
हिजो बेलुका ६ बजे काठमाडाैंबाट हिँडेको बस विभिन्न ठाउँका जामहरू पार गर्दै बिहान १० बजे तम्घास पुग्यो । बसबाट ओर्लिनेबित्तिकै दुर्गादेवीले जिउ मर्याक्मुरुक पारिन् । आङ तानिन् र ठूलो सास फेरिन् । डिकीमा राखिएको सामान पहिचान गरी लिने उपक्रममा उनका श्रीमान् भने खलासीको पछिपछि बसको पछाडितिर गए र एक छिनमा एउटा ठूलो ब्याग झुन्ड्याउँदै श्रीमतीको छेउमा आए ।
“ल जाऊँ, मलाई त कस्तो जिउ दुखेर, टाउको दुखेर कतिखेर घर पुगौँ र डङर्ङ्ङ ओछ्यानमा लडौँजस्तो भा’को छ,” दुर्गादेवीले भनिन् ।
“हँऽऽऽ, के भन्छे यो ! कोरोनाको लक्षण बताउँछे त, कि सर्यो ए तँलाई पनि ? यति लामो यात्रा, बसमा कतिजनालाई लागेको थियो होला, सर्न पनि के बेर !,” शशिधरले शंका व्यक्त गरे ।
“हैन हो, त्यस्सै नचाहिँदो कुरा सोच्नुहुन्छ । मलाई काठमान्डूबाट बसमा आउँदा जहिल्यै यस्तै हुन्छ,” दुर्गादेवीले बाटो लाग्दै भनिन् ।
“हैन, कालबेला यस्तो छ, डर त हुने नै भो नि । ल छिटो हिँड् त्यसो भए,” शशिधरले बसपार्कको छेउछेउ भएर आफ्नो घरतिर लम्कँदै भने ।
उनीहरू एक महिना काठमाडौंमा छोराबुहारीकहाँ बसेर घर फर्किंदै थिए । छोराले हतार नगर्न कति सम्झाए, मानेनन् उनीहरूले । ‘कहीँ न’भाको तपाईंहरूको घर, बजारका कुकुर भेला भएर घर खाइदिने त हैनन् होला ! किन मरिहत्ते गरेर त्यो बुढो घर कुर्न जानुपर्यो ?’ भनेर छोराले रिसाएरै भन्दा पनि मानेनन् बूढाबूढी ।
काठमाडौंको बिरानो वातावरण, सानो चौघेराभित्र थुनिएर बस्न सकस भयो उनीहरूलाई । शशिधरभन्दा पनि उनकी श्रीमतीले बढी जोड गरिन् घर फर्किन । र, अन्त्यमा फर्के उनीहरू ।
बसपार्कबाट पाँच मिनेटको पैदल दूरीमा छ उनीहरूको घर, तम्घास बजारमै । तीनतिर जाने बाटोको केन्द्र पर्ने र व्यापारिक प्रयोजनका लागि उपयुक्त ठाउँमा भए पनि उनीहरूको घर पुरानो ढाँचाको छ ।
सटरहरू बनाएर भाडामा लगाउने हो भने राम्रै आयआर्जन हुने खालको भए पनि पुरानो घरलाई भत्काएर नयाँ निर्माण गर्न बूढाबूढीले आँट नगरेकाले र छोराबुहारीले चासो नदेखाएकाले त्यत्तिकै छ ।
छोराबुहारी दुवै डाक्टर हुन् । राम्रै कमाइ भएकाले पनि घरबाट प्राप्त हुन सक्ने अतिरिक्त कमाइतर्फ उनीहरूको ध्यान नगएको हो । पुरानो खालको भए पनि चिटिक्क पारेर रङरोगन गरिएको घर बजारमा राम्रै देखिन्छ । घरको कम्पाउन्डलाई घेरेर पर्खाल बनाइएको छ र बाटोसँगै सटाएर गाडी प्रवेश गर्न सक्ने गेट हालिएको छ ।
हो, यही गेटको अगाडि शशिधर दम्पतीले परैबाट देखे, भुईंमा प्लास्टिक बिछ्याएर त्यसमाथि राखिएका केही सामानहरू बेच्न एकजोडी मान्छे ग्राहक पर्खेर बसिरहेका छन् । आफ्नो गेटमै सटाएर र अझ गेटबाट हुने आवतजावतलाई नै अवरुद्ध हुने गरी बिछ्याइएको यो दृश्यले आश्चर्यचकित भएका उनीहरू हतारहतार त्यसतर्फ बढे ।
दृश्य नजिकिँदै गएपछि अझ स्पष्ट हुँदै गयो । निलो रङको त्रिपालजस्तो गरी बिछ्याइएको प्लास्टिकमाथि स–साना पोलिथिन ब्यागमा चार–पाँच किसिमका रङ अबिरहरू, केही देवीदेउताका तस्बिरहरू, महिलाले लगाउने केही सस्ता फुली, झुम्का, टीका र चुरालगायत सामानहरू बेच्न राखिएका छन् ।
सामान बेच्न बसेका जोडी उनीहरूको आफ्नै जोडीभन्दा केही बढी उमेरको र हेर्दा तराईवासीजस्तो देखिन्छ । दुईमध्ये महिलाचाहिँ साँवलो वर्णकी छे । असाध्यै दुब्ली–पातली, चुच्चो अनुहार परेकी महिलाको अनुहारमा अस्वाभाविक रूपमा खडा ठूलो नाक लिएर आफूतिर आउँदै गरेको जोडीतर्फ आशालाग्दो नजरले हेरिरहेकी छे ।
पुरानो रङ उडेको सारी र चोलोमा बेरिएकी उसले सानो टाउकोमा कपाल छोपिने गरी सारीको सप्को ओढेकी छे र उसको नाकको दाहिनेपट्टि चाँदीको नटल्किने खालको फुली छ ।
त्यहीँ फिँजाइएका सामानहरू यताउता मिलाउँदै बसेको लोग्नेमान्छेचाहिँ कालो वर्णको, होचो, पेट अलिकति अगाडि निस्केको तर अत्यन्त साना हातखुट्टा भएको देखिन्छ । अधिकांश कपाल फुलेको, झुस्स सेता दारीको बीचमा फुस्रो अनुहार लिएको त्यो मान्छेले सेतो तर मैलो कुर्ता र खैरो रङको पाइजामा लगाएको छ । उसले पनि जब आफूतिर आउँदै गरेको जोडीलाई देख्यो, उत्सुकतापूर्वक उनीहरूलाई निहार्न थाल्यो ।
सबै दृश्य छर्लंग भएपछि शशिधर खिसिक्क हाँसे, तर दुर्गादेवीको भने रिसले पारा तात्यो । अझ आफ्नो लोग्नेले समेत स्थितिको गम्भीरतालाई मनन् नगरी हल्का रूपमा लिएर हाँसेको देखेपछि त उनी झन् बढी आवेगमा आइन् ।
“हाँसिराख्नुस् तपैँचैँ, केही मत्लब छैन है आफ्नै घरअगाडि यो तमास देख्दा पनि, लोग्नेमान्छेको जात त परिगो !,” दुर्गादेवी लोग्नेलाई आँखा तर्दै र भुत्भुताउँदै छिटोछिटो पाइला चालेर आफ्नो घरअगाडि पुगिन् । र, फैलाइएको बिस्कुनअघि ठिंग उभिइन् ।
“के दिऊँ हजुर ?,” पसल थापेकी महिलाले ठूलठूला आँखाले अपलक दुर्गादेवीलाई हेर्दै सोधिन् ।
“अझ के दिऊँ रे ! को हो तिमेरु ? कसैको घरअघिल्तिर यसरी मनपरी गर्न पाइन्छ ? तुरुन्त हट्छौ याँ’ट कि फाल्दिऊँ यो सब ?,” दुर्गादेवीले ती महिलातिर हेर्दै खाउँला झैँ गरेर कराइन् ।
“ल भैगो, अहिलेसम्म बसिहाल्यौ, अब जाऊ तिमेरू, अर्कै ठाउँमा गएर थाप आफ्नो पसल,” बोकिराखेको ब्याग भुईंमा बिसाएर शशिधरले श्रीमतीको आवेग कम गर्न त्यो जोडीतर्फ हेरेर शान्त स्वरले भने ।
आफ्ना ग्राहक होलान् भनेर आशा गरिएका मान्छेले त अचानक कडा स्वरमा उनीहरूलाई हट्न आदेश दिएको देखेर छक्क परे पसलवाला जोडी । मधेसी मूलका मानिसलाई यस्तो पहाडी बस्तीमा हुने दुत्कार, फड्कार र उनीहरूप्रति गरिने रुखो बोली–व्यवहारसँग परिचित र भुक्तभोगी यो जोडीले त्यस्तै बोली–व्यवहारमध्येको एउटा नमुनाको रूपमा लिए शशिधर दम्पतीको आदेशलाई ।
आखिर जो कसैले, बिनाकुनै कारण हेप्न सक्छन् । त्यसै निहुँ खोज्न सक्छन् । उनीहरूलाई दुई–चार गाली वा कटुवचन बोल्न सक्छन्, यो सामान्य नै हो उनीहरूका लागि । यस्तो बेला आफूले पनि जोरी खोज्ने, अन्यायपूर्ण बोली–व्यवहारको ठाडै प्रतिकार गर्ने वा ठूलो स्वरमा बोल्ने गर्नु हुँदैन । बरु, जेजे भने पनि, गरे पनि सहनुपर्छ । आत्मसम्मानमा चोट परे पनि ङिच्च हाँसिदिनुपर्छ र आफूउपर दयाको लागि याचना गर्नुपर्छ भन्ने कुरा उनीहरूको अहिलेसम्मको अनुभवले सिकाएको ज्ञानको निष्कर्ष थियो ।
प्राप्त ज्ञानको सदुपयोग गर्दै मसिनो स्वरमा पसलवालीले शशिधर दम्पतीसँग आफूले जानेजतिको नेपाली भाषा प्रयोग गरेर बोली, “काहे हुजुर, ये घर कति दिन से बन्द पडा है, देखिहाल्नुस् बड्का ताला लगा है गेटमे । हम इस जगामे बैठके थोडा बेपार गरेछौँ त के बिगडी हाल्छ, हुजुर ?”
“ए तेसो पो ? घरमा मान्छे रैनछन्, ताला फोरेर भित्रै पसेको भे’हुन्थ्यो नि, किन बाहिरै बसेको त ? बढ्ता बोल्छेस् बूढी ! यो हाम्रो घर हो, अर्काको घर पस्ने बाटो समेत छेकेर बेपार गर्ने तिमेरु ? धेर मुख चलाउने हैन, तुरुन्त भाग् याँटी !,” दुर्गादेवीले खाउँलाजस्तो गरिन् ।
बल्ल पसलवाला जोडीलाई स्थितिको बोध भयो । पसलवाली महिला अब भने अलिकति डराई र के भनाँ भनौँ भएर अकमक्क परी । यति बेरसम्म शान्त रहेको बूढोचाहिँ स्थिति सामान्यीकरण गर्न अघि सर्यो र भन्यो, “यो औरत कुरा बुझे छैन हुजुर, माफी गर्दिनुस् । ये घर हुजुरको छ, हामीले थाहा भएन । जगा खाली देखेर दु हप्तादेखि हामी यहाँ बसेछ, अरू कतै बस्ने जगा छैन । जहाँ जगा छ तेहाँ बेपार छैन, यो जगा बेपारको लागि ठिक लागेर बसेछु । अबतक कोनो आदमीले हामीलाई रोकटोक करेको थिएन । तेहीले यहाँ बसेछ...।”
“ल धेरै बकबक गर्ने हैन । हाम्लाई तिमेर्को गन्गन् सुन्ने फुर्सद छैन । मैले भनिसकेँ, याँट अइलेको अइले तिमेर्को केके हो पोको पारेर हिँडिहाल् ! नत्र म हुर्याइदिन्छु,” दुर्गादेवी बुढाले कुरा नसिध्याउँदै चिर्बिराइन् ।
थकान, टाउको र शरीरको दुखाइले त्यसै दिक्दारी लागिरहेको बेला यो नचाहिँदो कुरामा अल्झिनुपरेकोले झन् चिड्चिडाएकी उनी रिसले तिल्मिलाइरहेकी थिइन् ।
“ठिक छ हुजुर, हामी दुकान यो गेटबाट थोडा साइडमा सारेर बस्छु, हुजुरलाई कुनै तकलिफ हुँदैन । के गर्ने हुजुर, बेपारको लागि सही जगा अरू छैन । जहाँ जगा छ, त्यहाँ बेपार छैन । हामीलाई यो मेहरबानी गरिदिनुस्, थोरै जगामा यही साइडमा बस्न दिनुस्, दु–तीन महिनाको बात हो हुजुर । बर्सात लागेपछि त हामी खेतीबडीको लागि गइहाल्छु अपने घर । दिनमे थोडा टाइम बस्ने हो, साम त हामी अपने कोठामे गइहाल्छु । यति मेहरबानी गरिदिनुस् हुजुर, अल्लाह हुजुरको उपर मेहरबान हुनेछ ।”
दुर्गादेवीको रिस अरू बढ्यो । उनले आफ्नो लोग्नेतिर फर्किएर ठूला आँखा पार्दै क्रोधमिश्रित हैरानी व्यक्त गरिन्, “हैन के भन्छ यो मान्छे ! तपैँ किन लखेट्नु हुन्न यिन्लाई ? तुरुन्त हट् भनिराछु, केके नचाहिँदो कुरा गरेर बसिराछ । अब दिनभरि यसको गलफती सुनेर बस्ने कि तुरुन्तै घोक्राएर पठाउनुहुन्छ ?”
“नरिस कर्नुस्न हुजुर, बरु यो औरतले हुजुरको केही काममा हात बटाइहाल्छे । म एकैले यो बेपार गरिहाल्छु, थोडै साइडमा राखिहाल्छु,” पसलवालाले विनम्र अनुनय गर्यो ।
अब भने दुर्गादेवीलाई खपिनसक्नु भयो । क्रोधको तीव्र आवेगले भाउन्न भएर उनले आँखै देखिनन् । शशिधरले उनलाई रोक्न खोज्दै थे, उनले ओछ्याइएको प्लास्टिक सिटमा लात हानिहालिन् । प्लास्टिक आंशिक रूपमा दोब्रियो र एउटा पोलिथिन ब्यागमा राखिएको रङ भुईंमा पोखियो ।
दुर्गादेवीको यो अचानकको व्यवहारले अलिकति तर्सिएको र डराएको पसलवाला के कस्तो प्रतिक्रिया दर्शाउने भनेर छक्क परेर उभिरहेको थियो । दुर्गादेवीले आफ्नो रिसको उच्च आवेगमा उसलाई दुवै हातले धकेलिन् । पसलवालाले आफूलाई सम्हाल्नै भ्याएन र ऊ लड्खडाउँदै लड्यो । उसको टाउको नजिकैको पर्खालमा अलिकति ठोक्कियो पनि । उसको जिउभरि त्यहाँको धुलो लाग्यो । ऊ निरीह त्यहीँ लडिरह्यो ।
एउटा अनपेक्षित र अप्रत्याशित दृश्य यतिखेर के देखियो भने, त्यो दुब्लीपातली पसलवाली अचानकसँग दुर्गादेवीको अगाडि ठिंग उभिई र हाँक दिएर बोली, “औरत होकर मेरा मरद पे हाथ उठाएगी, क्या बिगाडा था रे उस्ने ? अमीर हो तो क्या गरिबको वैसे ही मारेगी ?” उसले यसपटकको बोलीमा नेपाली भाषाको प्रयोग गरिरहने झन्झट गरिन् ।
दुर्गादेवी र पसलवाली आमनेसामने भए । दुर्गादेवी त्यो पिलन्धरे आइमाईको दुस्साहस देखेर छक्क परिन् । तर, यही दुस्साहसका कारण उनको रिस पनि ज्वालामुखीजस्तै भएर भड्कियो । उनी कराइन्, “मसँग जोरी खोज्न खोजेकी ! मलाई पिट्न आ’की तँ, तुरुन्त भाग्छेस् कि जगल्टा छरौँ तेरा हँ ! काँ काँ’ट आ’र हाम्रा घरद्वार छेक्ने घर न थरका देशीहरू । अर्काको घरअघिल्तिर तिमेर्को दाईं चल्छ ? अझ तुरुन्त जाऊ भनेर राम्रो मुखले भनेको त झन् टाउकोमा पो टेक्न खोज्छन् ए, हाम्लाई हेपेको तिमर्ले ? अझ आँखा तर्छेस् ? पख्, आज मार्दिन्छु तँलाई ।”
आवेगमा चर्को आवाजमा बोलेकाले होला, दुर्गादेवीलाई खोकी नै लाग्यो । उनले अगाडि बोल्न सकिनन् एक छिन । तर, एकैछिनको शक्ति सञ्चयपछि उनीभित्रको दुर्गा जागिहाल्यो ।
पसलवालीलाई बडो जोडले पर्खालमै चेप्ट्याउने गरी धक्का मारिन् । तर आश्चर्य, त्यो दुब्ली आइमाई आफ्नो सुकेको शरीरमा लुकेको बलको परिचय दिँदै नहल्लीकन स्थिर भएर खडा रही । उसले आफ्ना कठोर अनुहार र आँखा लिएर प्रतिद्वन्द्वीलाई ताकिरही ।
दुर्गादेवीको अहम् एककिसिमले घाइते भयो र यही झोँकमा उनले त्यो महिलालाई पछार्ने मनसायले कपालमा समातिन् । अब पसलवालीले पनि आफ्नो रिसलाई रोकिराख्नुपर्ने भएन । छोडी उसले पनि बेलगाम आफ्नो आवेगलाई । एकैछिनमा त्यहाँ कपाल भुतलाभुतलको संग्राम उठ्यो ।
वरिपरिका छिमेकीहरू र अन्य मानिस अचानक छेडिएको यो युद्धको तमासा हेर्न झुरुप्प भेला भए । दुवै महिलाका लोग्नेहरू घटनाले अप्रत्याशित रूपमा नयाँ स्वरूप ग्रहण गरेकाले एक छिनसम्म त के गर्ने भन्ने विषयमा अन्योलमै रहे ।
तर, एकैछिनमा उनीहरूले आ–आफ्ना श्रीमतीहरूलाई समातेर ताने र छुट्ट्याए । दुवै महिलाहरू उत्तेजना र आवेगले थरथर काँपिरहेका थिए । उनीहरूले एकार्कालाई ठाउँको ठाउँ भष्म पारौँला झैँ क्रोधले बलेका आँखाले घुरिरहे ।
यहाँ बसिराख्नु सुरक्षित नहुने ठानेर पसलवालाले हत्तपत्त त्रिपालजस्तो प्लास्टिकको चारै कुना एकै ठाउँमा पारेर समात्यो । आफ्नो सबै सामान पोको बनाएर काँधमा भिर्यो र स्वास्नीको हात समातेर भन्यो, “चल रे फातिमा !”
एउटा हातले पोको र अर्को हातले स्वास्नीको हात समातेर तान्दै तुरुन्तै त्यहाँबाट ऊ हिँडिहाल्यो । उसकी स्वास्नीले तानिँदै तानिँदै भए पनि पछाडि फर्केर ठूलो स्वरमा कराउन भ्याई, “साली कुतिया ! मेरे मरदपे हाथ उठाती है, मेरा बद्–दुवा लगे, किडे पडे तुझे ओर मरे तुँ !”
दुर्गादेवीलाई पसलवालीको कुराले झन् पागलझैँ बनायो । उनले लोग्नेले समातिराखेको हातबाट आफूलाई फुत्काउन जोड गर्दै कराइन्, “सराप्छेस् डङ्किनी ! तँ मधिसिनीको सरापले मेरो भुत्लो पनि झर्दैन, बुझिस् ? तैँ कुक्कुर्नीलाई किरा परोस्, तैँ मरेस् !”
एकैछिनमा पसलवालाको जोडी दृश्यबाट ओझेल पर्यो । तर, उनीहरूका कारण उत्पन्न भएको घटनाले त्यहाँ जम्मा भएको भिडमा केही बेर सनसनी मच्चाइरह्यो । उपस्थित सबैले बाहिरियाहरूको यो दुस्साहसको निन्दा गरे । यो टोलमा अबउप्रान्त तिनीहरूले पाइला टेके खुट्टा भाँचिदिने प्रण गरे ।
कसैले ‘दिउँसो व्यापार गरेजस्तो गरेर वरपरको चियोचर्चो गर्ने र रात परेपछि चोर्ने यस्तै मान्छे हुन्’ भने । अझ कसैले ‘यो घर खाली देखेर चोर्ने मनसायले यहाँको वस्तुस्थिति बुझ्न नै यहाँ पसल थापेर बसेको’ पनि भने ।
तर, छिमेकी दयाराम पन्थीले विशेष कुरा भने, “यिनीहरू उपल्लो तम्घासमा हाम्रै काकाको टहरोमा भाडामा बस्छन्, १५/२० दिनदेखि । म काकालाई भनेर यिनलाई त्यहाँबाट हटाउन भन्छु । यस्तालाई बस्नै दिनु हुन्न अनि आफैँ साइड लाग्छन् ।”
केही बेरको हल्लाखल्ला र तातो संवादपछि भिड तितरबितर भयो । शशिधर दम्पती पनि गेटको ताला खोलेर घरभित्र पसे ।
घर पस्नेबित्तिकै सुतौँला भन्ने थियो दुर्गादेवीलाई, तर यत्तिका दिन छोडेको घर यतै फोहोर, उतै माकुराको जालो । बाटोमा सटेको घर, झ्यालढोकामा धुलैधुलो । महिलालाई कहाँ फुर्सद हुन्छ र ! सरसफाइ, थान्कोमुन्को गर्दागर्दै समय गयो ।
फेरि बाटोमा त्यति राम्रो खाना नखाएकाले भोक लागिरहेको थियो । तरकारी, दूधलगायत सामग्री किनमेल गर्न बाहिर निस्कनै पर्यो । केलाइकुलाइ गर्नुपर्यो, पकाइतुल्याइ गर्नुपर्यो । गर्दागर्दै दिन गएको पत्तै भएन । बेलुका त उनी लखतरान नै परिन् ।
राति सुत्ने बेलामा त उनलाई हनहनी ज्वरो नै आयो । शरीर दुख्ने र टाउको दुख्ने त बिहानैदेखि भइरहेकै थियो । विस्तारै अलिअलि खोकी पनि लाग्न थाल्यो । शशिधरलाई शंका लाग्यो– यो कोरोना नै हुनसक्छ । उनले छोराबुहारीलाई सम्पर्क गरे, उनीहरूको सल्लाहअनुसार आफूलाई अलग्याएर राखे ।
श्रीमतीका लागि सिटामोललगायत औषधिहरूको व्यवस्था गरे । तातोपानी र अरू घरेलु उपचारका विधिहरू जोरजाम गरे ।
भोलि नै कोरोना परीक्षण गरेर यकिन गर्ने पनि सल्लाह भयो ।
बिहानसम्ममा दुर्गादेवी निकै गलिसकेकी थिइन् । पीसीआर परीक्षणका लागि श्रीमान्–श्रीमतीकै स्वाब दिने काम भयो । तर, बुटवलमा मात्र परीक्षण ल्याब भएको र भोलिपल्ट शनिबार परेकाले आइतबार बेलुका मात्र रिपोर्ट थाहा हुने भयो ।
छोराबुहारीको छिनछिनको भिडियो कल र फोन सल्लाहबमोजिम परीक्षणको रिजल्ट तत्काल नआए पनि कोरोना नै हो भन्ने मानेर उपचार जारी राखियो । तर, कोरोना लाग्यो भनेर जति परिवार डराएको थियो, त्यति गाह्रो पारेन दुर्गादेवीलाई । बेलाबेला ज्वरो आउने, शरीर दुख्ने र खोकी लाग्ने भइरहे पनि उनी हाँसीहाँसी श्रीमान् र छोराबुहारीसँग कुरा गरिरहेकी थिइन् ।
विभिन्न कारणले आइतबार पनि नभएर सोमबार बेलुका मात्र ल्याब रिजल्ट प्राप्त भयो । रिजल्टले दुर्गादेवीलाई कोरोना पोजिटिभ र शशिधरलाई नेगेटिभ देखायो । रिजल्ट पूर्वानुमान अनुकूल नै भएकाले यसले परिस्थितिमा तात्त्विक असर पारेन । जे चल्दै थियो, त्यही चलिरह्यो । यद्यपि, परिवार एवम् नातागोताभित्र चिन्ता र एउटा बोझिलो असहज वातावरण भने कायम नै रह्यो ।
पोजेटिभ रिजल्ट आएको तेस्रो दिन बेलुकातिर भने दुर्गादेवीले आफूलाई सास फेर्न गाह्रो भएको बताइन् । शशिधर एककिसिमले आत्तिए । तर, छोराबुहारीले नआत्तिन र आमालाई तुरुन्त अस्पताल भर्ना गर्न सल्लाह दिए । सल्लाहबमोजिम उनलाई त्यसै रात जिल्ला अस्पताल भर्ना गरियो ।
अक्सिजन दिन थालेपछि दुर्गादेवीलाई गाह्रो भएन । त्यसको भोलिपल्टै छोरो पनि काठमाडौंबाट आएपछि त शशिधर समेतलाई धेरै राहतको अनुभव भयो ।
तम्घास बजारको लगभग मध्यभागमा पुतलीबजार छ । यहाँ प्रहरीको एउटा पुरानो जीर्ण परित्यक्त भवन छ । झन्डै एक दशकअघि प्रहरी अर्को ठाउँमा सरिगएपछि खाली रहेको यो भवनमा त्यसयता आक्कलझुक्कल घरबारविहीन मानिस, हिँडडुल गर्न नसक्ने गरी लट्ठिएका जँड्याहा, बहुलाएर घर छोडेका मानिस वा अन्यत्र बास नपाएका बटुवाहरूबाहेक कोही बस्दैनन् । सामान्यतया खाली नै रहन्छ यो ठाउँ ।
शनिबारको रात गस्ती गर्दै जाने क्रममा यसै भवनमा देखिएको एउटा दृश्यले प्रहरीको ध्यान आकृष्ट गर्यो । त्यस भवनको एक छेउमा अँध्यारोमा बसेर एउटा बूढो मानिस रोइरहेको थियो । प्रहरीले सोधपुछ गर्दा थाहा भयो, त्यो मान्छे उसकी श्रीमतीसहित ५÷६ दिनदेखि त्यहीँ बस्दै आएका रहेछन् ।
कपिलवस्तुतिर घर भई केही समयदेखि तम्घासमा स–साना खुद्रा सामानहरू बेच्दै हिँड्ने यो जोडीलाई बसिरहेको कोठाबाट घरबेटीले निकालिदिएपछि यहाँ बस्न आएका रहेछन् । अचानक श्रीमती सिकिस्त बिरामी भएपछि यिनीहरूको बिचल्ली भएको रहेछ ।
बूढोले भन्यो, “शरीर आग जैसे गरम छ हुजुर और खाँसी पनि बहुतै छ । कई दिन से खाना पिना पूरा बन्द पडेको छ...।” लक्षणहरूको आधारमा यो कोरोना नै हुनसक्छ भनेर प्रहरीले सहज अनुमान लगायो ।
जिल्ला प्रहरीले जिल्ला प्रशासन र जिल्ला प्रशासनले अस्पताल तथा नागरिक समाजका व्यक्तिहरूसँग समन्वय गरेपछि भोलिपल्ट बिहानै महिलालाई लिन एम्बुलेन्स जीर्ण घरमा आइपुग्यो । यसरी सबैको सहयोगमा महिलालाई जिल्ला अस्पताल भर्ना गरियो ।
नियतिले जिल्ला अस्पतालको आईसीयू कक्षमा भएका दुईवटा मात्र बेडमा दुर्गादेवी र फातिमालाई आमनेसामने पारेर सुतायो । वर्गीय, क्षेत्रीय, धार्मिक, भाषिकलगायत सबै विभेदका रेखाहरू मेटेर उनीहरूबीच समान हैसियत कायम गरिदियो, कालक्रमले ।
दिनभरि डाक्टर र नर्सहरू त्यो कक्षमा ओहोरदोहोर गरिरहे । कक्षभित्र पस्ने अनुमति नपाएर बाहिरै कुरिबसेका दुवै महिलाका आफन्तजनलाई बेलुकीपख डाक्टरहरूले भने, ‘बोथ केसेस आर क्रिटिकल ।’
आमनेसामने रहेका दुर्गादेवी र फातिमाका बेडमा ओल्टेकोल्टे फेर्ने सिलसिलामा दुईजोडी आँखाहरू जुधे । अक्सिजन मास्कले मुख थुनिएका उनीहरू न केही बोल्न सक्थे न उनीहरूसँग बोल्ने सामर्थ्य नै बाँकी थियो ।
दुवैका आँखा एकार्कालाई हेरेर मुस्कुराए । दुवै जोर आँखाहरूले ठट्टाको शैलीमा एउटै संवाद बोले– देख्यौ त बूढी, मेरो श्रापको शक्ति !
फेरि दुवैका आँखा तुरुन्तै द्रवित भए र मसिना अश्रुधारा बगे । दुवैले सम्झे– मैले नै सारेकी हुँ आफ्नोबाट उसको शरीरमा यो ज्यानमारा किरो ।
दुवैलाई लाग्यो– जुरुक्क उठौँ र अँगालो मारेर एकार्कासँग माफी मागौँ । दुर्गादेवीलाई मन लाग्यो कि फातिमालाई आफ्नो घर लैजाऊँ, मिठामिठा परिकार बनाएर खुवाऊँ । राम्राराम्रा लुगा किनेर लगाइदिऊँ र यो मिलनको उत्सव मनाउँदै संगिनी गाऊँ, नाचौँ अनि फातिमालाई पनि सिकाऊँ ।
फातिमालाई मन लाग्यो– दुर्गादेवीलाई मेथी फुराएको तोरीको तेल दलेर पूरा शरीर मालिस गरिदिऊँ । तनमन पूरा चंगा बनाइदिऊँ । धेरै बेर लगाएर कपाल कोरिदिऊँ र दुवैजना चिटिक्क परेर चुराबजार घुम्न जाऊँ ।
विस्तारैविस्तारै उनीहरू दुवैका दुखाइ र पीडा हराउँदै गयो । उनीहरू प्रफुल्ल र आल्हादित भएर कल्पनाको उडान भर्दै गए । श्वासप्रश्वास, मुटुको धड्कन, रक्तसञ्चारजस्ता जैविक बन्धनहरू जब विस्तारैविस्तारै खुकुला हुँदै गए, उनीहरूलाई अत्यन्त उल्लासमय उन्मुक्तिको अनुभूति भयो ।
शरीरमा बाँधिएका ठूलठूला बोझहरू क्रमैसँग झर्दै गएजस्तै, आफू एकदमै हल्का हुँदै गएजस्तै र सुतिराखेको बेडबाट उचालिँदै उचालिँदै गएजस्तै महसुस भयो उनीहरूलाई ।
एकैछिनमा आईसीयू कक्षको छानो समेत पार गरेर उनीहरूलाई विशाल र उन्मुक्त आकाशमा विचरण गर्दै गरेको महसुस भयो । सूर्य अस्ताइसकेको तर उज्यालो अझै बाँकी रहेको रंगीन, सुरम्य, शान्त र शीतल आकाशमा पुगेपछि उनीहरूलाई अचानक मृत्युको अद्भुत सौन्दर्यबोध भयो ।
अहिले पो उनीहरूलाई छर्लंग भयो– मायामोह, अहंकार, तृष्णा, घृणा, द्वेषलगायत यावत् सांसारिक तत्त्वहरू कति तुच्छ रहेछन् । आहा ! हेर मृत्युको अवर्णनीय र अद्वितीय सौन्दर्य–विराट, भव्य, एकछत्र समान र सबैका लागि उत्तिकै आनन्दमय !