
काठमाडौं । इन्टरनेटमा पहुँच पाउने अर्थात् ब्रोडब्यान्ड सेवामा सबैभन्दा ठूलो हिस्सा मोबाइल नेटवर्कको रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकानुसार ब्रोडब्यान्ड सेवामा मोबाइल नेटवर्ककको हिस्सा ७०.३३ प्रतिशत रहेको देखिन्छ ।
यस्तै, दोस्रोमा वायर्ड अथवा फिक्स्ड बोर्डब्यान्डको हिस्सा २८.४९ प्रतिशत छ । तेस्रो नम्बरमा वायरलेस ब्रोडब्यान्डको हिस्सा ०.१७ प्रतिशत छ ।
नेपालमा मोबाइल ब्रोडब्यान्डअन्तर्गत थ्रीजी, फोरजी र ईभीडीओ सेवा छ । वायर्ड अथवा फिक्स्ड ब्रोडब्यान्डअन्तर्गत एडीएसएल, फाइबर टु दि होम (एफटीटीएच) र इन्टरनेट लिज लाइनबाट सेवा उपलब्ध छ । वायरलेस ब्रोडब्यान्डअन्तर्गत रेडियो वाइफाई सेवा छ ।
तीन करोड ८७ लाख ब्रोडब्यान्ड सेवा
नेपालमा वायर्ड, वायरलेस र मोबाइल नेटवर्क गरी ब्रोडब्यान्ड सेवाको सब्सक्रिप्सन तीन करोड ८७ लाख ५२ हजार ६०५ पुगेको प्रािधकरणले जनाएको छ । यो नेपालको जनसंख्याको १३२.७६ प्रतिशत हो ।
तीन करोड ७० लाखभन्दा बढी टेलिफोन सेवा
गएको माघ मसान्तको तथ्यांकानुसार नेपालमा टेलिफोन सेवाको सब्सक्रिप्सन तीन करोड ७० लाखभन्दा बढी अर्थात् जनसंख्याको १२६ प्रतिशत छ । एकै प्रयोगकर्ताले दुई वा सोभन्दा बढी सेवा प्रयोग गरेका कारण संख्या बढी हुने गरेको प्रािधकरणले जनाएको छ ।
टेलिफोन सेवामा सबैभन्दा बढी नेपाल टेलिकमको ५७ प्रतिशत र एनसेलको ३६ प्रतिशत हिस्सा छ । प्राधिकरणका अनुसार नेपालमा थ्रीजीका प्रयोगकर्ता करिब ८१ लाख र फोरजीका प्रयोगकर्ता करिब एक करोड ९२ लाख पुगेका छन् ।