
काठमाडौं । नेपाल स्रष्टा समाजले यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ ।
नेपाली साहित्यमा क्रियाशिल रहेपनि ओझेलमा परेकी नारी स्रष्टालाई प्रदान गरिने यो सम्मान १५ हजार १११ रुपैयाँसहित प्रदान गरिँदै अइएको छ ।
नेपाली शिक्षा परिषद्की अध्यक्ष तथा साहित्य साधक रमा शर्माले यमुना अधिकारीलाई सम्मान समर्पण गरिन् । साहित्य सिर्जनामा समर्पित यमुनाका बालसाहित्यका सात र गजलसंग्रह प्रकाशित छ ।
गीतकार कवि पुष्पा खनालले आफ्नी आमाको नाममा स्थापना गरेको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानबाट हालसम्म सिर्जना शर्मा, डिक्रा वादी, इन्द्रा गहतराज, प्रतिमा पोखरेल र निर्मला मुरारी सम्मानित भइसकेका छन् ।
सोहीअवसरमा गीतकार पुष्पा खनालका दुई गीतको लोकार्पण गरिएको थियो । गायक, संगीतकार तथा सञ्चारकर्मी सरोज कोइरालाले गीत गाएर उक्त गीत सार्वजनिक गरे । कार्यक्रममा गायक तथा संगीतकार नरेन्द्र प्यासीले गाएको गीत पनि बजाइएको थियो ।
कार्यक्रममा रमा शर्मा, श्रीओम श्रेष्ठ ‘रोदन’, ममता मृदुल, प्रकाश घायल र मधु पाठकले बोलेका थिए ।