site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ध्रुवचन्द्र गौतम : आविष्कारी आख्यानका दशकहरू, अतृप्त अवसर र मोहनी मादलको
Sarbottam CementSarbottam Cement

ध्रुवचन्द्र गौतम : आविष्कारी आख्यानका दशकहरू
(व्यक्तित्व कृतित्व : सं. खुमनारायण पौडेल/ईशान गौतम)
आख्यानकार डा. ध्रुवचन्द्र गौतमको व्यक्तित्व र कृतित्वमाथि विहङ्गम रूपमा लेखिएको पुस्तक हो, ‘ध्रुवचन्द्र गौतम : आविष्कारी आख्यानका दशकहरू’ । आख्यानकारितामै करिब सात दशक खर्चिएका डा. गौतमको विषयमा लेखिएको यस पुस्तकले उनको जीवनयात्रा र समग्र लेखन प्रवृत्तिलाई पाठकसामु उजागर गरेको छ ।

पुस्तकका सम्पादकद्वय डा. खुमनारायण पौडेल र डा. ईशान गौतमले सम्पादकीयमा लेखेका छन्, “नेपाली साहित्यका एक मूर्धन्य व्यक्तित्व, अथक साधक, कैयन् कालजयी कृतिका जन्मदाता, विलक्षण आविष्कारी आख्यानकार डा. ध्रुवचन्द्र गौतमको सम्मानस्वरूप साहित्य र समाजबीचको संवादलाई एकीकृत गराउने प्रयास यस पुस्तकमा गरिएको छ । अर्थात्, नेपाली साहित्यमा विद्यमान वर्तमान धारालाई बहसमा समाहित गराउने प्रयास गरिएको छ ।”

साहित्यकार बसन्त चौधरी आफ्नो मन्तव्यमा लेख्छन्, “उहाँको लेखन शिल्पबाट त सबै प्रभावित छन् । २९ वटा त उपन्यास मात्र लेखिसक्नुभएका उहाँ नेपाली आख्यानजगत्मा कीर्तिमानी सर्जक पनि हुनुहुन्छ । यति उच्चकोटीको एउटा सर्जकसँग संगत गर्न पाउनु मेरा लागि सौभाग्य नै हो भन्ने ठान्छु म र यसकारण पनि म उहाँलाई सम्मान गर्छु ।...।”

Prabhu Bank
Agni Group
NIC Asia

आविष्कारी आख्यानकारबाट विभूषित डा. ध्रुवचन्द्र गौतमसँग जीवन र जगत्बारे गरिएको लामो अन्तर्वार्ता यसभित्र समावेश छ । जसमा आख्यानकार गौतमले आफ्नो जीवन र लेखनयात्राका यावत् पक्षहरूलाई बताएका छन् । ३२ पृष्ठ लामो अन्तर्वार्तामा उनका धेरै प्रसंग समाविष्ट छ । ‘ध्रुवचन्द्र गौतम : जीवनको आठ दशकको यात्रा’ शीर्षकको अन्तर्वार्तामा उनको बाल्यकालदेखि आजसम्मका यात्राबारे ८० सवालजवाफ प्रस्तुत छन् ।

त्यसबाहेक ‘कृतिहरूमा धु्रुवचन्द्र’, ‘संस्मरणहरूमा ध्रुवचन्द्र’, ‘गुरु रूप : ध्रुवचन्द्र’ ‘मित्रका दृष्टिमा धु्रुवचन्द्र’ लगायत शीर्षकहरूभित्र ५५ रचना समाहित छ । त्यस अतिरिक्त ‘पारिवारिक दृष्टिमा धु्रुवचन्द्र’ र ‘पाठकीय दृष्टिमा धु्रुवचन्द्र’भित्र पनि उनका अनेक रङ प्रस्तुत छन् ।

Global Ime bank

मेघा चौधरीद्वारा प्रकाशित ३१२+४ पृष्ठको यस पुस्तकको मूल्य ५००– रुपैयाँ राखिएको छ ।

०००

अतृप्त अवसर
(अर्थ राजनीतिक विचार : स्वर्णिम वाग्ले)
पछिल्लो समय चर्चामा रहेका व्यक्ति हुन्, अर्थशास्त्री डा. स्वर्णिम वाग्ले । जो केही समयअघि मात्र प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएर आएका छन् । उनै अर्थशास्त्री वाग्लेको अर्थ राजनीतिक विचारहरू समेटिएको पुस्तक हो, ‘अतृप्त अवसर’ । यस पुस्तकभित्र विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित डा. वाग्लेका लेखहरू समावेश छ ।

पुस्तकको भूमिकामा नेपाली कांग्रेसका नेता गगन थापाले लेखेका छन्, “तथ्यसंगत तर्क र प्रक्षेपण त हुन्छन् नै । युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका विचारहरूमा म पाउँछु । विगत केही वर्षदेखि म यस्तै आशाको त्यान्द्रो समातेर सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र समुन्नत नेपालको विचार निर्माण गर्न प्रयत्नरत रहेको हुँदा मेरा लागि यो पुस्तक सान्दर्भिक र उपयोगी छ ।” (पृष्ठ—ख)

बितेको २५ वर्षदेखि अन्तर्राष्ट्रिय विकासमा सक्रिय वाग्ले विश्व बैंक (वासिङटन) र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेको पुस्तकमा प्रस्तुत उनको परिचयले देखाउँछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहिसकेका डा. वाग्ले सन् १९९० को एसएलसीमा बोर्ड सेकेन्ड भएका थिए ।

यस पुस्तकभित्र १९ वटा अर्थ राजनीतिक र सामाजिक विषयका लेखहरू तथा डा. वाग्लेका ६ अन्तर्वार्ताहरू संगृहीत छ ।

‘विकास मार्गले कोल्टे फेर्ने अवसरमा’ वाग्ले लेख्छन्, “हामी अहिले विश्वमा दरिद्रतम् मुलुकहरूको क्लब ‘अतिकम विकसित मुलुक’ (एलडीसी)को सूचीमा छौँ । हामी स्तरोन्नतिका लागि योग्य भएको सन् २०१८ मै हो । तर, सारेर सन् २०२६ पनि स्तरोन्नति हुने भएका छौँ । स्तरोन्नति नेपाललाई विकासको फरक बाटोमा लैजाने अवसर हो ।” (पृष्ठ—३८)

फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित २८८+४ पृष्ठको यस पुस्तकको मूल्य ५९८– रुपैयाँ राखिएको छ ।

०००

मोहनी मादलको
(जीवनी : शेखर खरेल)
संगीतकार रञ्जित गजमेरको परिचय दिइरहनु पर्दैन । उनले नेपाली र हिन्दी गीत–संगीतमा पुर्याएको योगदानले नै उनलाई त्यो उचाइ दिएको छ । नेपाली सिनेसंगीतमा पनि उनको योगदान उल्लेखनीय मानिन्छ । बलिउडका संगीतकार आरडी बर्मन (पञ्चम दा)का खास वाद्यवादकमध्येका एक हुन्, रञ्जित । उनै संगीतस्रष्टाको जीवनकथा समेटिएको कृति हो, ‘मोहनी मादलको— दार्जिलिङ, काठमाडौं र बम्बईबीच रञ्जित गजमेरको संगीत–यात्रा’ ।

केही समयअघि प्रकाशनमा आएको यस कृतिका लेखक पत्रकार शेखर खरेल आफ्नो लेखनी ‘मादलको सम्मोहन’मा लेख्छन्, “रञ्जित गजमेरजस्तो विराट प्रतिभाको जीवन अनि संगीतयात्रा शब्दमा उतार्नु आफैमा दुरूह कार्य हो । उहाँजस्तो स्रष्टाबारे लेख्नु भनेको इन्चिटेप लिएर सगरमाथाको नाप लिने धृष्टता गर्नुसरह हो । यद्यपि, नेपाली संगीतका कुनै पनि मूर्धन्य व्यक्तित्व, चाहे नारायणगोपाल हुन् वा गोपाल योञ्जन, तारादेवी हुन् वा अरुणा लामा, नातिकाजी हुन् वा अम्बर गुरुङ, कसैको पनि जीवनगाथा उहाँहरू जीवितै रहँदा प्रकाशन हुन नसकेको सन्दर्भमा उहाँको जीवनकालमै आत्मकथा प्रकाशन गर्न पाउनु मेरो लागि मात्र नभएर समस्त संगीत क्षेत्रका लागि सौभाग्य हो । उहाँसँगको कुराकानीमा आधारित यो पुस्तक यस दृष्टिले पनि आधिकारिक रहनेछ ।” (पृष्ठ—१३)

पुस्तकमा प्रसिद्ध गायिका आशा भोसलेले शुभकामना लेखेकी छन्, “उसको पहाडी गीत र मादलले पञ्चमजीका गीतहरूलाई दुई गुणा रस भरिदिए । आरडी बर्मनका प्रत्येक गीतमा मादल गुञ्जन थाल्यो ।” (पृष्ठ—७)

कृतिभित्र २० शीर्षकमा संगीतकार गजमेरको जीवनयात्रा समेटिएको छ । यसभित्र ‘बाल्यकाल र दार्जिलिङ’ छ । ‘रेडियो नेपालको सेसन’ छ । ‘डेस्टिनेसन बम्बई’ छ र छ ‘बम्बईमा प्रेमध्वज र नारायणगोपाल’ पनि । यसरी २० भागमा उनको जीवनका उकाली–ओराली पाठकले पढ्न सक्नेछन् ।

पुस्तकभित्र ‘डेस्टिनेसन बम्बई’मा लेखिएको छ, “बर्मन साहेबको घरबाट बाहिरिएपछि ‘ए साँच्ची तिमीले आरडी बर्मनको नाम सुनेका छौ, तिसरी मञ्जिलका म्युजिक डाइरेक्टर,’ मनोहरि दाइले भन्नुभयो, ‘त्यहाँ मेरो एकछिन काम छ, तिमी पनि मसँगै हिँड ।’ भेनाको केही काम भएकाले उहाँले मलाई मनोहरि दाइसँग छाडेर फर्किनुभयो । मनोहरि दाइले मलाई उहाँको गाडीमा बसाएर बान्द्राबाट शान्ताक्रुजतिर लग्नुभयो । शान्ताक्रुज जिमखाना ठिक अगाडि सुरमन्दिर नामको एक आकर्षक कटेज रहेछ । आरडी बर्मनको निवास त्यही नै रहेछ ।...।” (पृष्ठ—८५/८६)

वी रिडद्वारा प्रकाशित २४०+४ पृष्ठको यस जीवनीको मूल्य ५५०– रुपैयाँ राखिएको छ ।

००० 

नयाँ युगमा चीन 
(चीन चर्चा : चेतनाथ आचार्य)
लेखक/साहित्यकार समेत रहेका चेतनाथ आचार्यले बितेको लामो समयदेखि छिमेकी मुलुक चीनमा रहेर पत्रकारिता गर्दै आएका छन् । एक दशकदेखि उनी बेइजिङस्थित चिनियाँ मिडिया ग्रुप (सीएमजी)को नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् । लेखक आचार्यको हालै प्रकाशित पुस्तक हो, ‘नयाँ युगमा चीन’ ।

यो उनको सातौँ पुस्तक हो । ‘रित्तो कोठाको तस्बिर’, ‘बुद्धको उपहार’, ‘उपहार’ गरेर तीन कथासंग्रह प्रकाशित गरिसकेका छन् । चेतनाथका एक उपन्यास, एक संस्मरणसंग्रह र एक समसामयिक लेखसंग्रह पनि यसअघि नै सार्वजनिक भइसकेको छ ।

पुस्तकमा लेखक आचार्य लेख्छन्, “पछिल्लो एक दशकमा चीनले राष्ट्रिय र अन्तर्राष्ट्रियजगत्बाट प्राप्त गरेको सफलता नै वर्तमान चिनियाँ नेतृत्वको दूरगामी दृष्टिकोण र जनताकेन्द्रित सेवाभावले सम्भव भएको हो ।”

पुस्तकको प्रकाशकीयमा वासुदेव ढकाल लेख्छन्, “प्रस्तुत पुस्तकमा देश र जनताका लागि पार्टी र नेताले कुन हदसम्मको समर्पित भावले सेवा गर्दछन् र राष्ट्रसेवा तथा नेतृत्वप्रति जनता कति जिम्मेवार, अनुशासित र कर्तव्यनिष्ठ हुन्छन् भन्ने प्रस्ट देख्न र बुझ्न सकिन्छ ।”

यस पुस्तकभित्र २६ भागमा चीनसँग जोडिएका विभिन्न विषयवस्तु प्रस्तुत गरिएको छ ।

मकालु प्रकाशन गृहद्वारा प्रकाशित २३२+४ पृष्ठको यस किताबको मूल्य ४९९– रुपैयाँ राखिएको छ ।
  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC