site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आन्दोलनमा सहभागी हुन पुगेका बाबुरामकै यसरी गरियो विरोध
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन् । शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाद्वारा आयोजित भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत् आन्दोलनमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

स्थिर सरकार नहुँदा नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष रूपमा छानबिन हुने कुरामा शंका रहेको उनले उल्लेख गरे । वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भई कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने उनको धारणा छ ।

जनताले खबरदारी गरिरहे भ्रष्टाचारी बच्न नसक्ने पनि उनले बताए ।

“आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन्,” उनले भने, “हामीले यो गर्न सके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ । अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार । त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ ।”

आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईप्रति नागरिक खुसी थिएनन् । उनीहरूले यस्ता गतिविधिमा डा. भट्टराई र उनकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको पनि संलग्नता रहेको भन्दै विरोध जनाएका थिए ।

एक प्रदर्शनकारीले भने, “भुटानी शरणार्थी भएर बाध्यकारी अवस्था सिर्जना गर्ने भनेको बाबुराम भट्टराई र हिसिला यमीहरू हुन् । यिनीहरूको विरुद्धमा जनता जाग्नुपर्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकले विरोध गर्दै आएका छन् ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी गरिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी अझै फरार छन् । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलगायत व्यक्ति अनुसन्धानका क्रममा हिरासतमा छन् ।

सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ । निष्पक्ष छानबिनमा दबाब दिने उद्देश्यले नागरिक सडक आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro