
ग्रीष्मको प्रखरतासँगै लाखौँ श्रद्धालु भक्तजनका मनमा बद्रीनाथ तथा केदारनाथ मन्दिरको ढोका खोलिने प्रतीक्षा सुरु भइसकेको हुन्छ । शरद् ऋतुको आरम्भताका भाइटीकाका दिन दुवै मन्दिरका ढोकाहरू बन्द हुन्छन् । र, वैशाख महिनाको अक्षय तृतीयाको दिनदेखि मात्र खोलिन्छन् ।
ढोका खोलिने समयभन्दा महिना दुई महिनाअघि नै बाटोमा जमेर रहेका चारदेखि आठ फुट हिउँको ढिस्कोहरूलाई पन्छाउने काम ‘दीपक’ले सुरु गरिसकेको हुन्छ । ‘दीपक’ त्यस संस्थाको नाम हो, जसले उत्तराखण्डको चारै धामको सडकहरूको मर्मत तथा रेखदेखको काम गर्दै आएको छ । यो एउटा सैनिक संगठन हो । उत्तरी सीमासँग जोडिएको हुनाले पनि यी सडकहरूको सामरिक महत्त्व रहेको छ ।
थाहा छैन त्यो कुन शक्ति हो, जसले आजको भौतिकवादी बन्धनहरूलाई तोड्दै मानिसलाई त्यो बाटोतर्फ उन्मुख गर्दै आएको छ, जहाँ पुगेर मानिसलाई परम शान्ति मिल्ने गर्छ । पहाडको चिसो चिसो हावा, देवदार एवं सालका रुखहरूबाट छानिएर आउँछ, सहरको सासै थिच्ने हावाबाट मुक्ति दिलाउँछ ।
गढवाल हिमालय पर्वत शृंखलामा अवस्थित श्री केदारनाथ, श्री बद्रीनाथ, जमुनोत्री तथा गंगोत्री भारतको सनातन संस्कृति र विश्वासको प्रतीक हो । आदि शंकराचार्यको सुझबुझप्रति कृतकृत्य हुनुपर्छ, जसले भारतको चार कुनामा ‘चारधाम’ परिकल्पना गरेर ‘अनेकतामा एकता’ स्थापित गरेका छन् । हैन भने को जान्थ्यो र, उत्तराखण्डका यी कठिन बाटोहरूमा, को जाने थियो समुद्र किनारमा अवस्थित रामेश्वरम्तिर ! खैर ।
उत्तराखण्डका यी चारधामहरूको यात्रा सुरु हुन्छ हरिद्वारबाट । हरिद्वारलाई आश्रमहरूको नगर भनिदिँदा अत्युक्ति नहोला । पाइलापाइलामा अवस्थित अत्यन्त सुविधायुक्त आश्रम, धर्मशालाहरूले यात्रुहरूलाई हरेककिसिमबाट सुख–सुविधा उपलब्ध गराउँदै आएका छन् ।
हरिद्वारबाट ऋषिकेश लगभग २५ किलोमिटरको दूरीमा पर्दछ । किंवदन्ती यो पनि छ कि यहाँ लक्ष्मण झुला, लक्ष्मणले रामसँग ब्रह्महत्या (रावण हत्या)को पापमोचनका लागि तीर्थयात्रामा जाँदा आफ्ना वाणहरूबाट बनाएका थिए । पतितपावन भागीरथी गंगाको यो तट ऋषिहरूको पुण्यस्थल थियो । यहाँ आज पनि सयौँ आश्रमहरू छन् । हरिद्वार एवं ऋषिकेशको कुनैकुनै आश्रममा आवासका अतिरिक्त सात्विक भोजनको व्यवस्था पनि निःशुल्क गरिएको हुन्छ ।
हरिद्वार र ऋषिकेशमा असंख्य पर्यटकीय संस्थाहरू छन्, जसले यी चारै तीर्थस्थलको सुगम र सहज यात्राको व्यवस्थापन गर्दै आएका छन् । जमुनोत्री तथा केदारनाथ जानका लागि करिब १५–१६ किलोमिटर पैदलयात्रा गर्नुपर्छ । बद्रीनाथ तथा गंगोत्रीसम्म त बसै जान्छ ।
पूर्वप्राप्त सूचनाका आधारमा हामीले हरिद्वारमा नै लौरो, बर्सादी, कपडाको जुत्ताको व्यवस्था गर्यौँ । हामी २२ यात्री थियौँ । अतः एउटा मिनिबस चारै तीर्थका लागि व्यवस्था गर्यौँ । एउटा सुखद बिहानी हामी सबै यात्राका लागि निस्कियौँ ।
चारै धाम यात्राका लागि सर्वप्रथमतः जमुनोत्री जानु नै ठिक हुन्थ्यो । किनभने, त्यो ठाउँ घुमेर फेरि फर्किरहनु पर्दैन ।
हरिद्वारबाट करिब तीन घण्टामा ४० किलोमिटरको दूरी तय गरेर हामी टिहरी गढवालको जिल्ला मुख्यालय नरेन्द्रनगर पुग्यौँ । भनिन्छ कि यहाँबाट सूर्यास्तको अत्यत्त मनोरम दृश्य दृष्टिगोचर हुन्छ । तर, समय अभावका कारण त्यो सौभाग्य हामीलाई मिलेन ।
त्यहाँबाट फेरि हिँडेर करिब ११ बजेतिर फलका लागि प्रसिद्ध मानिएको चम्बा पुग्यौँ । १२ बजे टिहरी पुग्यौँ । ‘टिहरी बाँध’का कारण पनि यो स्थान चर्चित छ । बाँधस्थलका लागि निर्माण सामग्री तथा औजार अनि मेसिनहरूको भन्डारण निष्क्रिय फेला पर्यो, पर्यावरण तथा विकासको द्वन्द्वका कारण ! विकास छ भने पर्यावरण छैन, पर्यावरण छ भने विकास छैन । यो ठाउँ प्राकृतिक दृश्यरहित लाग्दै थियो । ठाउँठाउँमा क्रेनहरू तथा बुल्डोजरहरूको भीड ।
दिउँसो साँढे २ बजे हामी चढेको बस धरासू पुग्यो । हामी यतिखेर हरिद्वारबाट १८५ किलोमिटर टाढा आइसकेका थियौँ । यहीँबाट गंगोत्रीतर्फ जाने बाटो छुट्टिन्छ । ड्राइभर साहबको सल्लाहअनुसार हामीले यहीँको एउटा होटेलमा खाना खायौँ ।
यहाँबाट हिँडेर ४ बजे बडकोट पुग्यौँ । यहाँ एक दर्शनीय प्राचीन मन्दिर पनि रहेछ । बस्नलाई टुरिस्ट लज तथा विश्रामगृहहरूको राम्रो व्यवस्था रहेछ ।
हामीले २०६ किलोमिटर बाटो तय गरिसकेका थियौँ र अब हनुमान चट्टी केवल ३६ किलोमिटर मात्र टाढा थियो, जहाँबाट यमुनोत्रीको पैदलयात्रा सुरु हुन्थ्यो । धरासूभन्दा अगाडिको सडकबाटो डरलाग्दो भएको महसुस हुन थाल्यो । बसको झ्यालबाट तलतिर हेर्दा नै भाउन्न लाग्थ्यो । नागबेलीझैँ लहरदार सडक र हल्लिँदै गरेको बस – बस्, हामी सबै राम नाम जपिरहेका थियौँ !
बडकोटभन्दा अगाडि बढेर कुथनौर नाम गरेको ठाउँ पुग्दा नपुग्दै हामीले रोकिनुपर्यो । बसभन्दा तल ओर्लिएर हेर्दा देखेँ, सयौँ बस, कार जीपहरूको लर्को लागेको थियो । न कुनै आइरहेको थियो न त गइरहेको नै ।
पछि थाहा लाग्यो, मास्तिर कुनै बस दुर्घटनामा परेछ । हामीले आफूसँग भएको दूरबिन निकालेर हेर्यौँ – सयौँ फिटमाथि सडकछेउमा एउटा बस यस्तरी खडा थियो, मानौँ अब झर्यो तब झर्यो ! त्यसको एउटा पांग्राले सडकको छेउ भेटेको थियो, हाम्रो हृदयलाई कम्पित गराउँदै ।
हामी सबैले राति कथनौरमा नै रोकिने निर्णय लियौँ । हेर्दाहेर्दै छ सात घर रहेको यो बजार यात्रुहरूको भीडले भरियो । जसले जहाँ ठाउँ पाए त्यही कब्जा गरे । चियापसलेहरूले काँचोकचिलो रोटी र आलुको पातलो रसदार तरकारी खुवाएर अगाडि पुगेकाहरूको भोक मेटे । पछि आउने कम भाग्यशालीहरूको भागमा पाउरोटी र बिस्कुट पर्यो ।
एउटा पसलको नवनिर्मित उबडखाबड जमिनमा दरी र अन्य ओछ्याउने लगाएर हामी सुत्ने उपक्रम गर्न थाल्यौँ । चिसोचिसो हावा र छेउमै बग्दै गरेकी यमुनाजीको आवाजले भने हामीलाई जागा रहन बाध्य पारिरहेको थियो ।
भोलि बिहान टिहरीबाट बुलडोजर आएर बसलाई हटाइनेछ । तबसम्मका लागि विश्राम ।
(श्रेष्ठको यात्राकृति ‘देश–देशान्तर’बाट अनुवाद ।)