आजको अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन(आईटीयु) विभिन्न आरोहअवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको हो ।
यस संस्थालाई अन्तर्राष्ट्रिय दूरसञ्चार संंघको नामले समेत चिनिन्छ । आजभन्दा १ सय ५७ वर्ष पहिले सन् १८६५ मे १७ तिर फ्रान्सको पेरिसमा स्थापित अन्तर्राष्ट्रिय टेलिग्राफ युनियनको परिवर्तितरुप नै विश्व दूरसञ्चार संघ (इन्टरनेसनल टेलिकम्यूनिकेसन यूनियन) हो । त्यतिबेला सदस्य मुलुकहरुबीच टेलिग्राफ सेवा आदानप्रदानमा सहकार्य गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय टेलिग्राफ युनियनको स्थापना भएको थियो ।
सन् १९३० दशकमा आई पुग्दा अन्तर्राष्ट्रिय टेलिग्राफको जीवनमा परिवर्तन आएको पाइन्छ । सन् १९३२ मा स्पेनको मेड्रिटमा भएकोे अन्तर्राष्ट्रिय दूरसञ्चार महासन्धिद्वारा अन्तर्राष्ट्रिय टेलिग्राफ संघ र अन्तर्राष्ट्रिय रेडियोटेलिग्राफ कन्भेन्सन एकआपसमा गाभिन पुगे । उक्त समायोजनको मूल उद्देश्य रेडियो र टेलिफोन सेवालाई व्यवस्थित गर्नु थियो । सन् १९३४ मा महासन्धि कार्यान्वनयमा आए पश्चात् आजको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) अन्तर्राष्ट्रिय टेलिग्राफ संघको उत्तराधिकारी संस्था बन्न पुग्यो । सन् १९४७ नोभेम्बर १५ मा अन्तर्राष्ट्रिय दूरसंचार संघ, संयुक्त राष्ट्र संघ (युएनओ) को एक विशेष एजेन्सी बन्न पुग्यो ।
अन्तर्राष्ट्रिय दूरसंचार युनियन, हाल अस्तित्वमा रहेका सबैभन्दा पुराना अन्तर्राष्ट्रिय संस्थाहरूमध्ये एक कहलिन्छ । हाल अन्तर्राष्ट्रिय दूरसंचार संघले संयुक्त राष्ट्र संघीय आर्थिक र सामाजिक परिषद् मातहतमा कार्य गरिरहेको छ ।
अन्तर्राष्ट्रिय दूरसंचार संघले मूलतः आईटीयु–आर, आईटीयु–टी, आईटीयु–डीको क्षेत्र हेर्छ । आईटीयु–आर भन्नाले रेडियो कम्युनिकेसन बुझाउँछ । यस एजेन्सीले रेडियो स्पेक्ट्रम व्यवस्थापनसम्बन्धी कार्य गर्छ । यसले रेडियो फ्रिक्वेन्सीको प्रभावकारी, समानतापूर्ण र मितयव्यी (इफिन्सियट, इक्युटेबल र इफेक्टिव) उपयोगमा ध्यान दिन्छ । स्मरणीय छ रेडियो फ्रिक्वेन्सी बाँडफाँँट मूलत क्षेत्रीय आधारमा हुन्छ ।
आईटीयु–टीले टेलिकम्युनिकेसन टेक्निकल स्टान्डर्डलाई जनाउँछ । यस निकायले दूरसंचार उपकरण तथा सेवाको गुणस्तर निर्धारणको कार्य गर्छ । दूरसंचार उपकरण तथा सेवाको मापदण्ड निर्धारण मूलतः ट्राफिक तथा प्राविधिक अध्ययनको आधारमा हुने गर्छ । यस निकायले उक्त मापदण्ड लागु गर्नसमेत सदस्य मुलुकहरुलाई सिफारिस गर्छ ।
आईटीयु–डी भनेकोे टेलिकम्यनिकेसन डेभलपमेन्ट हो । यस निकायले विश्वभर दूरसंचार प्रविधि तथा सेवाको विकास र विस्तारको कार्य गर्छ । यस कार्यका लागि सदस्य मुलुकहरुलाई सहयोग गर्ने, समन्वय गर्ने प्राविधिक सहायता उपलब्ध गराउने गर्छ । यो निकाय नयाँ प्रविधि विकासका लागि प्राविधिक एवं वित्तीय स्रोतसाधन परिचालनका लागिसमेत जिम्मेवार हुन्छ ।
स्विटजरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको मुख्यालय रहेको छ भने महासचिव अन्तर्राष्ट्रिय दूरसञ्चार संघको सर्वोच्च प्रशासकीय अधिकारी मानिन्छन् । हाल डोरिन बग्दन मार्टिनले महासचिवको जिम्मेवारी सम्हालिरहेकी छिन् । सन् २०२३ जनवरी १ देखि उनले उक्त जिम्मेवारी प्राप्त गरेकी हुन् । उनी दुई दशकदेखि दूरसञ्चार क्षेत्रको नीति निर्माण, डिजिटल ट्रान्सफर्मेसन, रोजगार सृजना, सीप विकास र लैंगिक समता र आर्थिक सामाजिक समावेशिताको क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेकी छिन् ।
दूरसञ्चार क्षेत्रको विकास र विस्तारका लागि रेडियो र टेलिभिजनको फ्रिक्वेन्सी प्रदान गर्नु, दूरसञ्चार क्षेत्रमा खोज अनुसन्धान गर्नु, रेडियो स्पेक्ट्रमको साझा एवं विश्वव्यापी प्रयोगलाई बढावा दिनु, भूउपग्रहसम्बन्धी प्रविधि विकास गर्नु भूउपग्रहको कक्ष तोक्नु, दूरसञ्चार क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनु यसका उद्देश्य हुन् । यसैगरी दूरसञ्चार क्षेत्रको प्राविधिक मापदण्ड तय गर्नु, दूरसञ्चार सेवा प्रदायकबीच समन्वय गर्न मद्दत गर्नु र विकासशील मुलुकहरुमा दूरसञ्चार पूर्वाधार सुधार एवं विकास गर्न पहल गर्नु अन्तर्राष्ट्रिय दूरसञ्चार संघको मूलभूत उद्देश्यहरु हुन् ।
यस्तै अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले मूलतः ब्रोडब्यान्ड इन्टरनेट, ताररहित प्रविधि (ब्रोड ब्यान्ड टेक्नोलोजी), एरोनटिकल, सामूहिक नेभिगेसन, रेडियो खगोल विज्ञान, उपग्रहमा आधारित मौसम विज्ञान, टेलिभिजन प्रसारण, नेक्स्ट जेनेरेसन नेटवर्क ) क्षेत्रमा मूलभूतरुपमा कार्य गरिरहेको छ । यसबाहेक विद्युतीय अपराध (साइबर क्राइम), आकस्मिक दूरसञ्चार सेवा (इर्मजेन्सी टेलिकम्युनिकेसन), कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्सी) ठूला, मझौता तथा साना उद्यमशीलता (एसएमईएस इन्टरप्रिनियरसिप) लैंगिक समता (जेन्डर इक्युटी), युवा शिक्षा –युथ एकाडेमिया) आदि क्षेत्रहरुमा समेत यो संघ सक्रिय छ ।
दूरसञ्चार क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य तथा सहयोग प्रबद्र्धन गर्नु, रेडियो स्पेक्ट्रमको व्यवस्थापन गर्नु, स्याटलाई अर्बिटको सहकार्यपूर्ण व्यवस्थापन गर्नु कार्यहरुको दृष्टिकोणवाट अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनको कार्य क्षेत्रमा पर्छ ।
दूरसञ्चार पूर्वाधारहरुको विकास गर्नु, विश्वभर दूरसञ्चार प्राविधिक र सेवा परिचालनको मापदण्डहरू निर्धारण गर्नुु र सदस्य मुलुकलाई आफ्नै दूरसञ्चार प्रणालीहरू विकास गर्न मद्दत गर्नु र दूरसञ्चार शिक्षालाई प्रबद्र्धन गर्नु अन्तर्राष्ट्रिय दूरसञ्चार संघको मुल कार्यहरु हुन् ।
अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन सदस्य मुलुकहरुको दूरसंचार क्षेत्रको नियमन गर्ने विश्वको सबैभन्दा ठूलो नियमनकारी निकाय हो । अन्तर्राष्ट्रिय दूरसञ्चार संघले मूलतः भौतिक संरचनाको साझा प्रयोग, अन्तर्देशीय कनेक्टीभिटी, इन्टर कनेक्सन, महसुल साझेदारी, इमर्जन्सी टेलिकम्यूनिकेसन सर्भिस, टेलिकम्यूनिकेसन उपकरण मापदण्ड परिभाषित गर्ने, साइबर सेक्युरिटी, टेलिभिजन प्रसारण, स्याटलाइटमा आधारित मौसम विज्ञान, ब्रोडब्यान्ड इन्टरनेट, वायरलेस टेक्नोलोजी, अन्तरीक्ष तथा समुद्री नेभिगेसन, रेडियो स्पेक्ट्रम, स्याटलाइट अर्बिट आदि क्षेत्रमा निमनकारी भूमिका निर्वाह गर्छ ।
हाल अन्तर्राष्ट्रिय दूरसंचार युनियनका सदस्य संख्या १९३ पुगेका छन् । संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुको लागि सदस्यता खुला छ । नेपाल सन् १९५७ (विसं २०१४) मा अन्तर्राष्ट्रिय दूरसंचार युनियनको सदस्य बनेको हो । हाल, पलाउ गणतन्त्रबाहेक संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्र यसका सदस्य रहेका छन् । यस संगठनमा सामेल हुने सबैभन्दा कान्छो मुलुक दक्षिण सुडान सन् २०११ जुलाई ११ मा सदस्य बनेको थियो । सदस्य मुलुकबाहेक दूरसञ्चार क्यारियरहरू, उपकरण निर्माता कम्पनीहरू, मिडिया कम्पनीहरू, कोष निकायहरू, अनुसन्धानमूलक शैक्षिक संस्थाहरू सहित नौ सयभन्दा धेरै संघसंस्था र व्यावसायिक निकायहरु यस संघमा आबद्ध छन् । मतदान गर्नेबाहेक अन्य विषयमा यी निकायहरुकोे निर्णायक भूमिका हुन्छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियनले सदस्य मुलुकहरुलाई पाँच प्रशासनिक क्षेत्रमा विभाजन गरी संगठनको प्रशासनलाई सुव्यवस्थित गरेको छ । क्षेत्र “ए” अमेरिका अन्र्तगत ३५ सदस्य राष्ट्रहरू, क्षेत्र “बी” अन्तर्गत पश्चिमी युरोपका ३३ सदस्य राष्ट्रहरू, क्षेत्र “सी”मा पूर्वी यूरोप र उत्तरी एसियाका २१ सदस्य राष्ट्रहरु क्षेत्र “डी” अन्तर्गत अफ्रिकाका ५४ सदस्य राष्ट्रहरू र क्षेत्र “इ” मा एसिया र अस्ट्रेलियाका ५० राष्ट्रहरू रहेका छन् । प्रशासनिक सहजताका लागि अन्तर्राष्ट्रिय दूरसंचार युनियनले अफ्रिका, अमेरिका, अरब क्षेत्र, एसिया तथा प्रशान्त क्षेत्र, कमनवेल्थ अफ इन्डिेपेन्डेन्स स्टेट र युरोप गरी ६ स्थानमा क्षेत्रीय कार्यालयहरु खडा गरेको छ । अन्तर्राष्ट्रिय दूरसंचार युनियनले इन्टरनेट, मोबाइल नेटवर्क विस्तार, ग्रामीण तथा सहरी नेटवर्क विस्तार, अन्तर्राष्ट्रिय ब्यान्डविथ, मोबाइल तथा फिक्स्ड टेलिफोन आदि विषयहरुमा अद्यावधिक तथ्यांकहरु प्रकाशन गर्दै आएको छ ।
स्मरणीय छ, दूरसंचार नियमावली २०५४ मा आईटीयुले निर्धारण गरिदिएअनुरुप गुणस्तरमा दूरसंचार सेवा संचालन गर्नुपर्ने प्रावधान छ ।