
विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेशमा गठबन्धन दलकै सरकार गठन गर्ने रणनीतिमा प्रस्ट देखिएको छ । पहिलो नेतृत्व आफूले लिने तर लोकतन्त्रको मूल्य मान्यताविपरीत विपक्षीविहीन सर्वदलीय सरकारको परिकल्पना गर्न नसकिने कांग्रेसको ठहर छ ।
एमालेको तर्फबाट कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय सरकार गठन गर्न यसअघि गरेको प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेको छ ।
मुख्यमन्त्री कार्कीले आफू नेतृत्व सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दे कोसी प्रदेशमा सर्वदलीय सरकार गठनको लागि औपचारिक रूपमै दलहरूलाई आह्वान गरेका थिए । यसको सम्भावनाबारे उनले काठमाडौंमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पनि छलफल गरेका थिए ।
सर्वदलीय सरकार गठनको विकल्पबारे छलफल भएको बताउँदै कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले बाह्रखरीसँग भने, “कोसी प्रदेशको राजनीतिक र सरकार गठनबारे अनौपचारिक छलफलहरू भएका छन् । तर के कसरी अघि बढ्ने भन्ने केन्द्रमा कुनै सहमति वा निर्णय भइसकेको छैन ।”
यता, प्रदेशमा भने कांग्रेस संसदीय दल कोसी प्रदेशले सर्वदलीय सरकारको गठनको कुनै सम्भावना नरहेको प्रस्ट्याएको छ । बिहीबार बसेको संसदीय दलको बैठक र उत्पन्न राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, “संघमा दश दलीय गठबन्धन छ । माओवादी केन्द्रले सरकारको नेतृत्व लिइरहेको छ । यहाँ पनि सोहीअनुरूप हुनुपर्छ । गठबन्धनको सरकार नै बनाउने हो । कुनै दलको बहुमत सरकार नबने बरु मध्यावधि निर्वाचनमा जाने हो । राप्रपासँग पनि छलफल हुन्छ ।”
थापाले विपक्षीविहीन सरकारको पक्षमा कांग्रेस नरहेको बताउँदै बरु सरकार नै नबन्ने अवस्था भए संवैधानिक व्यवस्थाअनुरूप मध्यावधि निर्वाचमा जाँदा फरक नपर्ने सुनाए ।
अहिले संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले कोसी प्रदेशमा भने एमाले नेतृत्वको सरकारलाई सघाइरहेको छ । जसपाले पनि एमालेलाई दिएको समर्थन कायमै छ ।
कांग्रेसले दुवै दललाई समर्थन फिर्ता लिन औपचारिक पत्राचार गर्ने निर्णय गरेको छ । अहिले एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपा एकजना सांसदको समर्थन छ । गठबन्धनमा रहेका माओवादी र जसपाले समर्थन फिर्ता लिनासाथ कार्की नेतृत्वको सरकार अल्पमतमा पर्छ । गठबन्धन दलसँग सरकार गठन गर्न वहुमत ४७ सांसद छन् ।
नेपाली कांग्रेसका कोसी प्रदेशसभा सदस्य शम्शेर राईले लोकतान्त्रिक पार्टी हुनुको नाताले आफूहरूले विपक्षीविहीन सरकार परिकल्पनासम्म गर्न नसक्ने बताए ।
“व्यवहारत ठूलो दल नै विपक्षी हुन्छन् । हामी विपक्षीबिनाको सरकार कल्पनासम्म गर्न सक्तैनौँ,” राईले भने, “एमाले नेतृत्वको सरकारमा जाने अथवा सबै दल मिलेर सरकार बनाउने सम्भावना म देख्दिनँ ।”
पछिल्लो समय कोसीमा गठबन्धन दलकै सरकार हुनुपर्नेमा कांग्रेसले दबाब बढाउँदै लगेको छ । कांग्रेस संसदीय दल गठबन्धन सरकार आफ्नै ‘बटमललाइन’ भएको जनाएको छ ।
पूर्वआन्तरिक मामिला मन्त्री तथा प्रदेश सभामा कांग्रेस सांसद केदार कार्की माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्र कोसी प्रदेशमा नयाँ राजनीतिक कोर्स सुरु हुने बताउँछन् ।
“पहिले सरकारलाई दिएको समर्थन फिर्ता हुनुपर्छ, अनिमात्र कसरी अघि बढ्ने भन्ने कार्ययोजना बन्ने हो,” कार्कीले भने, “त्यसपछि गठबन्धनमध्ये सरकारको नेतृत्व पहिले कसले लिने भन्ने त्यसपछि छलफल अनि सहमति हुने हो ।”
सरकार गठन हुँदा सहज बहुमतका लागि राप्रपाको साथ प्राप्त हुनेमा गठबन्धनका सांसद विश्वस्त छन् । राप्रपा सरकारमा सामेल भए गठबन्धनलाई ५३ सांसदको समर्थन प्राप्त हुने छ ।
एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी गठबन्धन नेतृत्वको सरकार गठनमा आफूले कठिनाइ देखेको बताउँछन् । कसले मुख्यमन्त्री लिने र बहुमत कसरी कायम गर्ने भन्नेमा गठबन्धन दल प्रस्ट नभएको उनले दाबी गरे ।
“माओवादी केन्द्रबाट सभामुख रहनुभएकाले उहाँले सरकारलाई कसरी विश्वासको मत दिनुहुन्छ भन्ने मुख्य प्रश्न छ,” उनले भने ।
आफूले बजेट अगावै नयाँ सरकार गठनको सम्भावना नदेखेको उनको भनाइ छ । मुख्यमन्त्री कार्की भने असार अगावै बजेट ल्याउने कुरामा प्रस्ट रहेको तर अध्यादेशमार्फत बजेट ल्याउने भन्ने परिचर्चामा कुनै सत्यता नहरेको भण्डारी बताउँछन् ।