site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
कांग्रेसमा सुनिएला उपनिर्वाचनको ध्वनि 

उपनिर्वाचनको परिणाम आएको छ र भनिन्छ – ठूला दलहरुलाई झस्काएको छ । कति झस्किए र कति सच्चिए यो त पछि थाहा पाइने कुरा भयो । परिणामले सरकारी सत्तामा आसीनहरुलाई तत्कालै फरक पर्नेछैन । प्रतिपक्षको स्थान असुरक्षित भइहालेको पनि होइन । गठजोडमै फेरबदल आए कुरा अर्कै हुने नै भयो । पहिलेजस्तै । 

तीन निर्वाचन क्षेत्रमा चुनाव भयो । परिणाम पनि आयो । बारा २, चितवन २ र तनहुँ १ मा विविध कारण उपचुनाव भएको हो । बाराबाहेक दुई क्षेत्रमा सरकारी सत्ता पराजित भयो । गठजोड पराजित भयो । पराजितमात्रै होइन चुनावी गठबन्धप्रति नै प्रश्न तेर्सिएको छ । 

थियो उपचुनाव तर राष्ट्रको ध्यान नै यो चुनावले खिचेको थियो । यी क्षेत्रको चुनावी नतिजाको आकलन र चासो राष्ट्रिय चुनावमा भन्दा एकत्रित थियो । देशैभर हुने चुनावमा आआफ्नो क्षेत्रमै बढी चासो बाँडिन्थ्यो । जनमन आफ्नै क्षेत्रमा केन्द्रित हुनजान्थ्यो । 

KFC Island Ad
NIC Asia

उपचुनाव भने तीन क्षेत्रमा मात्र भएकाले चासो राख्नेहरुको ध्यान त्यतै सोहोरिने नै भयो । यस कारण  उपनिर्वाचन स्थापित वा ठूला र पुराना दलको लोकप्रियता एवं विश्वसनीयता मापनको अवसर जस्तै बन्यो । परिणामपछि ‘ठूला दल सकिने कि सच्चिने ? ’ टिप्पणी यही कारण बन्यो ।

बारामा गठबन्धको साझा उमेदवार भनिएका उपेन्द्र यादवले जिते । बाँकी दुई क्षेत्रमा गठबन्धनका उमेदवार पराजित भए । चितवनको परिणाम त लज्जास्पद नै रह्यो । दलका उमेदवारै नराम्रा वा अयोग्य भएर यो परिणाम आएको पक्कै होइन । उमेदवार ठीकठाकै हुँदा पनि किन पराजय मात्रै आयो ? 

Royal Enfield Island Ad

दलले हारे कि ? गठबन्धन सरकारले हार्यो ? वा उमेदवार व्यक्तिले हारेका हुन् कि ? चुनावी गठबन्धको औचित्य अस्वीकृत भएको हो ? यस्ता प्रश्न अनुत्तरित नै रहनेछन् । किनभने गम्भीर समीक्षा र जिम्मेबारी बोध गर्ने संस्कार नेपाली राजनीतिमा छैन । थियो कुनै जमानामा भने पनि त्यो अहिले खुइली सकेको छ । 

परिणामप्रति सबैलाई दोष दिएर । सबैलाई जिम्मेबार बताएर खास जिम्मेबारहरु पन्छिने र जोगिने सत्तालिप्त प्रवृत्ति व्याप्त छ । कमजोरीको भागिदार बनाउन घाँस र पराल एकै ठाउँमा छ्यासमिस गर्ने जस्तै चलन चल्तीमा छ । त्यसैले सत्ताको भागिदारी कसैको काँधको पेवा भए पनि पराजयको भागहिस्सा सबैको थाप्लोमा पर्ने नै छ । 

तनहुँमा एक साता बढी चुनावी माहोलमा घुलमिल हुँदा जे सुनियो र देखियो, चितवन र बारामा पनि दुरुस्तै त्यस्तै थियो भन्ने दाबा गर्न सकिँदैन । तर, चितवन र तनहुँमा त्यस्तै त्यस्तै टिप्पणीबीच पनि थप भिन्नतासमेत सुनिन्थ्यो । चितवनमा रविलाई काम गर्न दिइएन भन्ने आरोप चर्को थियो । 

तनहुँको परिणाम दलका स्थानीय नेता, कार्यकर्ता, खासगरी कांग्रेसका नेता, कार्यकर्ताको अपेक्षाभन्दा फरक आयो ।

उनीहरु यस क्षेत्रमा कांग्रेसको संगठन र जनाधारप्रति विश्वस्त सुनिन्थे । त्यसमाथि गठबन्धन दलहरुको सहयोग उनीहरुको लागि अर्को भरोसा थियो । 

त्यस्तै गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईको सादगी, इमान र राजनीतिक निरन्तरता उनीहरु विजयको लागि पुँजी मान्थे । भट्टराईले गरेको विकास प्रयासको उदाहरण पनि दिन्थे । दर्जनौँ खानेपानी योजना सफल बनाएका उनी ‘पानी मान्छे’ उपमाले पनि चिनिन्थे ।     

भट्टराईप्रति कसैको पनि नकारात्मक टिप्पणी सुनिएन । चुनावी मत जता दिए पनि प्रतिपक्षका साथीहरुले समेत असल मानिस नै भनेको पाइयो । तर, पराजय तिनै असल मानिसको भयो । किन ? उनको छवि त असल थियो नि । 

परिणामपछि फेसबुकको एक टिप्पणी (स्टाटस) ले पराजयको गहिरो कारण खोल्यो – ‘दलका नेताले गरेको विकृतिको अचानोमा गोविन्द भट्टराई परे ।’ मूलतः भएको यही हो । प्रत्यक्ष, अप्रत्यक्ष कारण अरु पनि छन् र होलान् । दलभित्रकै व्यवस्थापन र कार्यकर्ताको सक्रियता कस्तो रह्यो वा उमेदवारको रणनीतिक चातुर्य कस्तो भयो ? बुझ्न सकिएन । 

बढी भुइँ तहको मतदातासँग घुलमिल हुने अवसर नै  तिनको मनोभाव थाहा पाउने माध्यम बन्यो । यस्तो अवसरले आशंका त जन्माएकै थियो । तर, कांग्रेस कार्यकर्ता भन्थे – हाम्रो जित सुनिश्चित छ । थप्थे– ‘यो राष्ट्रपतिको ठाउँ हो ।’ चुनावी प्रचारको नारा पनि थियो यो । 

गोविन्द भट्टराईको पराजय र स्वर्णिम वाग्लेको जितमा सबैभन्दा बढी प्रभावी कारक यहाँको कम्युनिस्ट मत रह्यो ।

खासगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को मत वाग्लेतिर खनियो । गठबन्धनका कम्युनिस्टको मत पनि भट्टराईले खासै पाएनन् । कांग्रेसको मतमा पनि केही स्खलन देखियो । यति हुँदाहुँदै पनि भट्टराईले पाएको २० हजारभन्दा बढी मत कांग्रेसको जोगिएको आधार मत हो ।   

एमालेका साथीले प्रस्टै भने – ‘हाम्रो उमेदवारले जित्ने होइन । यसकारण हाम्रो प्रयास कांग्रेसलाई हराउने हो ।’ आफ्नो दलको उमेदवारप्रति उनीहरुको कटु गुनासो पनि रहेछ । परिणाम गत चुनावमा एमालेले ल्याएको मतको आधा पनि यसपटक जोगाउन सकेन । पहिले १९ हजारभन्दा बढी मत ल्याएको एमाले यस पटक  आठ हजार वरिपरि खुम्चियो । 

त्यस्तै गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)को पनि मत छरियो । गत निर्वाचनमा २५ हजार मत कांग्रेसले पाएको हो । त्यतिबेला पनि गठबन्धन थियो । अरु क्षेत्रमा रहेका माओवादी केन्द्रका आफ्ना उमेदवारलाई जिताउन पनि उनीहरुको प्रतिबद्धता गठबन्धनप्रति त्यतिबेला अलि खँदिलो थियो । यसपटक उनीहरुको उमेदवार कतै थिएन । यस कारण माओवादी मत निस्पृहजस्तै रह्यो वा बाँडियो  ।

सबैभन्दा धेरै त गरिआएका दलहरुप्रति चर्को गुनासो थियो । आलोचना र आरोपको स्तर कठोर सुनिन्थ्यो । नकारात्मक प्रचार यति चर्को पाइयो कि सही कुरा पनि सुन्ने धैर्य ती आलोचकमा छँदैथिएन । 

लाग्छ, देशैभरिको वर्तमान परिवेश यस्तै छ । दल र तिनका उच्च ओहोदाधारी नेताप्रति अत्यन्त नकारात्मक धारणा बनेको छ । दलहरुप्रतिको भत्कँदो विश्वासले विकल्पहरुको खोजीमा जनता भौंतारिए जस्ता छन् । कांग्रेस मात्रै होइन, कम्युनिस्टहरुको हबिगत यसपटक झन् बदतर देखिएको छ । 

अरुको कुरा पछि । प्रजातान्त्रिक भनिने नेपाली कांग्रेस कडा चुनौतीका सामु छ । आफै गलित र थलित जस्तो कांग्रेस उठ्न अब नयाँ विद्रोह आवश्यक देखियो । विद्रोह अर्थात् परिवर्तन ।

परिवर्तन पनि जबर्जस्त परिणामदायी भए काम लाग्ला । अन्यथा जनताले विद्रोहको बिगुल फुके । उपनिर्वाचनको ध्वनि यही हो । कांग्रेसका हर्ताकर्ताले सुन्लान् त यस्तो ध्वनि संकेत ? 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro