
सुरेश जोशी
जेलका ती अनिदा रात
सम्झिँदा कहालीलाग्दा अवश्य थिए होलान्
ती जन्जिर र नेल ठोकिँदाका क्षणहरू
अत्यन्त दुष्कर अवश्य थिए होलान्
तर, त्यागले मात्र पेट भरिँदैन
आदर्शले मात्र आङ ढाकिँदैन हजुर
इतिहासको गर्तबाट नियाल्दा
त्यो कुर्बानी महान् थियो होला
तर,
विचारशून्य र दिशाशून्य नेतृत्व दिँदा
आर्यघाटमा शान्ति त दिन सक्ला
विरासत कायम राख्ने चरम लालसाले
इतिहासको ब्याज मात्र होइन,
बीउ पुँजी नै नष्ट हुने खतरा छ हजुर
स्वतन्त्रताका पक्षमा गरिएका चर्का भाषण
वाक् स्वतन्त्रताका पक्षमा बाँधिएको कालो पट्टी
सार्वभौमसत्ता स्थापित गर्न
मद्दतगार जरुर थिए
तर, वास्तविक जीवनमा त
अधिकारले मात्र नपुग्दो रहेछ
भोको पेटले त रोटी माग्दो रहेछ हजुर !
इलिट हुने भोगले
भुईंमान्छेका पीडा देख्न छोडी
स्वतन्त्रताको लागि गरेको कुर्बानीको
ब्याजले मात्र राजनीति धानिदिँदा
कहीँ
‘जोई न जुँगा पोई न पोते,
सातु न सोर्प्याक, केरा खाँदै सुसेल्दै’
भनेजस्तो पो हुने हो कि हजुर !