
विराटनगर । नेकपा (एमाले) नेतृत्वको कोसी प्रदेश सरकारमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीलाई फिर्ता बोलाउन पार्टीभित्र चर्को दबाब परेको छ ।
प्रदेश र जिल्लास्तरीय नेताले पार्टीको केन्द्रीय नेतृत्वलाई सरकार छाड्न र मन्त्री भक्तिप्रसाद सिटौलालाई फिर्ता बोलाउन दबाब दिएका हुन् । सिटौला प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारीमन्त्री छन् ।
पार्टीको मूल सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर हुँदा जनस्तरमा गलत सन्देश गएको भन्दै केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गरिएको हो । पार्टीको कोसी प्रदेशस्तरीय बैठकमा सहभागी प्रदेश र जिल्लास्तरीय नेताले तुरुन्तै सरकार छाड्नुपर्ने मत राखेका हुन् ।
झापाको दमकमा हालै सम्पन्न विस्तारित बैठकमा राप्रपाले संघीयता र गणतन्त्रको वकालत नगर्ने सैद्धान्तिक विषय स्पष्ट हुँदाहुँदै ‘प्रदेश सरकारमा किन बसिरहेको ?’ भन्दै प्रश्न गरेका थिए ।
‘अब सरकारमा रहिरहनु व्यावहारिक रूपमा ठिक नभएको’ भन्दै आफूले बैठकमा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको ध्यानाकर्षण गरेको राप्रपा मोरङका अध्यक्ष माधवप्रसाद आचार्यले बताए । उनले भने, “हामी गणतन्त्रको पक्षधर नहुनुको नाताले सरकारमा बस्नु हुँदैन भन्ने मेरो कुरा प्रस्ट राखेँ । प्रदेश खारेजीको मागमा अडिग हुन र यसप्रति जनमत सिर्जना गर्न पार्टीले अभियान सञ्चालन गर्नुपर्छ ।”
बैठकमा सहभागी कोसी प्रदेशका १२ जिल्लाका अध्यक्ष, प्रदेश समितिका पदाधिकारी र पालिका सदस्यमध्ये अधिकांशले यहाँ मात्र सरकारमा सामेल हुन नहुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश नामकरणको सवालमा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग मिलेर मत दिएको विषयलाई समेत सहभागीले गम्भीर रूपमा उठाएको मोरङ अध्यक्ष आचार्यले जानकारी दिए ।
नामकरणमा प्रमुख तीन दलले गरेको कोसी नाममा राप्रपाले समर्थन जनाई पक्षमा मतदान गरेको थियो । प्रदेशसभामा राप्रपाका ६ सांसद छन् ।
अब सरकारमा रहिरहने कि बाहिरिने भन्ने निर्णय गर्न केन्द्रीय अध्यक्षको नेतृत्वमा कार्यदल बनेको राप्रपा कोसीका अध्यक्ष राम थापाले जानकारी दिए । कार्यदलमा प्रदेशसभाका सांसदसहित प्रदेश अध्यक्ष थापा र मोरङ अध्यक्ष आचार्य, सुनसरी अध्यक्ष दुर्गाबहादुर बस्नेत र उदयपुर अध्यक्ष ध्रुव रायमाझी छन् । कार्यदलले यसबारे चाँडै निर्णय गर्ने प्रदेश अध्यक्ष थापाले जानकारी दिए ।
बैठकमा ‘फ्लोर’बाट उठेका जिज्ञासाबारे जवाफ दिँदै अध्यक्ष लिङ्देनले अरू प्रदेशमा सहज रूपमा पार्टीले सरकार छाडेको बताए । कोसीको विषय राजनीतिक रूपमा अलि संवेदनशील भएको उनले उल्लेख गरे ।
राप्रपाले सरकार छाड्दा कुनै पनि दलले बहुमत लिएर सरकार गठन गर्न कठिन हुने र मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था आउने उनले बताए । त्यसको अपजस आफ्नो पार्टीको टाउकोमा आउन सक्नेतर्फ उनले सहभागीको ध्यानाकर्षण गराएका थिए ।
अहिले कोसीमा राप्रपाका ६ सांसद, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रको समर्थनमा एमालेका हिक्मत कार्की नेतृत्वको सरकार छ । माओवादी र जसपा हालको केन्द्रीय सत्ता गठबन्धनमा छन् । राप्रपा, जसपा र माओवादीले साथ छाड्दा कार्की नेतृत्वको सरकार अल्पमतमा पर्छ ।
एमाले एक्लैसँग ४० प्रदेशसभा सदस्य छन् । बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ । सत्ता गठबन्धनतर्फ ४७ सांसद छन् । तर, सभामुख माओवादीबाट भएका कारण निर्णायक मत हाल्नुपर्ने हुन्छ । बजेटअगावै कार्की नेतृत्वको सरकार ढाल्ने प्रयास भइरहेको छ ।