
काठमाडौं । लोकतन्त्र दिवसको अवसर पारेर भूगोल साहित्य समाजले विशेष कार्यक्रम आयोजन गरेको छ । साहित्यिक सिर्जनामाथि प्रवचन र कविता गोष्ठी सम्पन्न गरिएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रामप्रसाद पन्तले लामो व्यस्ततापछि स्वतन्त्र र फुर्सदिलो भएका कर्मचारीले साहित्य सिर्जनामा समय खर्चिनु उपयुक्त हुने बताए । उनले सिर्जनाका माध्यमबाट आफ्ना अनुभव, भोगाइ, घटनाको स्मरण र अनुभूति समाजलाई दिन सकिने धारणा राखे ।
पन्तले सिर्जनाले व्यक्तिलाई अमर बनाउने भन्दै फुर्सदको समयलाई सिर्जनकर्ममा लगाउनु उचित हुनेमा जोड दिए ।
साहित्यकार हिरण्यकुमारी पाठकले आफ्नो समयको शैक्षिक एवम् सामाजिक परिवेश, जागिरे जीवन र साहित्य सिर्जनामा संलग्न भएपछिका अनुभूति सुनाइन् । उनले पठन एवम् साहित्य सिर्जनाले निराशा र एक्लोपनाबाट मुक्त गराउने बताइन् ।
कार्यक्रममा विनोद नेपाल, उद्धव खनाल, शैलेन्द्रकुमार शाहले पनि बोलेका थिए ।
सोही अवसरमा आयोजित कविता गोष्ठीमा बद्धिराज पाण्डे, मुकुन्द अर्याल, एलपी पराजुली, हरिश्चन्द्र गौतम, महेश रिजाल, शैलेन्द्रकुमार शाहलगायत कविले आफ्ना रचनावाचन गरेका थिए ।