site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘डोल्पो ओ डोल्पो’मा एक दृष्टि  
Sarbottam CementSarbottam Cement

डोल्पो ओ डोल्पो (२०७९) साझा प्रकाशनद्वारा प्रकाशित डा. दामोदर पुडासैनी ‘किशोर’को नियात्राको कृति हो । नियात्राकार डा. पुडासैनीले २०७४ साल साउन १९ गतेदेखि लोल्पो यात्राको सुरुआत गरेका छन् र २०७४ असोज ७ मा त्यो टुंगिएको स्थिति छ । यस दृष्टिले यो नियात्रा लेखन अवधि दुई महिना १८ दिनको हुन आउँछ । हरेक नियात्रा एक दिनमा एकका दरले लेखिएका भए पनि कुनैकुनै एक दिनमा दुई नियात्रा पनि लेखिएका छन् । यति छोटो अवधिमा यति गहकिला, खँदिला, रसिला र ओजस्विला नियात्राहरू तयार पार्नु नियात्राकारका सिर्जनशीलताको विशिष्ट क्षमता हो । उनको यस अद्भुत क्षमतालाई अनेक कोणबाट पर्गेल्न सकिन्छ । डोल्पोको भौगोलिक स्वरूप, त्यहाँको प्रकृति, संस्कृति, रहनसहन, चालचलन धामीप्रथा, ढवाँगेप्रथाजस्ता शीर्षक राखेर पृथक्पृथक् विषयमा समालोचना गर्न नसकिने होइन । तर, यसरी प्रस्तुत गर्दा लेखको बृहत् आकार हुन जाने हुँदा नैबान्धिक ढाँचामा नै सबै पक्षहरूलाई समेटेर प्रस्तुत गर्न खोजिएको छ ।

बाल्यावस्था र युवावस्थाको वयःसन्धिको अवस्था हो, किशोर । डा. दामोदर पुडासैनीले आफ्नो नामको पछाडि ‘किशोर’ उपनाम राखेका छन् । किशोरावस्थामा जीवनप्रतिका उत्सुकता र प्रेरणाका भाव सन्निहित हुन्छन् । उत्साह र उमंगले भरिएको त्यो बेला जीवनका नयाँ कुरा जानूँ, प्रकृतिका रहस्यहरू बुझूँ भन्ने हुटहुटी हुन्छ । जीवन र प्रकृतिप्रतिको आकर्षणको कारणले नै उनले ‘किशोर’ उपनाम राखेको हुनु सम्भव छ । किशोर अवस्था सधैँ रहँदैन । अहिले उनी प्रौढ भइसकेका छन् । विचार र शैलीशिल्पमा पनि प्रौढ वा परिपक्वपन आइसकेको छ । सधैँका निम्ति चरितार्थ नहुने ‘किशोर’ उपनाम किन राखेका होलान् ? जिज्ञासा उठ्छ । जीवन, जगत् र प्रकृति रहस्यमय छन् । यिनैका उत्खननमा म सधैँ सचेष्ट रहूँ भन्ने अन्तसंकल्पका रूपमा पनि ‘किशोर’ लेखिएको हुनसक्छ । बाँकी गूढार्थ के हो ? लेखकबाटै बुझ्न आवश्यक हुन्छ ।

डा. पुडासैनीको मूल स्वभाव कवि नै हो । उनका दर्जनौँ कविताका कृति प्रकाशित भइसकेका छन् र ठेलीका ठेली नियात्राका कृति पनि प्रकाशित भइसकेका छन् । कविताको गहन अध्ययनपछि उनी निबन्धतर्फ लागेका देखिन्छन् । कवित्वका प्रचुर शक्तिले उनका नियात्रा निकै ओतप्रोत छन् । उनमा बौद्धिकताको दर्शनको पनि प्रगाढ ज्ञान छ । समग्र शक्तिबाट उनका नियात्रा प्रभावशाली ढंगले उठेका छन् । नेपाली साहित्यमा नियात्राका बृहत् ग्रन्थहरू उनले प्रदान गरेका छन् । प्रेरणाकारकबाट उठ्ने उनको अनुभूति मूलको रूपमा प्रकाशित हुँदाहुँदै सागरको स्वरूपमा सिर्जित हुन पुगेको छ । अन्य कतिपय लेखकका कृतिमा प्रवेश गर्दा कुवा, तलाउबाट नदीमा प्रवेश गरेझैँ लाग्छ भने उनका कृतिमा प्रवेश गर्दा सागरमा प्रवेश गरेझैँ लाग्छ । त्यसभित्र डुबुल्की मार्दै पर्यवेक्षण गरी रत्न पारख गर्न निकै चुनौतीपूर्ण कार्यझैँ छ । उनका नियात्राका ठेलीहरू काव्यरसले भरिपूर्ण छन् 

Prabhu Bank
Agni Group
NIC Asia

‘धोल्पो’ भन्दा भन्दै डोल्पो भएको डोल्पो नेपालको सबैभन्दा धेरै भूभाग ढाकेको जिल्ला हो । तिब्बतसँग हिमचिम गाँसेको यस भूभागमा विशाल चट्टान पर्वत र भीरपाखाहरू पर्दछन् । अनेक प्राकृतिक विशेषताले युक्त डोल्पोको गहन दर्शनमा लेखक दिलैदेखि लहसिएर लागेका छन् । उनी डोल्पोलाई मायालु सम्बोधन गर्दै मुटुमा नै राख्न चाहन्छन् । उनीसँग यस्तो गहन संवेदनाको सिर्जनात्मक दिव्य शक्ति छ, त्यसबाट डोल्पाका आकर्षणको अन्तध्र्वनि सुन्दछन् । डोल्पोलाई सम्बोधन गरेर सिर्जिएको पहिलो नियात्रा हो, आकर्षणको । यसमा आवश्यकता र काव्यात्मकताको समन्वयन गरी प्रस्तुत गरिएको विचित्र चित्रणले नै पाठकलाई मनमुग्ध तुल्याउँछ ।

मानक स्रष्टाको मानक कृतिको बारेमा समीक्षा गर्न पाउनु साँच्चै गौरवको कुरा हो । तर, यो पर्वतारोहणजत्तिकै चुनौतीपूर्ण लाग्दछ । डोल्पो नेपालको पश्चिमी भूभागको विकट क्षेत्र हो । विकट भए पनि जैविक, भौगर्भिक र भौगोलिक विचित्रताले युक्त छ । नियात्राकारमा अँध्यारोमा पुगेको बेला उज्यालो खोज्ने तीव्र अभिलाषा छ । तसर्थ, नियात्राकारले कठिनाइ र जटिलताको कुनै पर्वाह नगरी त्यस स्थानको अवलोकन गर्दै आफ्नो आवश्यकता, काव्यात्मक र कलात्मकताको वेणी प्रवाहित गरेका छन् र डोल्पोमा प्रकृतिको असीम सौन्दर्य निहित रहेको तथ्य सावित गरेका छन् । डोल्पालाई मानवीकरण गरी प्रेयसीलाई झैँ सम्बोधन गरिएकोले अनेक रसात्मक भावको संकेत मिल्दछ । यसले समस्त मानव जातिलाई जागृतिको उद्घोष पनि गर्दछ । यस अर्थमा यो विम्बात्मक पनि छ । यसले स्वदेशी पर्यटनलाई प्रवद्र्धन गर्ने कुरामा पनि जोड दिन्छ । सामान्यतया दुईतीनवटा कृति हुने विषयवस्तुलाई एकै कृतिमा समेटेर यो पुस्तकलाई बृहतकार दिइएको छ । ३६ वटा शीर्षक भएको ३४४ पृष्ठको यो कृति पढ्दा पनि हप्तौँ लाग्ला जस्तो तथा विवेचना गर्न त महिनौँ लाग्ला जस्तो देखिन्छ ।

Global Ime bank

ठेलीका ठेली छन् डा. पुडासैनीका नियात्राकृति । तिनका कति पाठक होलान्, कतिले पढ्लान् र कति बिक्लान् जस्तो लाग्छ । तर, जादुमय लेखनले भरिएको कृति भएकाले जति पढ्यो उति पढ्न मन लाग्ने, जति पियो उति पिउन मन लाग्ने सोमरसझैँ तुल्याएपछि जति ठूला ठेली भए पनि सार्थक रहेको अनुभूत हुन्छ । सरकारी आर्थिक हिसाबकिताब रुजु गर्ने वा परीक्षण गर्ने उनको मुख्य काम हो । गणितका अर्थ र प्रभाव खोज्ने व्यक्ति साहित्यिक रसको मूल फुटाएर यति मन मुग्ध पार्लान् भन्ने सामान्यतः कसैले सोचेको हुँदैन । तर, आफैँभित्रको प्रकृतिको आराधना गरेपछि डा. पुडासैनीजस्ता नियात्राकारहरू जन्मिन सक्दा रहेछन् । यो गौरव गर्न योग्य विषय हो । उनका नियात्राहरू जति पढे पनि अझै पढूँपढूँ लागिरहन्छ ।

सूचनात्मकता नियात्राको प्राण नै हो । आँखाले चुमेको दृश्य मनले खिँच्न सकेन भने नियात्रा नियात्राजस्तो हुन मुस्किल पर्छ । डा. पुडासैनीमा अभिव्यक्ति सामर्थ्य यति तीव्र छ कि उनी वस्तुस्थितिको मिहिन वर्णन गर्न पनि माहिर देखिन्छन् । यो तथ्य हरित समुद्रमा श्वेत कुहिरो नियात्रा पढेपछि बुझ्न सकिन्छ । उनका काव्यात्मक वर्णनको एक नमुना हेरौँ–

अहा ! कति सुन्दर तालहरू ! कति सुन्दर झरनाहरू र कति सुन्दर सहर । रूपाताल, बेगनास ताल र अरू तालहरू शालीन र सान बनेर बसेका छन् पोखरामा । सधैँ नीलो हुने फेवा अहिले सेतो बनेको छ । सेतै भए पनि चमचम चम्किरहेछ घाम, लहर र तरंगहरूमा । रूपा, बेगनास र अरू साना तालहरू भने हरियोपरियोको छाया ओढेर हरियै देखिएका छन् । (पृ. १३)

डोल्पोको दर्शनपछि नियात्राकार आफ्नो जीवनदर्शन यसरी दर्शाउँछन्—

जिन्दगीका हिसाबकिताबको होची अर्घेली जाँचन खोज्छु म । जीवनका कठिनाइहरू बुझ्न मन छ मलाई । जगत्का अप्ठेराहरू भोग्न मन छ मलाई । दुःख भोगेपछि पो सजिला लाग्छन् दुःखहरू— टाढाटाढा बसेर मान्छेहरू फलाकिरहेछन् । सजाउन हम्मे हम्मे छ डोल्पालाई । पीडा नै पीडाको पखेरो डोल्पा । अभाव र अन्योलको डोल्पा । (पृ. ३)

प्रत्येक अभिव्यक्तिमा काव्यात्मकताको छटाले डा. पुडासैनीका नियात्राको भावपक्ष वा विचारपक्ष मात्र नभई कलापक्ष पनि उत्तिकै बेजोड रूपमा प्रस्तुत भएको पाइन्छ । पढ्दा आनन्दको अनुभव मात्र होइन, सन्देशमूलक अनुभूतिले मार्गदर्शन समेत गरिरहेको बोध हुन्छ । जस्तो प्राकृतिक विशेषता त्यस्तै चित्रणको विशेषताले निकै आकर्षक बनेका छन्, उनका नियात्रा । कोरा सूचना मात्रले कहाँ चित्त बुझ्छ र सहृदयी पाठकको मन । यथार्थमा उनका नियात्रा नियात्राको प्रचुर सुगन्ध लिएर आएका मनमोहक फूलझैँ लाग्दछन् । प्राप्त अनुभूतिलाई फूलको रूपमा प्रस्तुत गर्नु सिर्जनात्मक वैशिष्ट्य हो । यस्तो वैशिष्ट्य उनका नियात्रामा सर्वत्र देख्न सकिन्छ ।

अभिव्यक्तिको कलात्मक छटामा अनुप्रासको पनि कति मीठो तारतम्य हो । विचारको गहिराइ दिन मात्र होइन, शैलीको उत्कर्ष दिन पनि शिखरमै पुर्याएको अनुभव हुन्छ जस्तो !

अर्को जमातमा उदाए रुक्स्याक बोकेका दुई गोरागोरी । भीडमा उभिएरै चुम्बन गरे ती गोरागोरीले । कस्ता लाजपचेकाहरू भनेर जिभ्रो काढे दुई अधबैँसे दिदीहरूले । मायाको गहिराइमा सबै जायज हुन्छ ठानेँ मैले । (पृ. ८)

वर्णनमा यस्तो रोचकता ल्याएपछि कुन पाठकको मन रोमाञ्चित हुँदैन । यस्ता सन्दर्भ प्रसंग छ्यापछ्याप्ती भेटिन्छन् यो कृतिभित्र ।

यात्रा सबैले गर्छन् । देखेभोगेका वर्णन सामान्यतया सहृदयी सबैले गर्न सक्लान् । तर, यस्तो रागात्मक समन्वयका साथ वर्णन गर्ने सीपसामर्थ्य कसरी आउँछ ? पढेर अचम्मित भइन्छ । उनी कवि भएर पनि होला, यस नियात्रामा सशक्त काव्यधारा गद्य धारमा लेखिएको देखिन्छ । अनेक ज्ञान र दर्शनका कुरा डा. पुडासैनीले पढेका छन् । जब उनी कुनै विषयमा प्रवेश गर्छन् र वर्णनको सुरुआत गर्छन्, ढुंगामा पनि ज्यान आएको जस्तो देखिन्छ ।

उनी जहाँ जान्छन्, त्यस स्थान परिवेशको दुरुस्त चित्र खिचेर प्रस्तुत गर्छन् । उनको नियात्राकारितामा चित्रकारिताको पनि शक्ति छ । अक्षरअक्षर वा शब्दशब्दको प्रयोगमा चित्रकारिताको पनि सम्मोहन निहित छ । त्यसैले पाठक उत्सुकतापूर्वक लोभिन्छन् ।

उनका नियात्रामा देखिने प्रमुख विशेषता नै चित्रमयता भने हुन्छ । नियात्रा ज्ञानमूलक र सन्देशमूलक र प्रेरणामूलक रहेपछि अधिक रुचिप्रद हुन्छ नै । चित्रमयताभित्र रहेको भावुकता र कवितात्मकताले पनि त्यसको आकर्षणलाई मनमोहक तुल्याएको छ । शब्द चयनमा पनि त्यत्तिकै कुशल अनि वाक्य शृंखलालाई पनि लालित्यमय तुल्याएकाले डा. पुडासैनीका गुणात्मक मूल्यको वचन निकै बढेको पाउन सकिन्छ ।

नियात्रालाई निजात्मक तुल्याउने प्रमुख भूमिका सीपसामर्थ्यकै हुन्छ । त्यस्तो सीपसामर्थ्य डा. पुडासैनीमा प्रवल रूपमा रहेको मान्न सकिन्छ । सदृश्य वर्णनअन्तर्गत उखानटुक्काको प्रयोग गर्न, निजी चिन्तन, विचार र दृष्टिकोण प्रसंग उजागर गर्न पनि सफल देखिन्छन् उनी ।

नियात्राकारका भावना र विचार कति गम्भीर र सशक्त छन्, उद्देश्य र योजनाका कारण र संकल्प चट्टाझैँ कति सबल र सुदृढ छन् भन्ने यस संग्रहको ‘साङ्ग्र्रिला सिम्फोनी’ नियात्राले दर्शाउँछ । यसमा नियात्राकारको भावना र विचारको ऊर्जा करेन्टझैँ प्रवाहित भएको छ । उनी लेख्छन्

सिमलको भुवाभन्दा पछिपछि दौडने यात्राभन्दा ठक्करका नीलडाम समयसँग जुद्धाका कल्लोल आवाज र भक्कानिएको मनलाई धावा दिओस् कसैले भन्छु म जुध्न तयार छु म हर्दम चट्टानहरूसँग (पृ. १९) ।

चट्टान कठिनाइको प्रतीक हो । कठिनाइसँग जो हाँसीहाँसी जुध्न चाहन्छ उसैले त जीवनको ठूलो सफलता हासिल गर्छ ।

लेखक हिम्मतपूर्वक भन्छन्— म चट्टान बनेर चट्टानसँग जुध्न चाहन्छु र निकाल्न चाहन्छु आगो, फूल र अनाज । (पृ. २२)

आँखाको चमक, गतिको वेग, शब्दको सामर्थ्य र ओठको मिठास सबै बटुलेर वीणाको झङ्कारबाट बीउहरू उमार्ने तयारी गर्दै छु म (पृ. २२) ।

लेखकीय विचारको प्रवल उत्प्रेषण यस निबन्धमा भएको पाइन्छ । चट्टान विषय ओजपूर्ण वर्णनले मनै तरंगित र यान्त्रिक नै झङ्कृत तुल्याउँछ । यसबाट उनको शक्तिशाली सिर्जन प्रक्रियाको बोध हुन आउँछ ।

चट्टान काटेर नदी बगाउन चाहन्छु म । दिमागमा जमेका फोहोरका लाप्साहरू झर्यापझुरुप फुटाएर चेतनाको बीउ उमार्न अघि बढेको छु म (पृ. २३) ।

चट्टानभित्रका रहस्यहरू नखोतलेसम्म अन्धकारमै रहन्छ मान्छे । (पृ. २३)

यस्ता सारगर्भित सूक्तिमय कथनबाट उनका चिन्तन र विचारका विविध अध्यायहरू परिलक्षित हुन्छन् । चट्टान फोरेरै मूल फुट्छ, चट्टान फोरेरै आगो निस्कन्छ । जीवनमा चट्टान फोरेरै चट्टानभित्रका रहस्य खोतल्ने अभियान हुनुपर्छ । चिन्तन, तर्क र काव्यात्मकताले चरम उत्कर्षमा उचालिएको यो निबन्ध विशेष प्रकृति र गुणले चमत्कृत बनेको पाइन्छ । आफ्ना नियात्राबाट उत्कृष्ट अनुभव र विचारको ऊर्जा प्रकाशित गर्नु महान् उपलब्धि हो । लेखक डा. दामोदर पुडासैनी उच्चकोटिको नियात्राकार हुन पुगेको तथ्यलाई उनका यस्तै अनेक निबन्धले सावित गरिदिएका छन् ।

जीवन र प्राकृतिक रहस्य बुझ्न भनेपछि डा. पुडासैनी हुरुक्क हुने देखिन्छन् । जस्तोसुकै कठिनाइको सामना गर्न पनि तत्पर रहन्छन् । अनकन्टार प्रदेश डोल्पोमा लुकेर रहेका रहस्य खोतल्नु सामान्य आँट र हिम्मतको कुरा थिएन । उनी डोल्पोलाई प्रकृतिकी सुन्दरीको रूपमा हेर्छन्, प्रत्येक दिन उनलाई मुसार्छन् । डोल्पालाई पनि डोल्पोकै प्रतिरूप देख्छन् । डोल्पोमै संसारको ज्योति र सुगन्ध देख्छन् । डोल्पो प्रेममा प्रतिबद्ध हुँदै उनी भन्छन्—

संसारको सम्पूर्ण ज्योति र सुगन्ध उनीमै सघन छ भनेर जीवनको सुनौलो समय उनीमाथि नै सुम्पेको छु । अरूका लागि मरुभूमि हुन पुगेको डोल्पो मेरा लागि मृगमरिचिका हुन् । (पृ. ३३)

लोभ, मोह र त्रासबाट माथि उठेकी तिमी एकान्तकी एक्ली सुन्दरी रहिछौ डोल्पो । आफन्तले चिन्दै नचिनेको सर्वस्व बुझेर पराई झुम्मिने तिमी अमूर्त किन्नरको किन्नरी रहिछौ (पृ. ३८) ।

यसरी कृतिभित्र नियात्राकारका डोल्पोप्रतिका अगाध प्रेमिल भावना व्यक्तिएका छन् । डोल्पोका बाह्य र आन्तरिक अनेक तथ्यहरू प्रस्तुत गरेर यसमा लेखकले डोल्पोको अद्भुत परिचय प्रस्तुत गरेका छन् । यो चानेचुने क्षमता, सीप र ज्ञान भएको लेखकबाट यति गहन र यति अर्थपूर्ण लेखनी पूरा हुन सक्तैन । लेखक डा. पुडासैनीबाट मात्र यो सम्भव भएको छ ।

‘केल्वोको कथा’ पढेपछि डोल्पेलीको रहनसहन र संस्कार स्पष्टसँग बुझ्न सकिन्छ । डोल्पेलीका कथाको वर्णन सुन्दा पनि लट्ठै परिन्छ । नेपालको अरू जिल्लाको भन्दा फरक रहनसहन र संस्कारमा रमाइलो मान्दछन् त्यहाँका मानिसहरू । आ–आफ्ना चालचलन राम्रो माने राम्रै, नराम्रो माने नराम्रै लाग्दो रहेछ । त्यो मानवीय स्वभाव हो । जहाँ जस्तो रीतिरिवाज र संस्कार छ, त्यसैअनुरूप व्यवहार गर्नु आनन्द र खुसीको विषय बन्दो रहेछ ।

निम्नलिखित अनुच्छेदबाट बुझौँ रोचक र चाखलाग्दा प्रसंग—

जुत्ताभरि हिलो, फोहोर र गन्ध जे भए पनि जुत्ता खोल्नु घर र पाउना दुवैको अपमान मानिदो रहेछ । चौँरी घिउ, नून र भोटको जडीबुटी हालेको चिया लगातार पिएको पियै । बसुन्जेल चिया घुट्क्याइरहनु पर्ने । शरीरलाई अक्सिजन साह्रै कम हुने र पानीको पनि अभाव हुने ठाउँमा त्यस्तो चिया पिइरहनु विज्ञानसम्मत नै हो । जाँड खाइदिएन भने नराम्रो मान्ने रहेछन् । खाँदाबस्दा महिला र पुरुषहरूको भेद नै नहुने । महिलाहरू नै बढी फुक्का । बहुपति प्रथा भएकाले सबै दाजुभाइको एकै पत्नी । त्यो घरमा छ पतिकी एउटै पत्नी रहिछन्— छिरिङ ङइटुप । पत्नीका अघिल्तिर पतिहरू कुरा गर्न लजाउने ।

छरछिमेकका अरू महिलाहरू आए, पुरुषहरू आए । महिलाहरू नौलो पुरुषसँग हात हालाहाल गरेर चल्दा रहेछन् । नयाँ पुरुषले महिलाको जुन अंग छोए पनि रमाइलो मान्ने, लोग्नेहरू त झन् रमाउने । महिलाहरू मसँग पनि धेरै चले । यौनका मामलामा असाध्यै उदार छ तिब्बत र भोटका मान्छेहरू । बाहिरतिरबाट गएका पाहुनाहरू, उच्चपदस्थ मान्छेहरू, लामाहरू जस्ताले शरीरका अंगहरू सुम्सुम्याए भने असाध्यै खुसी हुने । स्वास्नीसँग अन्य पुरुष चलेमा लोग्ने रमाउने । बिहे नै नभएका युवतीसँग पुरुष चल्यो भने झन् खुसी मान्ने । बाहिरबाट गएका ठूलाठालु भनाउँदा परपुरुषसँग शारीरिक सम्बन्ध भएर गर्भवती हुनु र बच्चा पाउनु झन् इज्जत पो हुने । (पृ. ४६)

स्रष्टाको अन्तर्समीक्षक जति प्रखर बन्यो उसको सिर्जना उत्तिकै तिक्खर र निक्खर भएर आउँछ । लेखकमा समीक्षाचेत तीव्र छ । हरेक निबन्धमा उनको समीक्षाचेतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । नियात्राकारले प्रत्येक निबन्धको सिरानमा शीर्षक पढी सारगर्भित अंश प्रस्तुत गरेका छन् । त्यसले निबन्धहरू महिमामण्डित बनेका छन् । ती अंशले पाठकलाई पनि नियात्रा पठनमा उत्प्रेरित गर्छन् । भावुक र गम्भीर बनेर पढ भन्ने सन्देश दिन्छन् । ती काव्यात्मक सूक्ति निबन्ध समीक्षाका निम्ति पनि उपयोगी लाग्दछन् ।

मै हुँ भन्ने नियात्राकारले एक यात्राको योजनामा मुस्किलले एक निबन्ध तयार पार्न सक्ला । तर, यहाँ त एक यात्रामा ३६ वटा निबन्धहरू आएका छन् । त्यसमा पनि प्रत्येक निबन्ध त्यत्तिकै वजनदार भएर । विशेष श्रमशक्ति प्रतिभा र सीपसामर्थ्यविना यस्ता ऊर्जामयी निबन्धहरू सिर्जित हुन असम्भव छ । तर, कुनै वस्तु र विषयउपर भावना र विचारले सिर्जनाको सुन्दर रूप प्रस्तुत गर्न सक्ने डा. पुडासैनीको सिर्जनयात्रा धन्य देखिन्छ ।

उनी जहाँ आर्थिक लेखापरीक्षणका निम्ति जान्छन्, त्यहीँबाट समय निकालेर सिर्जनाको कोसेली लिएर आउँछन् । सिर्जना पनि सामान्यस्तरका होइन, गम्भीरस्तरका ।

डोल्पावासीमा देवीदेवताप्रति, अन्धविश्वास र धामीप्रति ठूलो विश्वास र सम्मान छ । त्यहाँ धामीको कुरा नमान्ने कोही हुँदैन । मस्टो देवता र धामी नमान्दा आफैँ स्वाहा भइन्छ भन्ने उनीहरूमा ठूलो भ्रम छ । अन्धविश्वास नै डोल्पालीमा चलेको ठूलो रोग भने हुन्छ । आफ्ना गहन विचार र सवल तर्कले यहाँ लेखक उनीहरूको मनमस्तिष्कमा जरा गाडेर रहेको अन्धधारणालाई उखेलेर फाल्नुपर्ने बताउँछन् । यसै सन्दर्भमा उनी भन्छन्—

विगतमा देवतासँग आस र डर थियो । अब देवता नै छैन भन्ने समूहमा बढी तागत भरिसकेको छ । धेरै भेटीदक्षिणा चढाएर, अरूलाई देखाएर, अरूको मन दुखाएर, कुकर्म गरेर देवतालाई खुसी पार्न खोज्नु मूर्खता हो । खराब कामबाट संरक्षण पाउन देवतालाई घुस खुवाउनु खराब काम हो भन्ने बताउन सुरु गर्नुपर्छ । पशुलाई हत्या गरेर होइन, पशुलाई खुसी पारे मात्र संसार सुन्दर हुन्छ भन्ने बताउनुपर्छ । मन्दिरमा चढाएको भेटी पारदर्शी गर्नुहोस् । मन्दिरको गुठीबाट आएको आयस्ता समानका दुःखी गरिब, हेपिएका र चेपिएका मान्छेको उत्थानका लागि खर्च गर्न सुरु गर्नुहोस् । (पृ. ६८)

–    देवता छ भने र देवता मान्छेको हितमा हो भने कसरी विभाजन गर्छ देवताले उच्च र नीच जातमा ? धर्म र देवता तेर्स्याएर अब जात र लिंग विभाजन गर्ने दिन गए । (पृ. ६९)

–    देवतालाई छुत अछुतमा विभाजन गरेपछि कहाँ सङ्लिन सक्छ र मान्छेको रूपमा । (पृ. ७०)

यसरी अन्धविश्वास र अन्धधारणाप्रति प्रहार गर्दै तिनलाई हटाउन सके मात्र मानवीय चेतना सुसंस्कृत बन्ने विचार प्रकट भएको छ, यस डोल्पो ओ डोल्पो पुस्तकमा ।

मान्छेले आफूअनुकूल बनाउन चाहन्छ संस्कृतिलाई । त्यस्ता संस्कार र संस्कृति भत्काएर समाजमा उज्यालो भित्र्याउनुपर्छ । आफ्नो विचारद्वारा नै समाजमा परिवर्तन ल्याउनुपर्छ भन्ने तर्क लेखकले प्रकट गरेका छन् । आफू छ र जीवन छ । संसार रमाइलो छ । जीवन नै जीवनको गुरु हो । जीवनले नै जीवन सिकाउँछ । जीवनका दुःख कठिनाइबाटै जीवन बाँच्न सिक्नुपर्छ भन्नेजस्ता लेखकका अनेकौँ जीवनवादी र सुन्दर सोच र धारणा यहाँ व्यक्तिएका छन् ।

‘भूगोलमा साइनोको रङ’मा मितप्रथाको मनोरम चर्चा छ । मन मिल्ने र ग्रह मिल्नेसँग मितेरी साइनो लगाइन्छ । दाजुभाइले बरु धोका देलान्, तर मितले धोका दिँदैन भन्ने डोल्पावासीको विश्वास छ । मितमितिनु हुनु भनेको त सुनको धागो तयार पार्नु हो, जसले मुटु मुटुलाई सिउँछ भन्ने मान्यता छ (पृ. ८९) ।

मित–मितमा शरीर पनि साझा हुन्छ । शंका, डर, बाधा केही हुँदैन । मित लाउँदा हित हुन्छ, सम्बन्ध र व्यापार बढ्छ भन्ने सोच छ । मितेरी सम्बन्ध बढाउने उद्देश्यले लाक्पाछिरी मितेरी संस्था दर्ताको माग राख्छन् । मितेरी सम्बन्धको चर्चाले निबन्ध रोचक र मनोरम बन्न पुगेको छ । मित संस्कृति डोल्पालीको हित संस्कृति हो भन्न सकिन्छ । यहाँ मित संस्कृतिका बहानामा हुने भोजभतेर र फुर्मासीपनप्रति भने लेखकले सजग गराएका छन् ।

‘पैतालाको धुलोले पुरिएकाहरू’ नियात्रामा स्थानीय रङ स्पष्ट देखिन्छ । डोल्पेली समाज महिलाप्रधान समाज हो । त्यहाँ नरभन्दा नारीको दबदबा छ । ढवाँगेप्रथा अर्थात् घरज्वाइँ राख्ने पनि त्यहाँको चलन हो । यौनसम्पर्क पनि सामान्य र सहज मानिन्छ । अन्यत्र महिलाहरू पुरुषपीडित छन् भने त्यहाँ महिलापीडित पुरुष भएका गुनासाहरू अधिक सुनिन्छन् ।

‘होरको जैसी जोरको धामी’मा ईश्वरको कल्पनाले मान्छे दिग्भ्रमित भएको देखाइएको छ । धामीझाँक्री सब बकबास हुन् भन्ने बताइएको छ । यसरी हरनिबन्धमा नियात्राकारले एक न एक विषयलाई गम्भीरतापूर्वक विश्लेषण गरेर कृतिको गुरुत्व बढाएका छन् । धामीधमिनीको भेट र तिनीहरूको पतुर्ने चालामाला देखेबुझेपछि लेखक भन्छन्—

धामीधमिनी समाजका टाठाबाठाले ओगटेको पद्वी हो । समाजका कमजोर गरिब, दुःखी, असहाय, निर्वल मान्छेलाई दोष लगाएर उसको कमजोरीमा तरंग ल्याएर हुँदै नभएका काल्पनिक बादलहरू उडाएर खाने खेल हो । डोल्पामा अति धेरै धामीझाँक्री छन्, तर यही जिल्लामा रोगी र पीडित बढी छन् । यो किन हटाउन नसकेका त यिनले ? हामीले विश्वास होइन, प्रमाणको परीक्षण गर्नुपर्यो । प्रमाणबाट पुष्टि भएको कुरा पो विश्वास गर्ने हो । विश्वास त्यो बेलासम्म गर्ने हो, जुन बेलासम्म प्रमाण टिकिरहन्छ । (पृ. ११५) ।

‘आम्ची, आचि, सचि र माचिका कुरामा’ रोचक प्रसंग छन् । तिब्बती परम्परागत विधिबाट उपचार गर्ने व्यक्तिलाई आम्ची भनिन्छ । सचि भनेको सहायक चिकित्सकबाट गरिने उपचार विधि हो । आचि भनेको आयुर्वेदिक चिकित्सकले गर्ने उपचार विधि तथा माचि भनेको मासुचिउरा हो । सिक्काले घोचेर गरिने उपचार विधिलाई भोक्सा पनि भनिँदो रहेछ । यी सबै प्रसंगहरूलाई लेखकले रोचक ढंगले प्रस्तुत गरेर तिनमा निहित आंशिक सत्यता र विकृत दुवै पक्षलाई प्रस्तुत गरेका छन् ।

‘तिम्लाको घामछाया’मा पहाडी परिदृश्य, घामछाया र झरीबादलको विचित्र खेल, घोडचढी र उकालीओरालीका अनुभव, रक्सी सेवनको वर्णनले भरिएको पाइन्छ । तीजमा नाचेको पहाडमा तीजेनृत्यको मनोरम वर्णन छ । तीज अब कुनै जाति, धर्ममा सीमित रहेन । पहाडबाट उठेर यो हिमाल, तराई सबैतिर फैलिन पुगेको छ । डोल्पो सधैँ नाचिरहेको छ । त्यहाँका कुहिरो, बतास, बादल सबै नाचिरहेछन् । नृत्य र संगीत नै आनन्दका आधार हुन् । यसले नै मानव मनहरूलाई जोड्ने काम गर्छ । अचेल तिनमा पनि नयाँ शैली र भड्किलोपन भित्रिँदै छ । जे होस्, डोल्पोले नाचगानको गरिमा वहन गरेको छ ।

भाभन्या र डार्क वाचर्स ब्युँझेको बेलामा आकाशमा अकस्मात् देखापर्ने आकृति, वर्षा, बादल, सूर्य, किरण र हावाको विशेष गतिबाट निर्मित डार्क वाचर्सको आकृति एवम् कृषि कर्म र त्यसको उपयुक्त प्रबन्ध हुन नसकेको तथ्य वर्णित छ ।

एउटा अनपक्षित दृश्यमा सुधारका निम्ति उदार हुनुपर्छ भन्ने भावनालाई ठेस पुर्याएको कुराको चर्चा पाइन्छ । लेखकले चारपटकसम्म आफ्नो उदारताको परिचय दिएका छन् । लेखक नदीहरूसँगै हिँड्छन्, पहाडसँग लाडिन्छन् । जंगलका स्पन्दनसँग आफ्ना उमंग साटफेर गर्छन् । चरासँग कुरा गर्छन् । माछाहरू सुम्सुम्याउँछन् । जनावरसँग खेल्छन् । भर्खर ब्युँझेका गाउँका मान्छेसँग विचार लेनदेन गर्छन् । उनमा जीवनमा नयाँ बाटो खोतल्ने सामर्थ्य छ । त्यसैले यहाँ उनी कुशल नियात्राकार बनेका देखिन्छन् ।

‘सुलीगाडको गीत’मा हिमाली जिन्दगीको चित्रण पाइन्छ । हिमालमा बाँच्न मन ढुंगााजस्तो कडा, जीउ चराजस्तो हल्का उड्न सक्ने हुनुपर्छ । साथै, जिन्दगीलाई ठोस होइन तरल बनाऊ, तब मात्र गन्तव्यमा पुग्न सकिन्छ भन्ने सन्देश मिल्दछ । यसमा जीवन जिउने कलाको मनोरम चित्रण छ । प्रेमको नुनिलो सुगन्धमा गन्तव्यप्रतिको उत्साह, जोगिनु र बढ्नुमा नै जीवनको सार्थकता छ भन्ने जीवनप्रतिका दृष्टिकोणहरू । प्रकृतिसँगका सम्बन्धहरूका बारेमा चित्रण छ ।

‘रिङ्मोमा ब्युँझिएको चित्र’मा पनि गन्तव्यप्रतिकै उत्साहपूर्ण गति छ । स्वर्ग र नर्कका विषयमा आफ्नै दृष्टिकोण छन् । जीवन, प्रकृति र संस्कृतिकै हार्दिक सम्बन्ध र सन्तुलन रहेको ठाउँ नै स्वर्ग हो भन्ने ठम्याइ छ । तीन खोला मिसिएका त्रिवेणीजस्तो बनेको से फोक्सुण्डो तालका असीम सौन्दर्यको मनमोहक चित्रण छ ।

हिमकचौरामा नीलो आँखामा से फोक्सुण्डो ताललाई नै हिमकचौरा मानेको देखिन्छ । बौद्धधर्म प्रकृतिको पूजा गर्ने धर्म हो । तिब्बतबाट सुरु भएको बोनधर्ममा बौद्धधर्मको प्रभाव बढेपछि बुद्ध र वोन दुवै धर्मावलम्बी डोल्पामा छन् भन्ने बताइएको छ । पूजापाठमै जीवन बिताउनुभन्दा सिर्जनात्मक कार्यतिर लाग्नमा नै श्रेयस्कर छ भन्ने यसमा लेखकले आफ्ना दृष्टिकोणहरू प्रस्तुत गरेका छन् ।

‘साइनबोर्ड फेर्ने विद्यालय’मा सरकार गैरसरकारी संस्थाबाट सञ्चालित ‘तापिरिचा’ नामको विद्यालय छ । जुन दाता आउँछ उसैको सहयोगमा स्कुल चलेको भन्ने देखाउन साइनबोर्ड फेर्ने समेत काम हुन्छ । यस्तो ठगी पनि हुने प्रवृत्ति देखाइएको छ, यस पुस्तकमा । डोल्पामा अतिशय जाडो हुनाको कारण जुत्ता नखोली बैठकमा बस्ने प्रचलन देखिन्छ, जस्तै—

पर्दैन पर्दैन जुत्ता नखोली भित्र आउनुस् । एकै स्वरले बोलाउनुभयो तेजेन्द्र गुरुङ र उहाँकी पत्नीले । पचासौँ हजार पर्ने सफा गलैँचामाथि जतासुकै टेकेर आएको फोहोर जुत्ताले के टेक्नु ? खोल्न खोजे मैले । ‘यतातिर जुत्ता खोल्यो भने अपमान गरेको ठान्छन् नखोलौँ भन्नुभयो कृष्णले । अरू मान्छेहरू पनि जुत्ता लगाएर ढसमस्स बसिरहेथे गलैँचामाथि (पृ. २३७) ।

धन जम्मा गर्न निकै धुवाँ निकाल्नुपर्ने, कतै नबिकेपछि बाध्यताले जागिर खानुपर्नेजस्ता मान्यताका साथै हिमाली बस्ती, हिमाली जीवन र हिमाली भूगोलले जीवनका धेरै रहस्य खोल्ने तथ्य वर्णित छ ।

चिसो मौनतामा आँसुको चट्टानमा लेखकले डोल्पोलाई चिन्ने प्रयास गरिरहेका छन् । लेखकका दृष्टिमा डोल्पो पामिरको गाँठो मात्र होइन, तिब्बती संस्कृति, तिब्बती भूगोलको एउटा विशिष्ट रूप हो । यहाँ बाह्रै मास छन्, सुगन्धित जडिबुटीहरू (पृ. २४३) ।

लेखक से फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निम्ति राज्यको जे जति स्रोतसाधन खर्च भइरहेछ, त्यसको राम्रो उपलब्धि नरहेको बताउँछन् । त्यहाँको जडीबुटी सरकारी सूचनाको कार्यान्वयनबाट कार्यान्वित हुने हो भने राजस्वमा खरबौँ द्रव्यराशि बुद्धि हुन सक्थ्यो । निकुञ्जमा सेना बसेर पनि राजस्व उठ्न नसक्नु ठूलो विडम्बना हो । सुनचाँदीको डंगुुर हो डोल्पो, हीरामोतीको चाङ हो डोल्पो, हिमाल जंगल र चट्टानभित्र छोपिएको कुनिउँ हो डोल्पो (पृ. २४७) भन्दै डोल्पोको महिमा वर्णित गरेका छन् ।

‘छोए छ लाख दिए दश लाख’मा यौन प्रसंगको रसमय चर्चा छ । यौन जैविक समस्या हो, प्राकृतिक आवश्यकता हो । यौनका विषयमा चर्चा सुन्न यौनप्रेमी हरकसैलाई रमाइलो लाग्दछ । डोल्पेली समाजमा यौनसम्पर्कलाई सामान्य रूपमा लिइन्छ । नरनारी दुवैको सहमतिमा यौन गतिविधिलाई अपराधको दर्जामा राखिनु हुँदैन भन्ने लेखकको उदारतावादी दृष्टिकोण स्पष्टसँग खुलेको छ । तर दशबाह्र वर्षको उमेरभित्र हुने शारीरिक सम्बन्धमा भने गम्भीर हुनुपर्ने तर्क संकेत गर्छन् । लेखकले बाउआमाको रात्रिकालीन रमझम देखेर त्यसको दुष्प्रभाव बालबालिकामाथि पर्न गएको रहस्यको पनि उजागर गरेका छन् ।

मृत्युको गमलामा फक्रेको फूलमा कालीका साहसको कथा वर्णित छ । माओवादी लडाकु काली चलाउनेले युद्धको जे अनुभव गरिन्, त्यसैको मार्मिक अनुभव प्रस्तुत छ । पचासको दशकतिरै माओवादी जनविद्रोह सुरु भएको थियो । डोल्पामा पनि त्यो सुरु भयो । युद्धको परिणाम भयावह हुन्छ । हार्ने त हारी नै गयो, जित्नेले पनि शान्तिको श्वास फेर्न पाउँदैन । यसमा जीवनसम्बन्धी महत्त्वपूर्ण दृष्टिकोण उल्लेख छन् । यहाँ कालीले जीवन जोगाएरै सफलता हात पार्न सक्नुपर्छ भन्दै मृत्युभन्दा जीवन सौन्दर्यको बखान गरेको देखिन्छ ।

‘जुफाल जात्राको रङ’मा डोल्पाको जुफालमा हुने जात्राको जीवन्त चित्रण छ । डोल्पाको संस्कृति बुझ्न त्यहाँको जात्रा हेर्न उपयुक्त हुन्छ । जात्रामा जाँदा पहाडको दुईघण्टे उकालो चढ्दा आकस्मिक रूपले आइलाग्न सक्ने खतराको पनि संकेत गरिएको छ । डोल्पामा धामी र डाङ्ग्रेहरूको दबदबा छ । तिनका उटपटाङ व्यवहार जात्रामै देखिन्छ । जात्राका नाममा झगडा, नारीशोषण जाँडभाँडको खैलाबैला पनि त्यहीँ देखिन्छ ।

जात्रामा पोसाक, पहिरन र आभूषण धारणको पनि प्रतिस्पर्धा चल्दछ । यहाँ जात्रामा पसेपछि सबै संस्कार र सीमाहरू हराउँछन्, जंगली युगकै क्रियाकलापतर्फ मानिसहरूलाई उक्साइरहेको देखिन्छ भन्ने संकेत पनि रोचक रूपमा आएको छ ।

सुगन्धित उपत्यकामा मान्छेको गन्धमा भूतको चर्चा छ । डोल्पेली समाज भूतप्रेम र अन्धविश्वासमा चल्ने समाज हो । डर र शंकाले नै भूत जन्माउँछ । यथार्थमा भूत भन्ने कहीँ छैन, रातमा राँकाहरू देखिएको र राँकेभूत भनेको हड्डी र हावाको प्रतिक्रिया मात्र हो भन्ने लेखक तर्क दिन्छन् । बाटामा सुन्दरी नारीसँगको भेट, तीसँगको मधुर संवादले निबन्धमा रोचकता थपेको छ । तारालीमगर संस्कृतिको चर्चाले झन् त्यसमा मीठो रङ थपेको छ ।

‘गुम्बाताराको बतास’मा सहरताराको तातोपानी कुण्डमा नुहाउँदाको रोचक अनुभव, अलौकिक दृश्यहरूको वर्णन तथा हिमाली खोचमा तातोपानीका मूलहरू धेरै रहेको कुराको पनि जानकारी मिल्दछ । सांस्कृतिक सजधजले युक्त रहेको गुम्बाताराको मनोरम चित्रण भएको पाइन्छ । भेरी किनारका डोबहरू, तारालीमगरहरूको हराउँदै जान लागेको मौलिक संस्कृति, चैतीपर्वमा रामरौस गर्दा मन परेकालाई पोइ बनाएर लाने चलन, बहुपति प्रथा आदिको रोमाञ्चक चित्रण पाइन्छ ।

‘डोल्पावारि तन डोल्पापारि मन’मा कर्मचारीका गैरजिम्मेवार प्रवृत्तिको विश्लेषण छ । डोल्पोका लागि छुट्ट्याइएको बजेट सदुपयोग हुन नसकेको तथ्यमाथि प्रकाश पारिएको छ । धामीझाँक्रीकै बोलबाला रहेको ठाउँमा अड्डाअदालतको प्रयोजन नरहने तथ्य उद्घाटित छ ।

‘राता पहाडहरू’मा कुहिरोको मार्चपास, मौसमको खराबीका कारण वायुयान नचल्दा लेखक जुफालमै रोकिनुपरेको स्थितिमा उनले डाँगीवाडा हेर्ने मन बनाए । त्यहाँको प्रकृति र संस्कृतिको चित्रण गरे । दिनभरि हावाको हुन्डरी चल्ने र कुहिरो घुमिरहने हुनाले आवागमन अवरुद्ध भएको तिक्त अनुभव गरे । कुहिरोको मार्चपास हेर्दै, कुहिरोसँग जीवनका अनुभूति पोख्दै माया र कुहिरो उस्तै छन् भन्ने अनुभव व्यक्त गरेका छन् ।

खोलाहरू छाम्दै हिँडिरहेको घाममा प्रकृतिको परिस्थिति सुध्रिएपछि वायुयान चढ्ने अवसर पाउँछन् । नीलो आकाशबाट नीला पहाड, नीला छाना बोकेका गाउँहरू देख्छन् । डा. पुडासैनीको ईश्वरप्रतिका दृष्टिकोण पनि स्पष्ट छ । उनी त्यसलाई खरो रूपमा व्यक्त गर्दछन्, जस्तै— ईश्वर किन त्यति गरिब छ हामी मान्छेले पैसा चढाइदिनुपर्ने ? ईश्वर किन त्यति खान नपाउने छ, हामी मान्छेले नै नानाभाँतीका खानेकुरा खुवाउनुपर्ने ? किन त्यति निरीह र अशक्त छ हामीले नै जयजयकार गरिदिनुपर्ने ? अनि, ईश्वर किन त्यति अल्छी र केही नभएको छ मान्छेले नै मन्दिर बनाइदिनुपर्ने ? (पृ. ३४३) 

आजसम्म प्रायः नेपाली लेखकहरू परम्पराबाट मुक्त हुन सकेका देखिँदैनन् । धर्म र ईश्वर भनेपछि र धार्मिक ग्रन्थमा वर्णित कुरा भनेपछि ढुंगाको अक्षर ठानेर समर्थन लेख्ने आम लेखकको परिपाटी देखिन्छ । लेखकको काम परम्परा धान्ने मात्र होइन, सत्य उजागर गर्दै समाजलाई समृद्ध मार्गतर्फ उन्मुख गराउनु हो । समाजमा ईश्वर र कर्मकाण्डको नाममा ठूलो ठगी हुँदै आएको छ । डा. पुडासैनीले तथ्यलाई केलाउँदै प्रमाणसहित समाजलाई धार्मिक विकृतिबाट मुक्त पार्ने उद्घोष गरेका छन् । यो उनको मानववादी दृष्टिकोण पनि हो । अनेकौँ भ्रमलाई चिरेर विज्ञानसम्मत समाज स्थापनाको बाटो देखाउन सक्ने क्षमता डा. पुडासैनीको लेखनीमा यथेष्ट पाउन सकिन्छ ।

लेखकको स्वर्गप्रतिको धारणा यस्तो छ— स्वर्ग पनि अन्यत्र छैन, पृथ्वीको सौन्दर्यभित्र नै स्वर्ग छ । यदि, सम्पन्न र सुन्दर स्थानलाई स्वर्ग मान्ने हो भने डोल्पा नै स्वर्ग हो ।

महाभारतका कथामा पाँच पाण्डव जिउँदै स्वर्ग पुगे भन्ने ठाउँ नै त्यही डोल्पा हो भन्ने उनको तर्क छ । उज्यालो खोजिरहेको बेला डोल्पा भेटेर आएकोमा लेखक मीठो अनुभव गर्छन् । आखिर जीवन मीठो भ्रम नै हो भन्नेमा नियात्राको बिट मारिएको छ ।

डा. दामोदर पुडासैनीको ‘डोल्पो ओ डोल्पो’मा संगृहीत सम्पूर्ण नियात्राहरू मनै तरंगित पार्ने र मस्तिष्क नै झङ्कृत तुल्याउने प्रकृतिका छन् । केही नियात्रा सैद्धान्तिक कसी फर्याक बनाउने क्रममा पनि छन् । केहीमा नैबन्धिकताको मात्रा अधिक छ । केही समीक्षात्मक प्रतिवेदनजस्ता बनेका छन् र केही सुझाव र मन्तव्यमा आलेख त केही मनोरञ्जनात्मक टिप्पणी ।

तर, सबैले डोल्पाको भित्री रहस्य उजागर गरेका छन् । नियात्राको माध्यमबाट डोल्पाको घनीभूत परिचय गराउने यो अद्भुत कृति हो । यस्तै कृतिले साहित्य समृद्ध मात्र गराउँदैनन्, पर्यटनको विकासमा समेत टेवा पुर्याउँछन् । वर्णन मात्र कविता होइन भनिएझैँ वर्णन विवरण मात्र पनि नियात्रा होइन । यस दृष्टिले डा. पुडासैनीका नियात्रामा सतही वर्णनको एकोहोरो निखरता नभई कथ्यपुष्टि हेतु रागात्मक प्रतिपादन गर्दै परिपाकको तहमा पुर्याएर विषयलाई अनेक कोणबाट सम्पुष्ट पार्दै नियात्रालाई निकै आस्वाद्य तुल्याएका छन् ।

शब्दशब्दको संयोजन शक्ति, वर्णनको चित्रमयता, नवीन तथ्य र रहस्यहरूको पहिचान, मौलिक संस्कृतिका विशेषता, जीवनप्रतिका नवीन दृष्टिकोण, प्राकृतिक सौन्दर्यको छटा देख्नु, बुझ्नु र सिक्नु छ भने डोल्पो ओ डोल्पो पढ्नैपर्ने कृति देखिन्छ । सीपसामर्थ्य र प्रतिभाको कारण डोल्पो ओ डोल्पो लेखकको मात्र नभई नेपाली नियात्रा क्षेत्रकै मानक कृति बन्न पुगेको छ । त्यसैले यस कृतिको महत्त्व विशिष्ट छ ।

डोल्पो ओ डोल्पो गद्य धाराको कृति भए पनि कृतिगत अनेक विशेषताले समृद्ध, काव्यरसले भरिपूर्ण, लालित्यमय आलंकारिक भाषाले भरिपूर्ण भएको कारण यसलाई गद्य महाकाव्यकै संज्ञा दिन सकिन्छ, दण्डीको ‘दशकुमारचरित’जस्तै । यस्ता उत्कृष्ट कृतिका स्रष्टा डा. पुडासैनी अभिनन्दनका योग्य छन् ।

अन्तमा, डोल्पाका बाह्य र आन्तरिक अनेक रहस्यहरूको उजागर गरी डोल्पाको घनीभूत परिचय गराउने अनेक साहित्यिक तत्त्वले समृद्ध कृति हो, डोल्पो ओ डोल्पो । स्वरशैलीका दृष्टिले यसभित्रका सबै निबन्धहरू उत्तिकै दमदार, वजनदार र रसदार छन् । यो मिठास माधुर्य र सौन्दर्य, विषयको नवीनता, कोमलता र चित्रमयताले आएको देखिन्छ । विषयगत दृष्टिले जीवन, प्रकृति र प्रेमको अद्भुत समन्वय भेटिन्छ, यो पुस्तकमा । मितप्रथा, धामीप्रथा, ढ्वाँगेप्रथा, घरज्वाईं बस्नुपर्ने महिलाप्रधान समाजमा केटीका अदबमा केटो रहनुपर्ने बहुपति प्रथा, चाडबाड रामरौस गर्नुपर्ने, खुला यौन, यौनप्रतिको उदारता जस्ता अनेक विषयको चित्रणले अहा र ओहोको भाव निकाल्ने चमत्कारपूर्ण नियात्राहरूले यो कृति भरिपूर्ण छ । विशेष साहित्यिक तत्त्वले सम्पन्न यो कृति सबै पाठक वर्गका निम्ति पठनीय र संग्रहणीय रहेको छ ।

डा. दामोदर पुडासैनी ‘किशोर’को पछिल्लो कृति डोल्पो ओ डोल्पो नेपाली साहित्यको एक विशिष्ट कृति हो । प्राकृतिक रहस्यलाई नजिकबाट खोतलिएको, सांस्कृतिक सुगन्धलाई ताजा ढंगमा उमारिएको, जीवन र जगत्को मूल्यलाई गहन रूपमा समेटेको, संसार र समाजलाई अझ उज्यालो र फर्याक बनाउने लालित्यपूर्ण दर्शन पस्किएको कारण पनि पुडासैनीको डोल्पो ओ डोल्पोका हरेक वाक्यहरू सूत्रात्मक रूपमा ग्रहण गर्न योग्य छन् । ‘डोल्पो ओ डोल्पो’ डोल्पा क्षेत्रको नियात्रामा मात्र सीमित छैन, यो समयचेत, विश्वचेत र संसारलाई नवीन र सुन्दरपथमा डोर्याउन सक्ने तागत भएको कृति हो ।

यो कृतिलाई राजनीतिज्ञ, समाजसेवी, साहित्यकार, दार्शनिक, इतिहासकार, वैज्ञानिक, चिन्तक, व्यापारी, विद्यार्थी, कृषक, सर्वसाधारण सबैले अध्ययन गर्न र मनन् गर्न जरुरी छ । कथा, उपन्यास, काव्य सबै विधामिश्रित डोल्पो ओ डोल्पोका उल्लेखनीय पक्ष त अरू पनि धेरै छन् । समग्रमा यो नियात्रासंग्रह नेपाली साहित्य भण्डारमा सजिएको एक सुन्दरतम कृति हो, जो विश्वभर नेपाली साहित्यको चमत्कारी उपलब्धिलाई दह्रो प्रमाण बनेर उभिएको छ ।
(भरतपुर–१२, चितवन)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC