मेरा गीत
(गीतसंग्रह : बसन्त चौधरी)
कवि बसन्त चौधरी गीतकार पनि हुन् । उनका थुप्रै काव्यकृतिहरू सार्वजनिक भइसकेका छन् । तर, गीतसंग्रहका रूपमा प्रकाशित भएको पहिलो कृति हो, ‘मेरा गीत’ । यो संग्रहमा उनका नेपाली तथा हिन्दी गीतहरू संगृहीत छन् ।
साहित्यकार चौधरीका नेपाली र हिन्दी गरी विभिन्न विधाका ११ कृति प्रकाशित भइसकेका छन् । त्यसैमध्येको एउटा कृति ‘वसन्त’ नेपालीबाहेक आठ भाषामा अनुवाद भएर सार्वजनिक भएको छ ।
कवि–गीतकार कालीप्रसाद रिजालले कृतिको भूमिकामा लेखेका छन्, “...यस संग्रहका गीतहरूमा गीतकारको आफ्नो पहिचानसहितको विशेषता र अभिव्यक्तिको शिल्प निकै प्रभावकारी ढंगबाट प्रस्तुत भएको पाइन्छ । म गीतलाई कविताकै एउटा स्वरूप मान्दछु । यस संग्रहका कतिपय गीहरूले बसन्तको काव्यचेतना प्रदर्शित गरेर मेरो धारणालाई बल पुर्याएका छन् । बसन्त स्वयम् पनि गायक भएको र गुनगुनाएर गीत लेख्ने गरेकाले गीतहरूमा लय, ताल र सुरको उचित संयोजन भएको छ । उनका गीहरू सहज रूपमा संगीतबद्ध गरेर गाउन सकिन्छ ।...।”
‘मेरा गीत’मा नेपाली भाषाका १०० र हिन्दी भाषाका ६५ गीत समावेश छन् । तिनैमध्ये कतिपय गीत विभिन्न गायक/कलाकारको आवाजमा रेकर्ड भएर स्रोतामाझ चर्चित पनि छन् ।
चर्चित गीतकार किरण खरेल आफ्नो मन्तव्यमा लेख्छन्, “प्रेम शब्द यति शाश्वत र व्यापक छ, यसमाथि असंख्य साहित्य सिर्जना भएका छन् । गीतसाहित्यमा त झन् यो शब्द सबैभन्दा बढी प्रयोग भएको छ । र, प्रेममै सबैभन्दा धेरै गीत र कविताहरू सिर्जना भएका छन् । त्यसैले प्रेममाथि गीत लेख्नु र पहिला लेखिएका भन्दा नयाँ र हृदयस्पर्शी प्रेमगीत लेख्नु एउटा चुनौती पनि हो र गीतकारका लागि परीक्षा पनि हो ।”
अर्का गीतकार प्रा. डा. कृष्णहरि बराल लेख्छन्, “हामी मानिस, राष्ट्र तथा ईश्वर (र अरू पनि) सबैलाई माया गर्छौँ र यी विषयहरूको प्रस्तुतिमा मायाले आ–आफ्नै प्रकारको भूमिका खेल्ने रहेछ । आफ्नो व्यक्तिगत स्वार्थका निम्ति केही नमागी निष्काम ढंगले माया गरिरहने भाव पनि गीतमा पोखिएको पाइन्छ भने प्रेमी वा प्रेमिका वा भक्तले माया तथा भक्तिका बदला केही खोजिरहेको सन्दर्भ पनि गीतमा प्रस्तुत हुन्छ ।”
गीतकार दिनेश अधिकारीले लेखेका छन्, “...विषयवस्तुका दृष्टिले यसमा कतै पालुवाको रङ देख्न पाइन्छ भने कतै फूलको रूपमा सेता, राता, नीला, पहेँला, बैजनी र कतैकतै काला रङहरू पनि देख्न सकिन्छ । हरेक रङमा माटोको सुगन्ध छ । गीतको श्वासप्रश्वासमा मानवीय संवेदना, सद्भाव र सत्कर्मको भावना सगबगाएको छ ।...।”
उनले थुप्रै गीतिसंग्रहहरू ल्याइसकेका छन् । बसन्तका गीतहरू दर्जन बढी गायक÷कलाकारले गाएका छन् । दीपक जंगम, न्ह्यू बज्राचार्य, विमला सी. प्रधान, कल्याण सिंह, सुशान्त–शंकरलगायत संगीतकारले उनका गीतहरूलाई संगीतबद्ध गरेका छन् ।
इन्डिगो इन्क पब्लिकेशनद्वारा प्रकाशित २२८+४ पृष्ठको यस कृतिको मूल्य ३९९– रुपैयाँ राखिएको छ ।
०००
बोकाको खुसी
(लघुकथासंग्रह : शेखरकुमार श्रेष्ठ)
शेखरकुमार श्रेष्ठ लघुकथासहित विभिन्न विधामा कलम चलाउँछन् । उनका केही कृतिहरू प्रकाशित छन् । २०६० सालमा उनको पहिलो लघुकथाकृति सार्वजनिक भएको थियो । शेखरको पछिल्लो लघुकथाकृति हो, ‘बोकाको खुसी’ ।
उनका लघुकथाकृतिसँगै बालकवितासंग्रह, बालकथासंग्रह, कवितासंग्रहहरू प्रकाशित भइसकेका छन् । उनको एउटा समालोचनाकृति पनि प्रकाशित छ । उनले ‘गोदावरी मेला र दक्षिणकाली नगरका तीर्थस्थल’ शीर्षकमा पनि एउटा पुस्तक ल्याइसकेका छन् ।
कवि–साहित्यकार विधान आचार्य यस कृतिको भूमिकामा लेख्छन्, “शेखरकुमार श्रेष्ठका लघुकथालाई मुख्य रूपमा सामाजिक चेतनाका संवाहक मान्न सकिन्छ । चाहे मिथकीय प्रयोग वा मनोवैज्ञानिक धरातललाई खोतलिएको वा राजनीतिक व्यंग्य मिश्रण भएको किन नहोस्, प्रत्येकका कथानकमा समाजको समकालीन ऐना छ । पात्रलाई भुईं (लो प्रोफाइल)मा राखेर उनी प्रस्तुत गर्छन् ।...।”
नारी शीर्षकको कथामा कथाकार लेख्छन्, “छोरी, म समुद्रजस्तै गम्भीर नारी । सफा र फोहोर सबै लिने । हुत्तिएर आएका नदीको वेग शान्त गरिदिने । शान्त नदीलाई पनि आफैँमा सम्मिलित गराउने । म आफैँमा केही होइन । मलाई त सबैले दिन्छन् । अरूले दिएको कुरा मैले लिइनँ भने त यो घर सबै बरबाद हुन्छ ।” (पृष्ठ—७९)
यस कृतिभित्र विभिन्न विषयवस्तुमाथि लेखिएका ५२ लघुकथा समावेश छन् ।
सुसेली साहित्यिक प्रतिष्ठानद्वारा प्रकाशित १२०+४ पृष्ठको यस लघुकथासंग्रहको मूल्य २००– रुपैयाँ राखिएको छ ।
०००
मिश्रित जातजाति हामी नेपाली
(मानवशास्त्र : खेमराज नेपाल)
मानवशास्त्री, अध्येता एवं नेपाल सरकारका पूर्वसचिव खेमराज नेपालको मानवशास्त्रीय कृति हो, ‘मिश्रित जातजाति हामी नेपाली’ । यो पुस्तक केही समयअघि प्रकाशनमा आएको हो ।
यसअघि पनि उनले पुस्तकहरू बजारमा ल्याइसकेका छन्, ‘वंश खोज’ र ‘समाज, संस्कार र शासन’ । सुशासन तथा स्थानीय सरकारका विषयमा ज्ञान राख्ने नेपालका विभिन्न विषयमा फुटकर लेख–रचनाहरू प्रकाशित हुँदै आएका छन् ।
यस पुस्तकका बारेमा नेपाल आफ्ना कुरामा लेख्छन्, “वर्तमान अवस्थामा हामी सबैका पुर्खाहरू को थिएँ ? कहाँबाट आए ? निर्क्योल गर्ने आधार र प्रमाण सामाजिक–राजनीतिक इतिहास, उनीहरूले छोडेका अभिलेख र भौतिक सम्पदा मात्र भए । हाम्रा पुर्खाहरू साँच्चै शुद्ध रक्त–नश्लबाट बनेका वंशभित्रका हुन् कि हजारौँ वर्षदेखि एक ठाउँबाट अर्को ठाउँमा सर्दै त्यहाँका स्थानीय जातिसँग मिसिँदै अन्तिममा वर्तमान नेपालका बासिन्दा हुन पुगेका हुन् ? अझ नेपालभित्रको मिश्रण परिस्थितिजन्य हो कि आत्मसुरक्षा र आवश्यकताको सिद्धान्तअनुरूप भएको हो ? जातजातिको कट्टर घेराभित्र रहँदा पनि किन अन्तरजातीय मिश्रण भइरह्यो ? अहिले जातजाति, समूह–उपसमूह, गोत्र, थरमा विभाजित भएर उचनिचसहितको जातीय सोपान खडा गर्दा पनि माथिल्लो र तल्लो जातजातिको थर गोत्र किन एउटै छ ? वंशावली बनाउनेहरूले आफ्ना पुर्खाको जाति मिश्रणलाई किन महत्त्व नदिएका ? जन्मदा सबै बराबर, विद्या, बुद्धि र असल कर्मले मात्र जातीय सोपानका शिखरपुरुष बनेका ऋषिमुनिहरूका बारेमा जान्दाजान्दै जन्मका आधारमा उचनिच र भेदभाव हुने समाज सिर्जना गरेर किन निरन्तरता दिइयो ? यी यावत् कुराहरूले मेरो मनमस्तिष्कलाई निक्कै खल्बल्याइरह्यो ।”
प्रा. डा. डिल्लीराम दाहाल पुस्तकको मन्तव्य ‘जातजातिको अध्ययनमा नयाँ आयाम’मा लेख्छन्, “यस पुस्तकको मुख्य विषय नै नेपालीहरू को थिए र को हुन् भन्नेबाट सुरु भएको छ । उहाँको निचोड छोटो शब्दमा भन्ने हो भने नेपाल प्राग–ऐतिहासिक समयदेखि नै एउटा ‘मिश्रित जातिको देश हो’ भन्ने छ । ‘रक्त–नश्ल वंश मिश्रणमा जरा गाडेको छ, मात्र खोज पुगेको छैन’ उहाँको आधिकारिक धारणा हो ।” (पृष्ठ २२)
प्रकाशकीयमा वासुदेव ढकाल लेख्छन्, “...कोभिड–१९ को महामारीपूर्ण कहरले घरबाट बाहिर निस्कन नदिएको कष्टपूर्ण समयलाई फुर्सद र अवसरका रूपमा प्रयोग गरेर तयार भएको यो कृतिले समाजशास्त्र, मानवशास्त्र, पुरातत्त्व र इतिहासका अध्येतालई दिव्य दृष्टि नै प्रदान गर्दछ भन्ने विश्वास लागेको छ ।...।”
नेपालले कृतिका विभिन्न २७ शीर्षकमा नेपाली समाजको बनोट, आरम्भदेखि मध्यकालसम्मलाई पस्किएका छन् ।
मकालु प्रकाशन गृहद्वारा प्रकाशित १७६+४ पृष्ठको यस पुस्तकको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।