाउन हाम्रो समाज पछि पर्दैन भन्ने विषय ‘प्रश्न’ कथामा मज्जाले देखाइएको छ ।

प्रश्न कथामा उठाइएको प्रश्न निकै जायज छ । प्रविधिविहीन समयका हुर्किएका बालबालिकाको मनोविज्ञानलाई जिसीले बडो रसिलो पाराले प्रस्तुत गर्नुभएको छ भने अहंकारले भरिएको समूहलाई दह्रोे प्रश्न छोड्न सफल हुनुभएको छ ।

‘मौन’ कथामा युद्धको डरलाग्दो परिवेशले भर्खरभर्खर टुसाएको प्रेमलाई बारुदको धुवाँले उजाडेको छ । मेटाएर पनि मेटाउन नसक्ने त्यो दिव्य प्रेम हृदयमा बोकेर नारीले पुनः अर्को पुरुषलाई उति नै प्रेम गर्न सक्छे, अहो, यो कस्तो जादु ! पूर्णबाट पूर्ण झिक्दा पूर्ण नै बाँकी रहन्छ भनेझैँ के नारी पनि पूर्ण छे ? हृदयमा पीडा, चोट सहेर पनि आफ्नो परिवार भरिपूर्ण र परिपूर्ण पार्न सक्छे भन्ने कुरा ‘मौन’ पढेपछि महसुस भयो ।

साँच्चै नारीको हृदय निराला छ, जहाँ प्रेमको सागर उर्लिएको हुन्छ । हृदयभरि चिहान गाडेर पनि मुहारमा गुलाफ फुलाउन सक्छे नारी । तर, जुन दिन अन्यायले सीमा पार गर्छ, ऊ विद्रोही बन्न रत्तिभर सोच्दिन ।

कथासंग्र्रहभित्रका तलाउ, अस्वीकार, अनुहार, अवाक्, प्रेमरङ, अग्निपरीक्षा, औँला शीर्षकका कथाहरू पनि उस्तै जीवन्त छन् ।

‘मुडुली’ कथा उत्कृष्ट छ । समाजभित्र सज्जन कहलिएर बसेको संस्थाको घिनलाग्दो चरित्र र स्वरूपको चित्रण मज्जाले गरेको छ । यौनहिंसाको डरलाग्दो परिस्थितिले कसरी राधा मुडिली बन्छे, कथा बडो मार्मिक छ । तर, मुडुलीले प्रतिकूल परिस्थितिमा आफूलाई शान्त र शक्तिशाली बनाएको प्रसंगले पाठकलाई सोचमग्न बनाउँछ ।

साहित्य समाजको ऐना हो, जसले यथार्थ देखाउँछ । साहित्य नै समाजको औषधि पनि हो, जसले समाजभित्र जरा गाडेर बसेका कुरीति, कुसंस्कार, परम्परा र सामान्य लाग्ने तर जटिल समस्याहरूलाई छामेर, चलाएर, कोट्ट्याएर समाजकै सामु छर्लंग उद्घाटित गरेर समाधानको बाटोमा ल्याउँछ ।

सर्सर्ती हेर्दा ‘सनेस’ले महिलासँग नजिकको साइनो गाँसेको जस्तो लाग्छ । तर, यसले महिलाको मात्र पीडाको कथाव्यथा बोकेको छैन । आखिर महिलाले टेक्ने धर्ती अवश्य छुट्टै छैन । महिला बस्ने समाज बेग्लै छैन ।

घरपरिवार, साथीसँगाती, सम्बन्ध, संस्कृति र संस्कारबाट उत्पन्न परिवेशहरूबाट कथा जन्मिने हो । जिसीका कथाहरू आशावादी छन् । समस्यालाई समस्या मानेर बस्ने मनस्थितिमा कुनै पनि पात्र छैनन् । विद्रोहको शंखनाद गर्दै समस्याबाट डराएर मृत्युवरण गरेकी पात्रले पनि समाजलाई दह्रो चेतावनी दिएर समाज रूपान्तरणमा भूमिका खेलेकी छन् ।

जिसीका पात्रहरूले समस्या मात्र बताएका छैनन्, समस्यालाई चुनौती ठान्दै समस्यालाई नै अवसर बनाएका छन् । चाहे राधाबाट मुडुली बनेकी पात्र होस्, हवलदारनी दिदी या सलमा मेडम या सन्तोषी ।

यी पात्रहरू संघर्षशील मात्र छैनन् । दुःखैदुःखले खारिएर झन् बलिया भएका छन् । सनेसले महिलाको आँसु होइन, सामर्थ्यलाई उजागर गरेको छ । समाजले बिचरा देखेको पात्रको शक्ति देखाएर पाठकको सोचलाई परिवर्तन गर्न सनेसका कथा सफल भएका छन् ।

समाजमा उज्यालो छर्ने एक दीपशिखाको रूपमा सनेस अवश्य चम्किलो हुन्छ भन्ने विश्वास छ । यो कथाकृति जिसीको पहिलो कथासंग्रह हो । पहिलो संग्र्रहमै यति बलियोसँग उपस्थित जनाउनुभएकोले आगामी दिनमा थप अपेक्षा गर्न सकिन्छ ।

चन्द्रमामा पनि दाग भएजस्तै सनेसमा पनि कतैकतै कमी–कमजोरी छन् । तर, सनेसले चाँदनी नै फैल्याउनेछ ।

कथाकार जिसीको कथा पस्कने कला साँच्चै थकाली खानाको सेटजस्तै आकर्षक लाग्यो । कसैलाई चिल्लो, पिरो, नुन, मसलाको टक्क चाहिन्छ भने कसैलाई मध्यम । त्यसैले कसैलाई कुन कथाले च्वास्स छुन्छ भने कसैलाई कुन ।

कथाकृति सनेसले समग्र समाजको चित्र उतारेको छ । त्यसैले सनेस सामाजिक विषयवस्तुहरूको धरातलमा उनिएको सामाजिक कथाहरूको सँगालो हो । कथाकारको पहिलो कृति भए पनि निकै माझिएको छ ।

कथाकारले नवीनता र मौलिकता हरेक कथामा दिन खोज्नु राम्रो कोसिस हो । पाठकले जतिजति जिसीका कथाहरूको स्वाद चाख्दै जान्छन्, उतिउति कथाप्रतिको भोक जाग्दै जान्छ, कथाकारको सबल पक्ष हो, यो ।

भाषामा विद्यमान प्रचुर आञ्चलिकताले पाठकलाई पर्वत र मधेसको विचरण गराइदिन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro