
काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक संघले वैशाख १६ गते देशभर विभिन्न कार्यक्रम गरी लेखक दिवस मनाएको छ ।
‘लाइब्रेरी पर्व’का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने गरी संघले निर्णय गरेको छ । सोहीअनुरूप हरेक वर्ष वैशाख १६ गतेलाई लेखक दिवसका रूपमा मनाउन थालिएको हो ।
शनिबार संघको केन्द्रीय कार्यसमितिले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा एक लाख रुपैयाँ राशिको राष्ट्रिय लेखक पुरस्कार प्रदान गरियो । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले यो पुरस्कार पहिलोपटक वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला (तिलविक्रम नेम्वाङ)लाई प्रदान गरे । प्रत्येक दुई वर्षमा यो पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
कार्यक्रममा पुरस्कृत कवि काइँलासहित प्रा. डा. ज्ञानु पाण्डे, कवि तीर्थ श्रेष्ठ, कवि सोझो गाउँलेलगायत व्यक्तिले बोलेका थिए ।