एजेन्सी । सानो युरोपियन राष्ट्र आइसल्याण्ड आगामी बर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । छनोट अन्तर्गत युरोपियन क्षेत्रको समूह आईमा रहेको आइसल्याण्डले सोमबार राती समूह चरणको अन्तिम खेलमा कोसोभोलाई २–० ले पराजित गर्दै विश्वकप स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा आइसल्याण्डलाई जित दिलाउन गिल्फी सिगडसन र योहान गुडमन्डसनले समान एक एक गोल गरे । आयरल्याण्डको जितमा सिगडसनले खेलको ४० औं र गुडमन्डसनले ६८ औं मिनेटमा गोल गरेका थिए । यो जितपछि आइसल्याण्डले १० खेलबाट ७ मा जितसहित २२ अंक जोडन सफल भयो ।
तीन लाख ३५ हजार मात्रै जनसंख्या रहेको आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यस्तै आइसल्याण्ड विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्र समेत हो । गत बर्षको युरोकपमा समेत आइसल्याण्डले तहल्का मच्चाएको थियो । पहिलोपटक युरोकप खेलेको आइसल्याण्डले क्वाटरफाइनलसम्म पुग्दै इंग्ल्याण्ड जस्ता ठुला राष्ट्रलाई पराजित गरेको थियो ।
छनोटको समूह आई बाट क्रोएसियाले प्ले अफमा स्थान बनाएको छ । सोमबार राति नै भएको खेलमा क्रोएसियाले युक्रेनलाई २–० ले पराजित गरेको थियो । क्रोएसियाले १० खेलबाट २० अंक जोड्न सफल भयो ।